‘घान्द्रुकमा धमाधम भौतिक संरचना निर्माणमा सिमेन्ट तथा बालुवाको प्रयोग बढ्न थालेका कारण कतै यहाँको मौलिकपन हराउने त होइन भन्ने चिन्ता बढ्नु स्वभाविकै हो,’– घान्द्रुकका स्थानीयवासी रुपबहादुर गुरुङले भने।
चिटिक्क मिलेका ढुंगाले छाएका र सर्लक्क ढुंगाले छापिएको बस्ती घान्द्रुकको विशिष्टता भए पनि पछिल्लो दुई दशकयता यस ठाउँमा सिमेन्टको प्रयोग बढेको उनले बताए।
‘सिमेन्टका संरचना बन्ने बढ्दो क्रमले मौलिकता हराउने पो हो कि भन्ने चिन्ताले यसको प्रयोगमा न्यूनीकरणका लागि पहल पनि भएकै हो,’ गुरुङले भने, ‘परम्परागत निर्माण सामग्रीको अभावका साथै तिनीहरूको टिकाउमा पनि समस्या आएका कारण सर्वसाधारण बाध्यात्मकरुपमा सिमेन्टको प्रयोगमा लागेका हुन् ।’
द्वन्द्वकालीन समयमा गाउँबाट धेरै मानिस शहरतर्फ जाने क्रम बढेसँगै जनशक्ति पनि कम हुने गरेकामा पछिल्ला वर्षमा आएर गाउँमा आवश्यक सेवा सुविधासमेत विस्तार भएका कारण मानिस गाउँ फर्कने क्रममा रहेको उनले बताए।
कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकामा अवस्थित घान्द्रुक नेपालको मात्र नभएर विश्वमा नै ख्याति कमाएको पर्यटकीयस्थल हो ।
अन्नपूर्ण र माछापुच्छ्रे हिमालका काखमा लगभग दुई हजार मिटर उचाइमा रहेको यो गाउँ पर्यटकीय नगरी पोखराबाट ४२ किमी उत्तरमा पर्दछ ।
गुरूङ समुदायको जीवन्त संग्रहालयजस्तै रहेको यो गाउँ हुँदै अन्नपूर्ण चक्रीय पदमार्ग पर्ने भएका कारण पनि यसको आफ्नै महत्व रहेको छ । पदमार्गका साथै यस आसपासमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीयस्थल मेश्रमवराह, कोटडाँडा, गुम्बा आदिले यहाँको गरिमा र महत्वलाई बढाएका छन् ।
पोखराबाट विरेठाँटीहुँदै आउने पर्यटक यही गाउँ भएर छोम्रोङ, हिमालयलगायतका स्थान हुँदै पदयात्रा गरी माछापुच्छ्रे आधार शिविर हुँदै अन्नपूर्ण आधार शिविरसम्म पुग्दछन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र इलाका कार्यालय, घान्द्रुकका पर्यटन सहायक सुदीप सुवेदीका अनुसार सन् २०१७ मा ६३ हजार ५०० बाह्य पर्यटक घान्द्रुक भएर पदयात्रा गरेका छन्।
सन् २०१८ यता हालसम्म २८ हजार ७३९ जना विदेशी पदयात्री घान्द्रुक क्षेत्रमा आएको उनले जानकारी दिए। पदयात्राका क्रममा आउने पर्यटक घान्द्रुक गाउँको प्राकृतिक सुन्दरताको अवलोकनमा रमाउने गरेको अर्का स्थानीयवासी एवं पर्यटक पथप्रदर्शक जगनबहादुर गुरूङले बताए।
पछिल्ला समयमा सिमेन्टका संरचना बनाउन घान्द्रुकवासीका लागि बाध्यताजस्तै भएको बताउँदै उनले काठ तथा ढुंगाको अभावका साथै काठका संरचना चाँडै नै धुल्याहा लाग्नेजस्ता समस्याले पनि सर्वसाधारण सिमेन्टका संरचनातर्फ लोभिएको उल्लेख गरे।
‘पछिल्लो समयमा पर्यटकले हेर्नका लागि पुरानो संरचना चाहे पनि बस्न भने आधुनिक संरचना नै रुचाउने गरेका छन्,’ उनले भने, ‘पर्यटकको सुविधालाई दृष्टिगत गरी पनि आधुनिक संरचना निर्माण हुने क्रम बढेको हो।’
उनका अनुसार पछिल्ला वर्षमा सिमेन्टको प्रयोगबाट घर बन्ने क्रम बढे पनि परम्परागत रुपमा निर्माण भएका लगभग १२० घर स्थानीयले मर्मत सम्हार गरी बस्न लायक बनाएका छन्।
परम्परागत घर निर्माणका लागि काठको अभाव पनि समस्याका रुपमा रहेको अर्का स्थानीयवासी एवं रोधी क्लब घान्द्रुकका अध्यक्ष पूर्ण गुरुङले बताए।
पछिल्ला समयमा देशको शान्तिपूर्ण अवस्था, सुविधा सम्पन्न होटल, सञ्चार सुविधाको विस्तार आदिका कारण पर्यटक आउने क्रममा उत्साहजनक वृद्धि भएको उनले बताए।
गुरूङ बस्तीका साथै यहाँका कला, संस्कृति, जीवनशैली, हिमशृंखला, सूर्योदय, वरपरका लालीगुराँसको जंगल, एकान्त वातावरण आदिले गर्दा यस क्षेत्रको पदयात्राका लागि पर्यटक लोभिने गरेको उनको भनाइ छ।
‘परम्परागत संरचना पनि यहाँका महत्वपूर्ण आकर्षण हुन्,’ उनले भने, ‘मौलिकतालाई सकेसम्म जोगाउँदै नयाँ संरचना निर्माण गर्नु आवश्यक छ।’ रासस