लमजुङको बेंसीसहर नगरपालिका–३ काउलेपानी घरबास(होमस्टे) मा पर्यटक वृद्धि हुन थालेको छ।
कोभिड-१९ का कारण गत चैत ११ गतेबाट बन्द भएको सो घरबास यही फागुन १ गतेदेखि सञ्चालनमा आएको थियो।
कोरोना कहर झण्डै ११ महिना सुनसान रहेको यहाँको होमस्टेमा पर्यटक आउन थालेसँगै पहिलाकै लयमा गति लिन थालेको छ। समुद्री सतहदेखि एक हजार ६०० मिटर उचाइमा रहेको यस होमस्टेमा यतिबेला पर्यटकको रोजाइमा पर्न थालेको छ।
पर्यटकलाई खुला भएकै दिनबाट दैनिक ३०/३५ न्यूनतम पर्यटकको आगमन भइरहेको काउलेपानी पर्यटन विकास समितिका सचिव कविन्द्र गुरूङले जानकारी दिए।
उनले भने, ‘शुक्रबार, शनिबार तथा बिदाको दिनमा भने १०० देखि २०० सम्म पर्यटक आउन थालेका छन्।’
विस्तारै पर्यटक आगमन हुँदै दैनिक ३००/४०० पर्यटक आउने अपेक्षामा रहेको उक्त समितिले जनाएको छ।
समितिका अनुसार यस होमस्टेमा आएको पर्यटकलाई अनिवार्य मास्क, स्यानिटाइजर लगायतका सुरक्षा मापदण्ड अपनाउन लगाएको छ भने होमस्टे सञ्चालकले पनि सोही मापदण्ड पालना गर्दै आएका छन्।
कोभिडका कारणले जिल्लामा खुला गरिएका अधिकांश होमस्टेमा पर्यटकलाई स्वागत तथा बिदाइ कार्यक्रम गरेका छैनन्।
यहाँ भने पर्यटकलाई स्वागत तथा बिदाइ विगतकै जसरी गर्न थालिएको छ।
त्यस्तै, गाउँमा आएका पर्यटकलाई फूलमाला, सेतो टीका (अक्षता) ले स्वागत गर्दै सुस्वास्थ्यको कामनासहित रक्षा धागो बाँधिदिने, लोकल रक्सी तीनपटक गाउँलेले पर्यटकलाई खुवाउने गर्दछन्।
अनि स्वागत गीत र नृत्य प्रस्तुत गर्ने, गाउँमै उब्जाएको मकै, भटमास, कोदोको सेलरोटी, गुन्द्रुकको अचार खाजा खुवाउने गरेको होमस्टे सञ्चालक लक्ष्मी श्रेष्ठले बताइन्।
स्थानीयबासीले बेलुकी खाना खानुअघि स्थानीय परम्परागत गीत, नाच प्रस्तुत र पर्यटकलाई पनि सँगसँगै नचाउने पनि गर्दछन्। यस होमस्टेमा पर्यटकलाई गुरूङको लोपोन्मुख घाटु, घ्याब्रे नाच, कृष्ण चरित्र लगायतका विभिन्न सांस्कृतिक नृत्यहरू प्रस्तुत गर्ने उनीहरूको भनाइ छ।
त्यस्तै, पर्यटकलाई स्वागत गर्दै विभिन्न सांस्कृतिक नृत्य प्रस्तुतपछि रातिको खानामा स्थानीय जातको चामलको भात, लोकल कुखुरा वा खसी, बोकाको मासु, गाउँमै फलाएको सागपात, आलु आदिको तरकारी, अचार र रुचाउनेलाई कोदोको सोमरस (रक्सी) पनि उपलब्ध गराउँदछन्।
त्यस्तै, छुट्टिने बेलामा बिदाइ गीत गाउँदै बाटोमा पर्यटकलाई खाजाका लागि कोसेलीस्वरूप सेलरोटी, अचार र कोदोको रक्सी उपहार दिएर पठाउने साह्रै मौलिक परम्पराले पनि यहाँ आउने पर्यटकको मन लोभ्याउँछ।
सन् २०११ बाट सञ्चालनमा आएको यस होमस्टेमा १५ घरमा होमस्टेको व्यवस्था गरिएको छ।
यहाँ गुरूङ, नेवार र भुजेल समुदायको होमस्टे छ।
त्यस्तै, ती सबै होमस्टेमा गरी ८८ पर्यटक एकैरातमा सुत्न मिल्ने समितिका सचिव गुरूङले जानकारी दिए।
यहाँ विगतमा पर्यटकीय याममा पर्यटकले गाउँ नै ढाक्ने गर्दथ्यो। यहाँबाट पर्यटकले लमजुङ हिमाल, बौद्ध हिमाल, माछापुच्छ्रे, अन्नपूर्ण साउथ, अन्नपूर्ण दोस्रोदेखि चौथो, मनास्लु दक्षिण, मनास्लु, च्ये, डाक्टर हर्कपिकलगायत एक दर्जन हिमशृङ्खला देख्न सकिन्छ।
साथै शाहवंशीय राजाको उद्गमथलो मानिने लमजुङ दरबार, सूर्योदयको मनमोहक दृश्य देख्न सकिन्छ।
यहाँ पूजा तथा दर्जन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ।
त्यस्तै, गाउँमा रहेको काउलेपानी मन्दिरको अवलोकन तथा दर्शन गर्न सकिन्छ। यी स्थान तथा ऐतिहासिकस्थलको अवलोकन गर्नका लागि समेत यहाँ पर्यटक आउने गरेको होमस्टे सञ्चालकको भनाइ छ।
बेंसीसहर बजारदेखि दक्षिण–पश्चिमतर्फ सात किलोमिटर टाढा रहेको काउलेपानी पुग्न सवारी साधनमा ४५ मिनेट र पैदलयात्रामा साढे एक घण्टा समय लाग्छ।
पैदल यात्रुका लागि सिँढी निर्माण गरिएको छ। त्यस्तै सवारीसाधनमा जाने पर्यटकका लागि सडकको स्तरोन्नति गरिएको छ। यहाँ यतिबेला विभिन्न जिल्लाबाट पर्यटकको आगमन भइरहेको उक्त समितिले जनाएको छ।
ऐतिहासिकस्थल गाउँसहरको सो होमस्टेलाई सन् २०१४ मा सरकारले नेपालकै उत्कृष्ट होमस्टे घोषणा गरेको थियो।
यसपछि काउलेपानीमा बाह्य तथा आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुँदै गएको समितिले जनाएको छ।
सन् २०१६ मै काउलेपानीलाई खाद्यान्न तथा गुण नियन्त्रण विभाग मन्त्रालयले स्वच्छ र अर्ग्यानिक भएको जनाउँदै रु १० हजार रकमसहित पुरस्कार प्रदान गरेको थियो।
यस्तै २०१६ मै स्वाथ्य तथा जनसङ्ख्या वातावरण मन्त्रालयले काउलेपानीको अध्ययन गरी नेपालकै पहिलो वातावरणमैत्री होमस्टे घोषणासमेत गरिसकेको छ। रासस