क्रिश र म योजना कोर्दै थियौँ अलि अगाडिदेखि। एक बिहान काठमाडौँबाट सिन्धुपाल्चोकको चौतारामा साइकल चलाउने साइत जुर्यो हामी दुईको। सिन्धुपाल्चोकमा अक्सफामको जिल्ला कार्यालय थियो। स्टोरमा धेरै सामाग्री सञ्चित भयो, स्टोर गरिएका सामान जस्तै- सिमेन्टहरू जमेर नष्ट भयो भन्ने कुरा आयो। त्यस कारण जिल्ला जाने कुरा तय भयो।
त्यसबाहेक मैले पनि खानेपानी र सरसफाइ कार्यक्रमको अनुगमन गर्न त्यही समय मिलाएँ। दुई जना सल्लाह गरेर साइकलमै जाने भयौँ। क्रिश मेरो सुपरभाइजर हो, म खानेपानी तथा सरसफाइ विभागको प्रमुख। क्रिश साह्रै राम्रो मान्छे हो। तीन वर्ष सँगै काम गर्दा स्ट्रेस ‘भतिच्चा’ पनि भएन।
म ठेचोबाट जडीबुटी पुगेँ, क्रिश महाराजगन्जबाट। त्यहाँ अफिसको गाडीमा साइकल राखेर सिन्धुपाल्चोकको चौतारातिर हानियौँ। सल्लाघारी, जगाती, साँगा भन्ज्याङ, बनेपा, धुलिखेल, पाँचखाल, दोलालघाट पुगियो। दोलालघाटबाट माथि लागेपछि दुइटा बाटो आउँछ- दायाँको बाटो नेपाल-चीन सीमा तातोपानी पुगिन्छ भने बायाँ लागे भने चौतारा। स्वाभाविक रूपमै हामी बायाँतिर लाग्यौँ।
मंसिरको महिना थियो। डाँडामाथि पुग्नासाथ उत्तरतिर झललल हिमालका शृङ्खला देख्न थालेँ। ती मध्ये जुगल हिमाल प्रमुख थियो। मन्त्रमुग्ध नै हुने रहेछ हिमाल देखेपछि। हिमाल प्रकृतिको एउटा अति विशिष्ट सिर्जना मान्न सकिन्छ। नेपालको सौन्दर्य। यी हिमालहरू ४० करोड वर्ष अगाडि उत्पत्ति भएको मानिन्छ। टेक्टोनिक प्लेटको हलचलले।
जहाँ पुगेपछि जुगल हिमाल देखियो त्यहाँ हामी रोकियौँ र हिमाल हेर्यौँ। यहाँ हामीले साइकल झार्यौँ अनि चलायौँ, अफिससम्मै ८ किलोमिटर जति। अफिस एउटा सुन्दर ठाउँमा अवस्थित रहेछ, बाटोभन्दा थोरै तल। रुखहरूले ढाकेको। डाँडामै भएकोले चौतारा सहर टाढा-टाढासम्मै देखिने।
चौतारामा मेरो साथी रामलालको ससुराली हो। त्यो बाहेक मेरो केही साइनो छैन यो ठाउँमा। रामलाल श्रेष्ठ अहिले अमेरिकामा भए पनि बराबर कुरा भइराख्छ। मिलनसार छ। ऊ हेटौडाको हो। इन्जिनियर पढ्दाको साथी। पहिला ऊ नेवारी कुरा गर्दैनथ्यो। अमेरिका गएपछि म काठमाडौँको रैथाने नेवारभन्दा बढी नेवारी शब्द प्रयोग गरेर नेवारी कुरा गर्छन्। आफ्नो समाज, देशबाट टाढा हुँदा संस्कार, भाषाको बढी नै प्यार हुन्छ।
यो मेरो पनि अनुभव हो पूर्वीटिमोर, सोमालिया र नेदरल्याण्डमा ११ वर्ष बिताउँदा। म सम्झन्छु एक पटक नेपालमा बिदामा आउँदा तीजको बेला थियो। घुम्न निस्कँदा बाटैभरि तीजको गीत बजाएर नाचिरहेका। नाच हेर्नमा यस्तो मस्त भइयो कि घर पुग्दा रात नै पर्यो। अहिले त्यो नाच खासै केही जस्तो लाग्दैन काठमाडौँमै बस्न थालेदेखि। त्यस्तै त्यस्तै अनुभव इन्द्रजात्रा, रातो मच्छिन्द्रनाथको पनि छ।
चौतारा सिन्धुपाल्चोकको सदरमुकाम हो। म यो ठाउँमा विसं २०५० सालतिर आएको थिएँ एउटा मिटिङको लागि, नेपाल स्वास्थ्यको लागि पानी (नेवा) संस्थाको तर्फबाट। अक्सफामबाट फेरि आउने साइत जुर्यो झन्डै २५ वर्षपछि।
अफिसमा बिहान ९ बजे नै पुगियो, काठमाडौँबाट ३ घण्टा लगभग। अफिस भाडाको घरमा थियो। ३-४ वटा गाडी थिए। भण्डारको छुट्टै व्यवस्था गरेका थिए जहाँ विभिन्न प्रकारका सामाग्रीहरू भण्डारण गरिएका थिए। त्यसमध्ये सिमेन्ट, पाल, डन्डी पनि थिए। स्टाफ झन्डै ३० जना थिए। खानेपानी स्वास्थ्य तथा सरसफाइ शाखामा मात्र १३ जना थिए। जीविकोपार्जन शाखामा ५ जना तथा पुनर्निर्माण शाखामा ६ जना। जम्मा ३०-३२ जना। कार्यालय प्रमुखमा अनिता तथा खानेपानी तथा सरसफाइमा गङ्गादत्तजी, फुर्बा, अजय थिए। छोटो अनौपचारिक भेटघाटपछि काममा लागिहाल्यौँ। शाखाका कर्मचारीहरूले प्रगति विवरण प्रस्तुति गरे। आगामी दिनको कार्यक्रम बनायौँ, स्टोरमा निरीक्षण गर्यौँ।
अक्सफामले भूकम्प पुनर्निर्माण कार्यक्रमका लागि ४ करोड युरोको सहयोगबाट ७ जिल्लामा सञ्चालनमा थिए, ४ वर्षको लागि।
योजना क्षेत्रमा जाने कुरो भयो पहिलो दिनमै। योजना क्षेत्रहरू चारैतिर फैलिएको छ। उत्तरमा पान्ग्ताङ, हगाम भन्ने ठाउँ थिए- दुर्गम अनि तामाङ समुदाय बस्ने। गाडीबाटै २ घण्टा लाग्छ। फुर्बा मोक्ताङसँग गएको थिएँ। एक रात बास बसेको। डाँडाको डिलमै अवस्थित ठाउँ भएकोले चारैतिर देखिने जुगल हिमाल नजिकै देखिन्थे। सूर्योदय पनि सुत्ने कोठाको झ्यालबाटै देखिने। प्रकृतिको अनमोल सृष्टि। यो ठाउँ सम्झँदा पनि मनलाई एकत्रित गरेर ध्यान गर्न सकिने।
जाडोको मौसम भएकोले चिसो चिसो थियो। बस्ने होटेल आधारभूत थियो तर त्यो भेगको भने सबभन्दा राम्रो। सा-सानो कोठा, सानै खाट, सानै झ्याल। साँघुरै प्यासेज। सानै शौचालय छेउमा, धारा थिएन, कालो प्लास्टिकको पाइपबाट पानी तररर झरिरहेको थ्यो। भुइँतल्लामा सामान भण्डार। बोका, बाख्रा र कुखुरा पनि थिए, बेच्न राखेका होलान्। कोठाको ठ्याकै अगाडि पनि पसल थियो, दुर्गम गाउँका जनताहरू किनमेल गर्न आएका। बिहानैदेखि निकै चहलपहल थियो। तामाङ भाषामा कुरा गर्दै थिए। गाउँको माहौल, छुट्टै आनन्द।
खानेपानी र सरसफाइको अवस्था नाजुक थियो। त्यस कारण यो बस्ती अक्सफामको कार्यक्षेत्रमा पर्यो। फुर्बाले योजनामा भए गरेका क्रियाकलापको वर्णन गरे। फुर्बा जनस्वास्थ्य विज्ञका हैसियतमा काम गर्थे।
समुदाय र स्थानीय संस्था तथा आयोजना व्यवस्थापन समितिका पदाधिकारीसँग छलफल भयो बिहान दुई घण्टा। आयोजनाको छोटो अवलोकनपछि दालभात खायौँ घिउसँग। फर्केर आउँदा पान्ग्ताङको स्कुलको शौचालय निरीक्षण गर्न गयौँ। भूकम्पले स्कुलको शौचालय भत्किएर नयाँ बनाउने योजना हो। स्कुलको शौचालयमा हेरिने कुरा भनेको केटाकेटीको लागि छुट्टै क्युबिकल हुनुपर्ने, केटी विद्यार्थीको लागि मासिक महिनावारीको लागि मिल्ने हुनु पर्ने, अपाङ्गता भएका विद्यार्थीलाई प्रयोग गर्न सुलभ हुनु पर्ने इत्यादि थिए। स्कुले विद्यार्थी तथा शिक्षकहरूसँग शौचालय निर्माणको प्रगति तथा यसबाट हुने फाइदा, यसको सञ्चालन तथा दिगो व्यवस्थापन सम्बन्धी छलफल भयो।
बेलुकासम्ममा चौतारा आइपुग्यौँ। भेटघाट गर्ने भनेर एउटा सानो चिया पसलमा बस्यौँ अनौपचारिक कुराकानी गर्न। अजय, फुर्बा, राजन, पौडेल भाइ, पार्वती थिए। राजन, पौडेल भाइ, पार्वती सिन्धुपाल्चोककै हुन्। अजय काठमाडौँका हुन् भने फुर्बा काभ्रेका हुन्।
भोलिपल्ट, हेलम्बु भेगतिर जाने योजना बन्यो। तारामाराङ, किउल, तिम्बु हुँदै सेर्माथाङ गयौँ, राजन र अजय थिए साथमा। यहाँ साइकल चलाउनेर भनेर गाडीमा साइकल ल्याएको थिएँ। मेलम्ची बजारबाट टिम्बुसम्मै साइकल चलाएँ। बायाँ मेलम्ची खोला दायाँ घर, बस्ती थियो। टिम्बुमा ट्राउट माछाको भुरा उत्पादन तथा निकै व्यापार हुँदो रहेछ। मेलम्ची खोलाको पानी भएर। टिम्बुबाट माथि लागेपछि ठाडो बाटो आउँछ। ठाडो बाटोमा किन सास्ती खाने भनेर साइकल गाडीमा राखेर सेर्माथाङतिर लागियो। माथि पुगेपछि दुइटा बाटो आउँछ। एउटा ह्यान्गुल र तार्केघ्याङ जाने बाटो, अर्को सेर्माथाङ जाने। सेर्माथाङ २५०० मिटरको उचाइमा रहेको रमाइलो बस्ती हो। यहाँका बासिन्दालाई ह्याल्मो भनिन्छ, ह्याल्मोहरू आफैलाई छुट्टै ठान्दछन्- धेरै अघि तिब्बतबाट आएका रे। यो भेगमा निकै पुरानो बुद्धको गुम्बाहरू छन्। मेलम्ची घ्याङ, तार्केघ्याङ, ह्यान्गुल, सेर्माथाङ यहाँका प्रमुख बस्ती हुन् जहाँ बुद्धको गुम्बाहरू छन्। सेर्माथाङमा स्थानीय व्यक्तिले चलाएको होमस्टेमा बस्ने सल्लाह भयो। राति राजनले ‘लोकल’ को व्यवस्था गरे। लोकलले जीउ ततायो, गफ निस्क्यो, मरी मरी हाँसियो। अहिलेसम्म पनि त्यो क्षण झलझलती सम्झन्छु।
बिहान ब्रेकफास्ट खान अर्कै स्थानीय कहाँ गइयो। खानेपानीको योजनासँग सम्बन्धित भएर आएकोले सम्मान पनि पाइयो। सेर्माथाङमा निकै व्यवस्थित होमस्टे रहेछ। पाहुना सत्कार पनि उत्कृष्ट। टुरिस्ट आउने ठाउँ भएकोले त्यहाँका छोराछोरीहरूलाई स्पोन्सर गरी काठमाडौँ र विदेशमा पढ्न सहुलियत पाएका रहेछन्। विदेशीसँग बिहे गरेका पनि रहेछन्। आयस्रोत राम्रो रहेछ यहाँका बासिन्दाहरूको। हेलम्बु पहिले स्याउको लागि प्रख्यात थियो तर अहिले स्याउ फल्न छोडेछ। जलवायु परिवर्तनको प्रभाव भन्छन् यहाँका स्थानीय।
सेर्माथाङबाट तल ओर्लिएपछि मेलम्ची घ्याङ जाने बाटो आउँछ। खोलाको साँघु बाढीले बगाएको रहेछ। हामी हिँडेरै जाने भयौँ। झन्डै खोलाबाट १ घण्टाकै ठाडो उकालो छ। मेलम्ची घ्याङ पुगेपछि समतल भूभाग छ। खस-आर्यले नाम राख्न पाएको भए मेलम्ची-पाटन राख्थे होला; बागलुङको ढोर-पाटन, पोखराको माले-पाटन, ललितपुरलाई पाटन राखे जस्तो। मेलम्ची घ्याङ हेलम्बु सर्किटको ट्रेकिङको एउटा प्रमुख गन्तव्य पनि हो। यहाँ एउटा अति नै पवित्र गुफा पनि रहेछ- चट्टानमै कुदिएर बनाएको। सायद यहाँ मेरालेप्पा भन्ने प्रख्यात भिक्षुले तपस्या गरेको हुनु पर्छ- त्यो सोधिएन हो कि होइन भनेर।
नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मै यस्ता बौद्ध गुम्बा, संस्कृतिले यी हिमाली क्षेत्रलाई जीवन्त बनाइरहेका देखियो, हिमाली क्षेत्रको यात्रामा। बर्सेनि नेपालका हिमाली भेगको यात्रामा आउने एक जना जापानीले मनासलु क्षेत्रको पदयात्रामा मसँगको भेटमा भनेको कुरा सम्झन्छु- ‘यदि बौद्ध गुम्बा, संस्कृति नभएको भए नेपालको हिमाली क्षेत्रको महत्त्व यति धेरै हुन्न थ्यो।’
मेलम्ची घ्याङमै अक्सफामको शौचालय निर्माणको योजना पनि चलिराखेको थियो। छोटो अवलोकन गर्यौँ। अजय, राजन र म केही समय बिताएर फर्क्यौँ सेर्माथाङमै।
सेर्माथाङबाट माथितिर आमायांग्री छ भन्ने सुन्नमा आयो तर हामीसँग समय थिएन। मैले फर्कने बेलामा साइकल चढ्ने मुड बनाएँ। हामी गएको बाटो होइन, अर्कै बाटो लियौँ। ठुलो पद्मसम्भवको मूर्ति पनि रहेछ बाटैमा। त्यहाँ एक छिन रोकेर एक जना प्रमुख लामा भिक्षुसँग कुराकानीको सिलसिलामा जानकारी पाइयो कि यहाँ दसैँको तीन दिन (अष्टमी, नवमी र दशमी ) एकदम ठुलो पूजा हुन्छ। देशैभरि हिन्दु समुदायले काटमार गरी दसैँ मनाइराख्दा ती बली चढाइएका पशुपन्छीको आत्मा शान्तिका लागि पूजा गरिने भनेर सुन्दा सम्मान जाग्यो।
एकदमै छुट्टै मान्यता, संस्कार। कति विविधता। यस्ता विविधता नै नेपालको विशेषता हो। यसको संरक्षण, संवर्द्धन अति नै महत्त्वपूर्ण छ नेपालको मौलिकतालाई जगेर्ना गर्ने हो भने। नेपालको संविधानले धर्म निरपेक्षताको प्रत्याभूति दिएर राम्रो गरेको छ यस्ता समुदायहरूको धर्मलाई जगेर्ना गर्न।
बुद्ध धर्मलाई थिचोमिचो गरेको त राणा शासनमा अनेक उदाहरण नभएको होइन। कयौँ भिक्षुहरूलाई देश निकाला गरेको सुनेको छु। मणिहर्ष कंसकारले कालिम्पोङमा सरण दिएको कुराहरू पढ्न पाइन्छ। मैले थाहा पाएसम्म पनि ५० वर्ष अगाडि तिबेतियन, जापनिजहरू बौद्ध शिक्षा लिन मेरो बा कहाँ आउँथे। उचित संवर्द्धनको अभाव तथा राज्यको यसप्रतिको उदासीनताले यो ज्ञान काठमाडौँका बज्रयान बुद्ध धर्म सम्प्रदायले यथोचित जगेर्ना गर्न सकेन भन्ने मेरो बुझाइ हो।
सेर्माथाङबाट तल आउँदा ठाउँ-ठाउँमा बाटो बनाउने क्रममै थियो। धुलो ६,६ इन्च बाक्लोमा साइकलले चिप्लेटी खेल्दै अगाडि बढायौँ। पाल्चोक, दुवाचोर हुँदै मेलम्ची बजार फर्कियौँ साइकलमै। मेलम्ची बजारबाट फेरि गाडीमा चौतारा गइयो।
भोलिपल्ट अर्कै भेगमा जाने योजना मुताबिक फुर्बासँग गइयो। फुर्बा गाडीमा, म साइकलमा। अन्दाजी ९० मिनेट जति लाग्यो होला। साइकलमा चौताराबाट कुनचोक योजना क्षेत्रमा पुग्न बाटो पहिले ओरालो छ चौतारा नगरपालिका २ स्थित झ्याडी खोलासम्म, त्यसपछि उकालो थियो। भूकम्पले खानेपानीको संरचनाहरू बिगारेकोले नयाँ इन्टेक, पानीको ट्यांक र घर-घर धाराको योजना हो। पानीको मुहान अलि टाढै थियो, झन्डै गाउँबाट २ किलोमिटर पर। त्यहीसम्मै हिँडियो।
मेरो पहिले देखिको बानी भनौँ कि काममा पक्का भनौँ, खानेपानीको मुहान पुग्नै पर्ने। नेवामा ७ वर्षको अवधिमा टेक्निकल कोअर्डिनेटर हुँदा चार सय पचास वटा खानेपानी योजनामा मेरो प्रत्यक्ष/परोक्ष संलग्न रह्यो त्यसबाट चार लाख पचास हजार गाउँका जनताहरू लाभान्वित भए। झन्डै ५० % योजनामा पुगेँ होला र सबै योजनाको मुहानमै पुगेर कामको गुणस्तर हेरेको जस्तो लाग्छ। त्यस कारण नेवा का योजनाहरू १५ वर्षे डिजाइन अवधि सकिँदा पनि राम्रै सञ्चालनमा आएको देखेको पनि छु। उदाहरणको लागि नुवाकोटको शिखरबेसी। धेरैले भनेका पनि छन्। खुसी लाग्छ।
पूर्वी टिमोरको सात वर्ष वाटर एडको कन्ट्री मेनेजर हुँदा पनि कार्यक्षेत्रमा पटक पटक गएर कामको गुणस्तरमा जोड दिन्थेँ। त्यसै गरी युनिसेफ सोमालिया हुँदा पनि सुरक्षाको खतरा हुँदाहुँदै पनि म पटक पटक योजना क्षेत्रमा भ्रमण गर्थेँ। काममा मेहनती भएकोले मेरो क्यारियरमा राम्रै प्रगति भएको ठान्दछु। त्यति मात्र होइन, परिश्रम गर्ने कारणले मैले जीवनदान पनि पाएको जस्तो लाग्छ।
लामो कुरालाई छोटोमा प्रस्तुत गर्न पर्दा, म अफिसबाट जिल्लातिर योजना निरीक्षण गर्न गएको थिएँ, सोमालियामा युनिसेफको खानेपानीको प्रमुख हुँदा। त्यही बेला युनिसेफका स्टाफ चढेको गाडीमा बम पड्केर सो गाडीमा भएका ८ जना मध्ये ४ जना को तत्काल मृत्यु भएको र बाँकी ४ जना सख्त घाइते भएका थिए। म जोगिएँ।
कुनचोकबाट चौतारा नै आइयो बेलुकासम्म।
भोलिपल्ट क्रिश र म साइकलमै चौताराबाट काठमाडौँसम्मै आउने सल्लाह भयो। बिहानको ब्रेकफास्टपछि हामीले सबै स्टाफसँग बिदाबारी गर्यौँ- अनिता, गंगादत्तजी, अजय, फुर्बा, राजन, पार्वती लगायत थिए बिदा गर्नेमा। हर्रे, जल्किनी बजार, दोलालघाट, मेलम्चीको जिरो किलोसम्म सजिलै आइपुगियो।
जिरो किलो भन्ने ठाउँमा फोटो मात्र एउटा खिचियो प्रमाणको लागि। त्यति बेला यसरी नियात्रा लेखिन्छ भन्ने के थाहा, फोटोको काम अहिले मज्जैले आयो। फोटो नभएको भए यो नियात्रा खल्लो हुन्थ्यो। यहीबाट बाटो बिस्तारै उकालो लाग्छ धुलिखेलसम्मै। उकालोमा विभिन्न कुरा सम्झेपछि बाटो काट्न सजिलो हुन्छ।
मैले यो उकालो पार गर्दा विगत तीन दिनसम्म स्थानीय समुदायसँग गरेका कुराहरू सम्झेँ। धेरैको घर भत्केको रहेछ। घर भत्केकाहरूको दुःख दर्दनाक नै थियो। कोही आफन्त कहाँ गएर बसेका। कोही पाल टाँगेर बसेका। सामान्य दिनमा पनि जीविकोपार्जन गर्न संघर्ष गरिरहेका ती जनतालाई घरविहीन हुँदा ठुलै बज्रपात भएको रहेछ। मैले साइकलमा उकालो चढ्दा जति गाह्रो महसुस भयो, उनीहरूको लागि पनि जीवनको यो क्षण उकालो लागे जत्तिकै गाह्रो भएको छ।
जसरी मलाई धुलिखेल आउन समय लाग्यो र त्यतिन्जेल गाह्रो सहनु पर्यो, यो भूकम्प पीडित जनतालाई पनि केही समय पर्खनु पर्ने छ अनि मात्र सजिलो हुन्छ भन्ने मैले सोचेँ। त्यति बेलासम्म वैकल्पिक श्रोत साधनको जोहो गरेर जीवन चलाउनु पर्छ भन्ने मनमनमा परिरह्यो, ती समुदायलाई सम्झेर।
म धुलिखेल पुगेँ। त्यसपछि बनेपा, नाला, च्यामासिंह भक्तपुर पनि पुगेँ। त्यसपछि पुरानो ठिमी हुँदै कोटेश्वर आइपुगेँ। साइकलमा केही पनि प्राविधिक समस्या आएन। हामी दुई जनै कुनै पनि जोखिममा पनि पर्नु परेन। घाउचोट पनि केही लागेन। सफल यात्रा पनि ठुलो उपलब्धि हो। त्यस कारण यो सफल यात्रालाई हामीले एक आपसमा हात मिलाएर खुसी बाँड्यौँ।
लामो यात्रा लाई सफल बनाउन धेरै कुराको तालमेल मिल्नु पर्छ। कोटेश्वरमा क्रिशसँग सफल यात्राको लागि एक आपसमा बधाई साट्यौँ अनि आ-आफ्नो बाटो लाग्यौँ।
अन्त्यमा, यो साइकल यात्रामा उल्लेख गरे जस्तै जिन्दगीको यात्रालाई सफलतापूर्वक गन्तव्यसम्म पुर्याउन पनि हरेक चरणमा आफूले मिलाउँदै लानु पर्छ/लान सक्नु पर्छ, जस्तै- पढाइ, घरजम, व्यवसाय, पटक पटक आउने उतारचढावको व्यवस्थापन र त्यसलाई सम्हालेर लाने क्षमता, विभिन्न प्रकारका सम्बन्धहरू (श्रीमान्-श्रीमती, छोराछोरी, दाजुभाइ, इष्टमित्र, साथीभाइ) को व्यवस्थापन, जागिर खाँदा हुने तनाव, नहुँदा हुने छटपटी, सहकारीले पैसा खाँदा, बैंकले किस्ता तिर्न ताकेता गर्दा, आफ्नो स्वास्थ्य, खानपिन तथा जिन्दगीको उत्तरार्धमा आउने प्रतिकुल परिवेश।
साइकल यात्रामा उकालो आएको बेला जति गाह्रो भए पनि चलाएन भने लडिन्छ, ओर्लियो भने गन्तव्यमा ढिलो पुगिन्छ अथवा अँध्यारोमा अप्ठ्यारो खेप्दै जानु पर्ने हुन्छ। ठिक त्यसै गरी जिन्दगीमा पनि आफूलाई गाह्रो/प्रतिकुल हुँदा पनि प्रयास गरिराख्नु पर्छ, समयसँगै अगाडि बढिराख्नु पर्छ, अन्यथा गन्तव्यमा पुग्न अवरोध आउँछ, पुग्न सकिन्न, लडिन्छ।
मानिसको जिन्दगीमा अप्ठ्यारो पर्दा हरेस खाने प्रवृत्ति धेरैको हुन्छ। तर साइकल चलाउँदा अप्ठ्यारो, उखडबाखड, पहाडीतिर ढुंगा छापेको बाटोमा पुग्दा अझ खुट्टाको गति तीव्र रूपमा चलाउनु पर्ने हुन्छ नत्र साइकलबाट लडिन्छ। ठिक त्यसै गरी जिन्दगीमा पनि अप्ठ्यारो परी ढलमलाएको बेला, अझ असन्तुलित हुने भएकोले सुतेर बस्ने, झोक्रेर बस्ने होइन बरु आफूलाई अझ बढी सक्रिय र चलायमान बनाउनु पर्ने रहेछ- साइकल को प्याडल तीव्र गति मा चलाए जस्तै। साइकल चलाउँदा पाएको शिक्षा हो यो।
अल्बर्ट आइन्स्टाइनले भने जस्तै- ‘जीवन साइकल चलाउनु जस्तै हो, यसलाई सन्तुलित राख्न सधैँ चलायमान बनाइराख्नु पर्दछ।’
-1758105534.jpg)
-1758105533.JPG)
-1758105533.jpg)
-1758105533.JPG)