भनिन्छ, ‘जीवन कि त साहसिक जोखिमयुक्त यात्रा हो कि केही पनि होइन’। गोथेले त्यसै भनेका होइनन्— हिँडाइ वा यात्रा सबैभन्दा उत्तम गति वा स्पन्दन हो जसले सत्य जीवनको अन्वेषण गर्न चाहन्छ।
यस्तै यात्राका पारखीहरूको लागि प्रशस्त गन्तव्य अनि अनुकूल मौसम हो यो शरद ऋतु। बृहत् नेपालीहरूको सांस्कृतिक पर्वहरू अनि स्कुल कलेजको लामो बिदाका दिनहरू। पछिल्ला वर्षहरूमा फस्टाउँदै गरेको नेपालभित्रकै आन्तरिक घुमघामको बेजोड मौसम हो यो। यी पंक्तिकार त्यस्तै मौसम र लामो बिदाको व्यग्र पर्खाइमा हरेक वर्ष उत्सुकताका साथ केही थान पुस्तकहरू सङ्कलन गर्छ अनि यात्राको योजना बनाउँछ। छ वर्ष पहिले जब मैले संसारको उच्च स्थानमा रहेको तिलिचो ताल स्पर्श गर्ने अवसर पाएँ तबबाट लाग्यो कि— तिम्रो आरामदायी जीवन दायराबाट पर जान सके मात्र खास स्वतन्त्रता अनुभूत गर्नैछौ।
त्यस्तै, स्वतन्त्रताको प्यासमा यसपालिको बिदा अगावै मेरो मनमा हुटहुटी थियो कि जसरी पनि आफ्नै जिल्लामा रहेको लोक चर्चित रुबीभ्याली जाउँ। केही दिन भए पनि स्वतन्त्र हुन सकूँ। धेरैले सुनेको चर्चा गरेको तर कमैले यात्रा गरेको रुबीभ्याली सेरोफेरोको लागि गन्तव्य तय भयो। जिल्लाको सदरमुकाम धादिङबेंसीबाट यात्रा प्रारम्भ भयो। वर्षाले छियाछिया पारेको बाटोको गति सदरमुकाम छाडेदेखि नै थाहा भयो कि चाडबाडको कारणले जबर्जस्ती चलेका रहेछन् सवारी साधनहरू। वर्षौं अघि बनेका बाटोको अवस्था हेर्दा छर्लंग हुन्थ्यो कि हाम्रो राज्य संयन्त्रमा विकासको अवस्था।
सदरमुकामबाट जिल्लाको उपल्लो क्षेत्र तिप्लिङको ठूलो गाउँसम्मको नौ घण्टाको यात्रामा नौ मिनेट सरर गाडी चलेको अनुभव गर्न पाइँदैन। क्षण–क्षणमै फोर ह्विल, घुम्तीपिच्छे ब्याक नगरी ती गंगटो सरी गुड्ने बोलेरो गाडीहरूले सयौं गल्छेडा र भिरहरू पार गर्न सक्दैनन्। त्यति मात्र कहाँ हो र त्यो ज्यानमारा बाटोमा निकै असहज लाग्ने यात्रालाई तिप्लिङमा जन्मे हुर्केका ग्यापा लामा जस्ता साहसी चालकहरूले मात्रै हिम्मत उठाउन सक्छन्। उनकै साहसको कारणले सानो गाडीमा कोचिएर जोखिमको यात्रा गर्दा पनि अझै सँगै चलिरहूँ, अगाडि बढिरहूँ जस्तो लाग्छ।
निकै जोखिमयुक्त यात्राको बाबजुद पहिलो दिनको गन्तव्य तिप्लिङ अर्थात् रुबीभ्यालीमा अवस्थित निकै मनमोहक ठूलो गाउँ बन्यो। लहरै बनेका घरहरू, एकै नासका राता टिनका छानाहरू, हरेक घरका आँगन जोड्ने चिल्ला गल्लीहरू वरपर पाटाहरूमा लहलह झुलेका बरेला र सिमीका लहराहरू। एक तमास फक्रिएका कोदाका बालाहरू। हाम्रा लागि केही क्षणको आनन्ददायी दृष्यहरू थिए।
पास्टर कुम बहादुर दाइृको घरको सत्कार अनि पूर्ण अर्गानिक खानाले हामीलाई मोहित बनायो। खानाको स्वादले मुखै फेरेको अनुभूति भयो।
दोस्रो दिनदेखिको हाम्रो यात्रा पैदल थियो। गन्तव्य कालो दह, सेतो दह र गणेश हिमाल आधार शिविर। व्यक्तिगत आवश्यक सामग्री र केही इनर्जी फूड बाहेक हरेक अत्यावश्यक खाद्य सामग्री स्थानीय उत्पादन नै व्यवस्था गरिएको थियो। बिहानको सुनौलो न्यानो घामको तापसँगै रुबीभ्याली ठूलो गाउँबाट पैदल यात्रा सुरू गरियो। ट्र्याक खुलेको तर गाडी चल्न नसकेको बाटो हुँदै पुरू गाउँ पार गरी जिल्लाको उत्तर पट्टिको सबैभन्दा उपल्लो गाउँ लिन्जोको एक होमस्टेमा पूृर्ण अर्गानिक भोजन गरी अघि बढियो।
कन्फ्युसियसले भनेझैं— बाटो नै लक्ष्य हो भनेर हामी बाटो नछोडी जंगल, खोंच, पहरा, झरना, छिचोल्दै झम्के साँझमा सिन्दूर चोको भेडी गोठमा पुगियो। पैँतिसौँ वर्षदेखि अनकन्टार पहराको बीचमा एक्लै भेडी गोठ धानेर बसेका काले तामाङको अविवाहित जीवन कहानी हाम्रा लागि कुनै चर्चित फिल्मको पटकथा जस्तै लाग्यो। दिनभरिको थकान र हड्डी चिस्याउने जाडो बिर्साउने उनीसँगको अर्गानिक गफले हिमाली भेगका मानिस कति निश्छल हुन्छन् भन्ने बुझिन्थ्यो।
तेस्रो दिनको हाम्रो यात्रा चौंरीका पाइला पछ्याउँदै सुरू हुन्छ। केहीबेरको उकालोपछि एउटा टहरा भेटिन्छ, जुन दर्जनौं चौंरी रुँग्ने योरानी घलेको बासस्थान रहेछ। बिहानीको पहिलो घामको झुल्कोसँगै चौध वटा चौंरी एक्लै दोहोर गाग्रीभरि टिलपिल टिलपिल पार्दै ल्याउँछिन् योरानी घले।
यति धेरै दुध छुर्पी पार्ने उद्देश्यका साथ सङ्कलन गरिँदो रहेछ। अर्धबैंशे उमेर, खँदिलो जिउडाल, उन्माद हाँसोले धपक्क बलेको चेहरा अनि मृदुल वाणी सुन्दा लाग्छ— मान्छे मान्छेको उकुसमुकुस समाजबाट टाढा रहेर चौँरीसँग साइनो जोडेकी चौँरी जस्तै निष्कलङ्क जीवन बाँचेकी रहिछन् योरानी। आहा! उनको जीवन न कसैको प्रभाव, न घृणा, न अपहेलना, न जित न हारको तनाब। न त कुनै कुनियतको शिकार। जीवन जे छ तिनै स्वतन्त्र चौँरीहरूसँग छ। जो दिनभर खर्कभरि आकाशका तारासरि छरिएर चर्दछन् र साँझ परेपछि उनै सारथी योरानीको झुपडीमा फर्कन्छन्। सानो झुपडी वरिपरि योरानीको मायालु लवजमा लट्ठिएर रातभरिको जाडो भुल्छन्। अनकन्टार पहरामा एक्लै जीवन साटेर सहरमा बच्चा पढाइरहेकी योरानी हामीलाई चौंरीको तातो दुध, ताजा छुर्पी र दही दिँदा निकै खुसी भइन्। अहो कस्तो उदारता! लाग्थ्यो दिनभर योरानी कै निश्छलता र चौँरीका बगालभित्र रमाउँ। के गर्नु। गन्तव्य निकै टाढा थियो। लागियो बबिल खर्कको उकालो।
त्यस दिनको लक्ष्य थियो झरना चो। यही मौसममा चौँरी र भेंडा पाखाभरि छाडेर रातमा सुस्ताउने ठाउँ। लमतन्न पहाडको अलिक माथिको सानो ढिस्को। त्यही हाम्रो त्यस रातको बासस्थान बन्यो। मुन्टोलाई झण्डै तीस डिग्री झुकाउँदा पनि छर्लङ्ग देख्न नसकिने तलतिरको भिर। त्यसैगरी पछाडि लाँदा पनि मुस्किलले देखिने सोही डाँडाको हिउँले आधाआधी ढाकेको टुप्पो। मुटु नै छेड्ला जस्तो चिसो अनि जुरूक्कै उडाउँला जस्तो तुफान हाम्रा लागि आफ्नै टोपी जस्तो लाग्ने नजिकैको हिउँले मुस्काउँदा फिक्का बनेको थियो। सानो टेन्टभित्र कोच्चिएर चार चार जना सुत्दा पनि फराकिलो आफ्नै बिस्तारा जस्तो लाग्ने टेन्टबाट बाहिर निस्कनु पर्दा चाहिँ निकै होस पुर्याउनुपर्ने। ढिस्कोमा बल्लतल्ल फिक्स गरेको टेन्टको निस्कने ढोकापट्टि छङ्गाछुर भिर। रातको डर। हिउँ, जाडो, वन्यजन्तुभन्दा पनि लडिने हो कि भन्ने पीर थियो।
चौथो दिन बिहानैदेखि हामी झनै उत्सुक थियौं। त्यो दिन हाम्रो यात्राले गन्तव्य भेट्ने दिन। कालो दह, सेतो दह अनि गणेश हिमाल आधार शिविर। यात्राको सुरूआत निकै ठाडो भिरबाट भएता पनि हाम्रो उत्साहले निकै जोस बढाइरहेको थियो। बाटोको कुनै निशाना थिएन। थियो त केवल त्यो अजङ्गको पहाडको टुप्पो भेट्नु। सुरूमा भिरालो झारै झारले टमक्क परेको उकालो बाटो आफै बनाउँदै गफैगफमा अगाडि बढियो। अलिकमाथि पुगेपछि पहाडै पूरै ढाक्ने ढुङ्गैढुङ्गाको सागर जस्तो बाटो हो कि ढुङ्गाको चाङ छुट्ट्याउनै गाह्रो। स्थानीय गाइडहरू मार्कुस र प्रवेशले जता इसारा गर्यो उतैको ढुङ्गा चढ्दै उकालो लाग्दा लाग्थ्यो हामी हिमाली भेग भन्दा पनि कुनै ढुङ्गा खानीमा छौं। घण्टौंको उकालोमा ढुङ्गाहरू चढ्दै जति अघि बढ्यो उति नै त्यो पहाडको टुप्पो माथि लाग्थ्यो।
बायाँपट्टि हेर्दा हिउँले ढाकेको ठाउँ, आफूभन्दा तल दायाँपट्टिको टुप्पो आफ्नो गन्तव्य। जब ढुङ्गाको बगर सकियो तब हाम्रो हिँड्ने जोश पनि सुस्तायो। उकालो हेर्दा लाग्थ्यो झण्डै नब्बे डिग्रीकै हाराहारीको भिर। टेक्ने ठाउँको ठेगान थिएन। हामीसँग भएको १०/१२ किलोको झोला नै हामीलाई घाँडो भयो। धन्न गाइड भाइ मार्कुसले सबैको झोला बोकिदिए। हामीलाई अगाडि लगाएर तलतिरबाट आड दिए। त्यो १० मिनेटको ज्यानमारा यात्रामा दशैचोटि सोचियो कि अब सकियो जीवनकै यात्रा। तर भाग्य हाम्रो त्यति कमजोर थिएन। गारोङ भञ्ज्याङ पुगियो, ४,६३८ मिटरको उचाइमा पुग्दा लाग्यो त्यो भञ्ज्याङ होइन सगरमाथा नै हो हाम्रा लागि। टुप्पोमा पुगेर लिएको स्वास नै हाम्रो यात्राभरिको लामो र खुसीको स्वास हुनुपर्छ। एकअर्कालाई नियाल्दै मुस्कुराएको त्यो मुस्कानको कुनै मूल्य नै थिएन। संसार जितेको अनुभव मलाई मात्रै होइन मेरा सहयात्रीहरूलाई पनि पक्कै भएकै हुनुपर्छ। उनीहरूको मुहारले प्रस्ट झल्क्याइ रहेको थियो।
गारोङ भञ्ज्याङको चुचुरोबाट तल झर्न थालेपछि हाम्रो यात्रा अलि हलुका लागेको थियो। एक्कासी फुरूरू हिउँ झर्न थाल्यो। सुरूमा त निकै हौसिएका थियौं कि हिउँ पनि अनुभव गर्न पाइयो। जतिजति तल झर्यो उति हिउँ बाक्लियो। हामी सबै साथीहरू साना मृगका पाठाझैं यताउति दगुर्न थाल्यौं। अतुलनीय आनन्दले मोहित भएका थियौं। पालैपालो फोटो र भिडिओ खिच्ने क्रम केहीबेर चलिरह्यो।
यस्तै, रमाउँदै कयौं गल्छेडाहरू पार गर्दै सेतो दहको आँगनीमा पुगेको पत्तै भएन। पाउमा लमतन्न ताल। शिरमा गणेश हिमाल। हिउँ परेपछि खुलेको आकाश अनि एउटा गन्तव्य माथिको पाइला। वा! त्यो खुसी वर्णन गर्ने शब्द सायदै होला। अनुभूत गर्यौं। सायद त्यही नै होला स्वर्गीय आनन्द भनेको। दृश्यावलोकनभन्दा पनि फोटोमा दृश्यहरू कैद गर्न भ्याइनभ्याई भयौं। अर्को बिहानीको झुल्के घामको उज्यालोमा हिमाल हेर्ने धोकोमा चिसो रात न्यानो महसुस गरी काटियो।
नभन्दै बिहान पाँच नबज्दै टल्किन थाले ती मनै लोभ्याउने चम्किला हिमालहरू। हामी नतमस्तक भयौं। गोथेले भनेजस्तै— हिमालहरू कम बोल्ने शिक्षक हुन् तिनीहरूले विद्यार्थीहरूलाई पनि चुप लाग्ने बनाउँछन्। हामी नतमस्तक भएर बारम्बार आँखा र क्यामराले भ्याएसम्म आ–आफ्नै तरिकाले कैद गर्न व्यस्त रह्यौं। त्यसपछि गाइड मार्कुसको इशारामा प्रमुख गन्तव्य कालो दहको यात्रामा लाग्यौं। सेतो दहबाट दश मिनेटमै पुगिने कालो दह साँच्चैको आकर्षक थियो। मिनेटमै दर्जनौं रङ्ग फेर्ने दहले हामीलाई मोहित मात्र होइन आश्चर्य चकित पार्यो। कहिले नजिक गएर स्पर्श गर्ने त कहिले दहको परिवर्तित रङहरू हेर्दै मोहित भयौं।
धित् मरून्जेल हेरेर, स्पर्श गरेर अनि क्यामरामा फोटो, भिडिओ कैद गरेर दहकै छेउबाट फर्किने बाटो तय भयो। अझै मनले तालमा नै रमूँ भन्थ्यो तर यात्राले विश्राम लिने ठाउँ त्यही मात्र थिएन। पार गर्नुपर्ने ठाडो भिर थियो। भिरले पीर दियो। तल ताल नियाल्दै माथिमाथि डाँडामा चढ्दै गन्तव्य चुमेको खुसीयालीमा हाम्रो हिँडाइ अलिक लम्किएको थियो। तर के गर्नु? पार गर्नु थियो टुप्पोको ढोका जुन हामीलाई सम्भव छ भन्ने लागेकै थिएन। गाइड भाइहरूले हामीलाई ढाडस दिँदै भने, 'सर गारोङ भञ्ज्याङ त काट्नुभयो अब त के छ र? सजिलै सक्नुहुनछ'। हाम्रो मन आत्तिएको थियो। भाइहरूले हाम्रो झोला बोकिदिए। रित्तो शरीर घिसार्दैघिसार्दै त्यो टुप्पोको ढोका पार गरियो। आहा! लाग्यो अर्को नयाँ जीवन प्राप्त भयो।
यस्ता कयौं अविस्मरणीय क्षणहरू अप्ठ्यारोमा आफूलाई आफैले गाली गरेर, सफलतामा प्रशंसा गरेर पार गरेको ती भञ्ज्याङहरू नै आज यादगार बनेका छन्। आज लाग्छ यदि त्यस्ता खतरनाक क्षणहरू नगुजारेको भए किन यसरी जीवन्त स्मरण गरिन्थ्यो होला र? त्यो यात्राको। यस्ता क्षणहरूले नै हामीलाई सोच्न बाध्य बनायो कि 'इटस् नट द माउन्टेन वी कङ्कोर बट आओरसेल्फ' भने जस्तै हामीले पहाड होइन कि हामीलाई नै जितेका हौं।
यदि हामी पैदल यात्रामा जान्छौं भने राम्रो बुटसँगै हाम्रो आत्मा पनि स्पेशल हुनुपर्छ किनकि हरेक यात्रा सहजताका साथ हुन्छ भन्ने छैन। सबै यात्राले सुखानुभूति हुन्छ भन्ने पनि छैन। यद्यपि म ठोकुवा गरेर भन्न सक्छु कि रुबीभ्याली सेरोफेरो, गणेश हिमाल आसपास, कालो दह, सेतो दहको यात्रा जो सुकैको जीवनमा सहजताका साथ नहोला तर जसले यात्रा गर्ने मौका पाउला उसले त्यसको बयान गरेर जीवनभर थाक्ने छैन। बाटाहरू अप्ठ्यारा छन्। सत्य हो। त्यसमा बाबजुद यात्राबाट प्राप्त हुने जादुमयी आनन्दले भन्दछ कि— जहाँ आफ्नो मुटुले आफूलाई माया गर्दछ, त्यहाँ पाइला जसरी पनि अगाडि बढ्दछ। त्यसैले यात्रा निरन्तर गरौं जहाँ अनगिन्ती दृष्यहरू हामीलाई भेट्ने व्यग्र प्रतीक्षामा बसिरहेका छन्। त्यो रुबीभ्याली वा अरू कुनै गन्तव्य हुनसक्दछ। तपाईं जानुभएको छैन भने नछुटाउनुस् रुबीभ्याली।
अन्त्यमा यात्राका सारथीहरू (दिपेन्द्र, चेत नारायण, सुमन, आइता, रोशन, मार्कुस, प्रवेश) सबैलाई थप सहयात्राको आशासँगै नमन।