चारैतिर अग्ला पहाडले घेरिएको, पहाडको फेदी र भिरालो ठाउँमा बसाइएको मनै लोभ्याउने बस्ती रूकुम तकसेरा।
लुम्बिनी प्रदेशको हिमाली जिल्ला रूकुम पूर्वमा अवस्थित ऐतिहासिक ठाउँ। मुलुककै घुम्न लायक रमणीय गाउँको रूपमा स्थापित तकसेरा गाउँ पर्यटकीय दृष्टिले बिर्सनै नसकिने आकर्षक गन्तव्यस्थल हो।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना र भूमे गाउँपालिका रूकुम पूर्वको समन्वयमा पालिकाको सभाहलमा २०८१ साल चैत ६ गते 'स्थानीय तहमा कानुन तर्जुमा सम्बन्धी प्रशिक्षण कार्यक्रम' सकेर ५ बजे हामी तकसेरातिर लाग्यौं।
भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीलाल बिकले तकसेरा कम्युनिटी होमस्टेका सञ्चालक देवा रोका मगरलाई फोन गरी खाना र बासको लागि समन्वय गरिदिनुभएको थियो। स्थानीयको भनाइमा डेढ घण्टा लाग्ने बाटो साँझको बेला भएर होला हामीलाई २/३ घण्टा लाग्यो। हुन त हामीले कल्पना गरेजस्तो त्यति नराम्रो र अप्ठ्यारो थिएन। तर अपरिचित भूगोल र नयाँ परिवेश भएर होला हामीलाई बाटामा कुनै बेला पट्यार लागेको अनुभूति हुन्थ्यो।

यात्रामा मन्त्रालयका उपसचिव कृष्णप्रसाद नेपाल, कानुन अधिकृत धन बहादुर थापा, म र श्री खनाल गरी ४ जना थियौं। कहिले स्थानीयलाई सोध्दै त कहिले फोन गर्दै बल्ल ८ बजे हामी तकसेरा पुग्यौं।
लामो बाटो, टोलीमा सबै थकित थियौं। शान्त लाग्ने गाउँ, मान्छेहरूको मन्द आवाज अनि कुकुरहरू भुक्दै गरेका। वारिबाट हेर्दा घरहरूमा टिलपिल बत्ती बल्दै गरेको। साँझको समय फेदीबाट गाउँतर्फ नियाल्दा तिब्बतको राजधानी ल्हासास्थित पोताला दरबारको दृश्यजस्तो देखिने। दिनभरको थकाइ गाउँको मनमोहक दृश्यले मेटाइदियो।
तकसेरा कम्युनिटी होमेस्टेमा एसइईका विद्यार्थी र अन्य पाहुनाले गर्दा रूम प्याक भएको रहेछ।
होटल साहुनीले हामीलाई 'पाहुना घर' मा लगेर व्यवस्था गरिदिनुभयो। त्यहाँ ढिडो, सिस्नो र मासु खाने योजना बन्यो। पाहुना घरकी दिदीको नाम रामलीला साँच्चै लीला नै गर्नुहुँदो रहेछ। उहाँको मिठो स्वागतपछि हामी फ्रेस भयौं। ४/५ जना स्थानीय दाजुभाइ र दिदीबहिनीहरूसँग हाम्रो टिमको दोहोरी कार्यक्रम सुर भयो। साहुनी दिदीले ढिडो ओराल्दै गीत गाउँदै हुनुहुन्थ्यो, हाम्रा सरहरूले पनि जबाफी कारबाही स्वरूप जोशिलो पारामा गीत फर्काउनुहुन्छ भने मैले मादल बजाउँदै थिए।
गठबन्धन ढिडोको विषयले करिब एक घण्टा त्यहाँ माहोल तातेको थियो। गठबन्धन ढिडो यानिकी मकै, कोदो, फापर, जौ र भट्टको समिश्रण रहेछ। दोहोरीपछि धन बहादुर थापा सरबाट १/२ वटा गजल वाचन पनि भए। १० बजे खाना खाएर विश्रामतिर लाग्यौं। एकैछिन गजलका रदिफ र काफियाका विषयमा पनि छलफल भए। त्यो पल धेरै रमाइलो र अविस्मरणीय रह्यो हाम्रो लागि।
अर्कोतिर भने म भोलि बिहानको पर्खाइमा थिए किनकि भोलि बिहानको सूर्य किरणसँगै धित मरूञ्जेल तकसेरा गाउँ हेर्ने मन थियो। अंगालोमा बेरेर चुम्बन गर्ने मन थियो। ४/५ वर्षदेखिको तकसेरा पुग्ने रहर थियो, त्यसैले पनि म धेरै आतुर थिएँ।
अर्को दिन बिहान चौतारीमा बसेर धेरैबेर गाउँतर्फ नियाल्यौं र २ पटक गाउँको परिक्रमा गर्यौं। सम्झनाको लागि २/४ थान सिङ्गल र समूहका फोटो र भिडिओ सेसन पनि भए। एउटा निश्चित स्थानमा मिलेर बनेका समान किसिमका अजिब घरहरू। गिलास खप्टाएजस्तो गरी बनेका घरका संरचनाले हाम्रो मनै लोभ्याए। एउटा घर, अर्को घरसँग जोडिएको अनि एउटा घरको छत माथिल्लो घरको आँगन। छेउबाट पारिका घरहरूमा सहजै पुग्न सकिने। मानौं विदेशी दातृ निकायले परिकल्पना गरेर तयार गरिएको एकीकृत बस्तीको ढाँचाजस्तो।
खेतीयोग्य जमिनलाई अलग्गै साँचेर बसाइएको बाक्ला बस्ती। यस गाउँका घरहरू पूर्णतः ढुङ्गा, माटो र काठले बनेका रहेछन्। मानव बसोबासको हिसाबले तकसेरा देशकै नमूना मानिन्छ। मगर जातिको बाहुल्यता रहेको उक्त गाउँमा दलित र गुरूङको समेत बसोबास रहेछ।

२०३१ सालअघि बाग्लुङ जिल्ला अन्तर्गतको एक गाविस थियो भने पछि रूकुम जिल्लाको एक गाविस बन्न पुगेको त्यहाँ पुगेपछि हामीले थाहा पायौं। हाल पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० र पालिकाको केन्द्र पनि सोही वडाको तकसेरा नै रहेछ।
करिब २५ सयको उचाइमा रहेको यस गाउँको क्षेत्रफल ७५.०५ वर्गकिलोमिटर रहेछ। २०६८ को जनगणनाअनुसार यस वडाको जनसंख्या ३६९८ थियो भने हालको जनसंख्या घटेर २०४३ रहेको अभिलेखबाट देखिन्छ। ५ सयभन्दा बढी घरधुरी रहेको तक गाउँमा रोजगारी, शिक्षा, स्वास्थ्य, व्यवसायको खोजीमा अन्यत्र बसाइ सरेकोले जनसंख्या कम हुँदै गएको स्थानीय बासिन्दा बताउँछन्।
तल्लो सेरा, उपल्लो सेरा र बाछीगाउँ तक पछिका ठूलो क्षेत्रफल ओगटेका गाउँ रहेछन्। तक र सेरा दुई छिमेकी गाउँलाई नै समग्रमा तकसेरा भन्दा रहेछन्। बाक्ला बस्ती ढोरपाटनबाट पश्चिमतर्फ बहने उत्तरगङ्गा नदीले छुट्याएको। स्थान र नाम फरक भए पनि संस्कृति, रहनसहन तथा अन्य दृष्टिले यी दुई गाउँ भिन्न छैनन्। तकसेरा नाम यसैको संयुक्त रूप हो। यहाँका मानिसहरू आफूलाई निकै व्यस्त राख्न मन पराउँछन्। माहुरी जस्तै मेहनती, लगनशील र पौरखी छन्। खेतीपाती र पशुपालन उनीहरूको मुख्य पेसा हो। खेतीपातीमा अर्मपर्म अपनाउनु उनीहरूको सामाजिक परम्परा नै रहेछ।सामूहिकतामा विश्वास गर्दा नै आफ्नो अस्तित्व रक्षा भएको स्वीकार्छन् उनीहरू। अन्नबाली उत्पादनमा उनीहरू विशेष दख्खल राख्छन्। अनाज भण्डारणको शैली उदाहरणीय छ। घरको छतमा भकारी सजाएर राख्न निकै मन पराउँछन्। भकारीमा बर्खे बाली मकै, कोदो, फापर, जौ, तोरी, आलु राख्छन्। कसै कसैले स्याउ र फर्सी पनि राखेका हुन्छन्। प्रत्येक घरमा एक बाली एक भकारी हुनु सामान्य जस्तै रहेछ।
तकसेरालाई चिनाउन राडीपाखी (काम्लो) को उल्लेख्य भूमिका छ। कोसेलीका लागि राडीको प्रयोग गरिएका घटना कुनै कहावत वा मिथकजस्ता लाग्छन्। पाहुनाहरूलाई जिल्लाको तर्फबाट प्रदान गरिने कोसेलीको रूपमा तकसेराको राडीपाखी उपहार दिने परम्परा अझै कायमै छ।
तकसेरामा परम्परागत घरेलु विधिबाट राडी बुनिन्छ यहाँ अझै पनि परम्परागत हाते कलाबाट ऊनीका राडीपाखी, फेरुवा, हार्दुला बुन्ने गरिन्छ भने ओखर खेती पनि गरिन्छ। ऊन उत्पादनका लागि भेडाबाख्रा पाल्नु निर्विकल्प पेसा हो।यहाँको दैनिक अर्थ व्यापारलाई चलायमान बनाउन भेडाबाख्रा, ऊन, राडीपाखीको योगदान ठूलो रहेछ। पछिल्लो समय अल्लोको धागो सङ्कलन र बिक्रीवितरणमा समेत तकसेरा कहलिएको छ। स्थानीय बासिन्दा मिहिनेती मात्रै छैनन् व्यापारमा पनि निकै खप्पिस रहेछन् पुसको चिसोलाई प्रवाह नगरी बास बस्दैबस्दै राडीको भारी बोकेर रिडी आएको मैले सानैदेखि सुने र देखेको कुरा पनि हो।
पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रिडीमा रूकुम र रोल्पाको काम्लो भनेपछि कोसेलीका लागि भए पनि किन्नेको भिड नै लाग्छ।
फरक भूगोल, सम्प्रदायका व्यक्तिसँग नजिकिन हिच्किचाउँदैनन्। अपरिचित वा कुनै बिरानोलाई गाँस बासको आश्रय दिनु धर्म ठान्छन्। पाहुना पाल्ने संस्कृति उनीहरूको विशिष्टता हो। पाहुनालाई गरिने आदर, सत्कार र सम्मान बडो घतलाग्दो छ।
गाउँका युवाहरू विशेष गरी मित-मितिनी, सम्धि-सम्धिनी लाउन रूचाउँछन्। मित र सम्धि सम्धिनीलाई परिवारको एउटा हिस्सा मान्दा रहेछन्। हामी जाने दिन पनि पाहुना घरमा धेरै टाढाबाट बाउछोरा आएका थिए। पछि बुझ्दा उनी मित थिए र वर्षौंपछि त्यहाँ आएका रहेछन्। प्राय: घरमुली महिला हुन्छन्। पुरूषको तुलनामा महिला बढी स्वावलम्बी छन्। श्रमको निकै सम्मान गर्छन्। कामलाई सानो ठूलो भन्दैनन्। भूमे गाउँपालिकाका अध्यक्ष होम प्रकाश श्रेष्ठका अनुसार झाँक्री मेला त्यहाँको अनौठो र रहस्यमयी संस्कार रहेछ। आधुनिक चिकित्सा प्रणालीलाई ठाडै चुनौती दिने गरी अझै पनि धामीझाँक्रीबाट ओखतीमुलो गर्छन्। धामीझाँक्रीले ठम्याउने जडीबुटीमा विश्वास गर्छन्। झाँक्रीलाई रमा र बस्ने घरलाई जिमभन्दा रहेछन्। धेरै उचाइको लेकाली भू-भागमा अवस्थित यो रामाजिमा धार्मिक गन्तव्यको थलो रहेछ। तकसेराका बासिन्दाले भदौ पूर्णिमा (जनैपूर्णिमा) को दिन भेडाको बलि दिएर बराहको पूजा गर्छन्।

आहा! क्या राम्रो रूकुम तकसेरा आफैमा इतिहास, संस्कृति र प्रकृतिको त्रिवेणी रहेछ। ५० को दशकसम्म यहाँ निकै विदेशी पर्यटक आउने गर्थे भन्ने इतिहासले बोल्दछ। यसो हुनुमा बेलायती नागरिक डेबिड वाटर्सले तकसेरामै बसेर मगर खाम भाषाको गहन अध्ययन गरी भाषाशास्त्रमा अमेरिकाको ओरेगन विश्वविद्यालयबाट पिएचडीको शैक्षिक उपाधि हासिल गरेकोबाट बुझ्न गाह्रो छैन। विख्यात जर्मन मानवशास्त्री माइकल अपिज सन् १९७० को दशकमा ७ वर्ष बसाइ गरी यहाँको झाँक्री, समाज र संस्कृतिमा व्यापक, खोज र अन्वेषण गरी विविध सोधग्रन्थ प्रकाशन गरे।
साथै, उनले ६ घण्टा लामो वृत्तचित्र (डकुमेन्ट्री) तयार गरेका थिए। संवत् २००७ सालपछि राष्ट्रसंघबाट खटिएका टोनी हागन ढोरपाटन हुँदै उत्तरगङ्गा नदीको किनारको यात्रा गर्दा उनले तकसेरा गाउँ नियाल्ने मौका पाएँ।
तकसेराको सौन्दर्यबाट मोहित बनेका यी स्विस भूगर्भविद्ले खिचेको तस्बिर देखेपछि आकर्षित बनेका राजा वीरेन्द्र यस गाउँको भ्रमण गर्न इच्छाएको मानिन्छ। तकसेराका तत्कालीन प्रधानपञ्च बलमान पुन र रूकुम बाँफीकोटका ध्रुवविक्रम शाहको पहलमा २०४० साल माघमा तत्कालीन राजा वीरेन्द्रबाट यस गाउँमा राजकीय भ्रमण भएको रहेछ।
वीरेन्द्रका साथमा रानी ऐश्वर्य, प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ लगायत विशिष्ट व्यक्तित्वहरू समेत भ्रमणमा सामेल थिए। राजाले तक र सेराका बासिन्दालाई सहज होस् भनेर उत्तरगङ्गा नदीमा लामो दुरीको झोलुङ्गे पुल बनाउन लगाए। सोही समयमा रानीले यस गाउँलाई धेरै मन पराएर पुनः २/३ पटक तकसेरा घुम्न आएको कुरा तकसेराका वडा अध्यक्ष भरत बुढाले बताए।
उनका अनुसार विश्वको कुनै पनि देशमा उनीहरू नपुगेका छैनन्। लाहुरेको संख्या पनि रूकुम तकसेरामा उल्लेख्य रहेछ। पहिलो र दोस्रो विश्वयुद्धका क्रममा गोर्खा पल्टनमा भर्ती भई लडेका युद्धका कथा वास्तवमै साहसिक र कारुणिक लाग्छन्।
१० वर्षे जनयुद्धका क्रममा यस गाउँले ठूलो कहर काट्यो। यी भेगहरू माओवादीका आधार इलाका अन्तर्गत थिए। दिनमा प्रहरी र सेना अनि रातभर माओवादीको मार्चपास त्यस बेलाको दैनिकी जस्तै थियो। दुवै पक्षको हप्कीदप्की त्यस्तै थिए। २०५२ सालबाट माओवादीले जारी राखेको सशस्त्र विद्रोहको प्रभावले विदेशीले पाहुनाको आगमन कम भएको रहेछ। २०५६ साल चैतमा तकसेरा प्रहरी चौकीमा आक्रमण हुँदा १४ प्रहरी र २ जना माओवादीको मृत्यु भएको पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष पुनीराज घर्तीले बताउनुभयो।
पालिकाका उपाध्यक्ष नरपुरा बुढा पुन तथा मगर समुदायका अगुवाका अनुसार इतिहासमा बाइसे-चौबीसे राज्यको पालादेखि नै मगर समुदायमा मातृसत्तात्मक प्रणाली चलेको बताउँछन्। उनीहरूका अनुसार त्यतिबेला बाहिरी आक्रमणबाट मगर राज्यलाई जोगाउन घरको सबै अधिकार महिलाको जिम्मा छाडेर पुरूषहरू लडाइँमा जान्थे। केही पुरूषहरू कमाउन देश तथा विदेश जाने र भेडाबाख्रा चराउन गोठालो जाने भएकाले आर्थिक जिम्मा महिलाकै काँधमा हुने र परिवार उनीहरूकै खटनपटनमा चल्ने रहेछ।
रूकुमका खामभाषी मगर समुदायका पुरूषले वर्षौदेखि आफूले कमाएको पैसा परिवारका महिलालाई राख्न दिने र चाहिएको बेला मागेर चलाउने गर्दै आएका छन्। पुरूषले आफूले कमाएको पैसा घरमा आमा, आमा नभए जेठी दिदी, जेठी भाउजू वा घरबाट छुट्टिएर बसेको भए श्रीमतीलाई राख्न दिने चलन रहेछ। तकसेरा मात्रै नभएर रूकुमको हुकाम, मैकोट, काक्री, लुहुम, कलराङ्सी, महत, कोल, जाङ, प्वाङ, मोरवाङ, चुनवाङ, स्यालापाखा, दुली लगायतका ठाउँका मगर समुदायमा आर्थिक रूपमा महिला नै सर्वेसर्वा रहँदै आएका छन्। श्रीमान र छोराहरूको कमाइका साथै भेडाबाख्रा, खसीबोका, अन्नपात, जडीबुटी र राडीपाखी बेचेर हुने आम्दानी पनि महिलाले नै राख्छन्।
-1745411588.JPG)
अहिले संविधानमा महिला अधिकारको कुरा लेखिएको छ। यहाँका मगर समुदायमा भने हालको संविधानमा भएको प्रावधान परापूर्वकालदेखि नै अपनाएको र महिला अधिकार सम्पन्न भएको उपाध्यक्ष बुढाले बताउनुभयो विशेषगरी खामभाषी मगर समुदायमा साम्यवाद र मातृसत्तात्मक प्रणाली झल्कने गरेको देखिन्छ। जग्गाजमिन, पशु चौपाया किनबेच गर्दा होस् वा छोराछोरीको विवाह गर्दा वा ऐंचोपैँचोमा महिलाकै निर्णय अन्तिम हुन्छ। अपवादको रूपमा मात्रै आर्थिक कारोबार पुरूषको हातमा हुने भूमे गाउँपालिकाका उपाध्यक्ष सविना बुढामगर बताउनुहुन्छ।
साथै, उहाँले अन्य समुदायमा छोराले मात्रै दागबत्ती दिने चलन भए पनि मगर समुदायमा पहिलेदेखि छोरीले समेत दागबत्ती दिने गरेको बताउनुभयो। घरमुली नै प्रायः महिला हुने भएकोले उनीहरूले हुन्छ नभनेसम्म कुनै पनि काम नहुने देखिन्छ। तकसेराका एक जना स्थानीय शिक्षक भन्छन्, 'हामीले कमाएर दिन्छौं त्यसपछि कहाँ, कसरी, कुन काममा खर्च गर्ने भन्ने निर्णय गर्ने अधिकार महिलाकै हुन्छ।'
यस्तै रमाइला इतिहासका गाथाहरूले कोरिएका तकसेराको अनुभव र अनुभूति मनको डायरीमा सङ्कलन गरी प्यारो गाउँसँग बिदाइका हात हल्लाउँदै फर्किने अनुमति माग्यौं। पाहुना घरकी रामलीला दिदीले अप्ठ्यारो मान्दै त्यहाँको संस्कार अनुसार सेतो टीका लगाइदिएर हातमा फूल र दही ख्वाइ पुनः छिट्टै भेट्ने बाचासहित हामीलाई बिदा गर्नुभयो।