गोरखा जिल्लाको धार्चे गाउँपालिकामा रहेको गुम्दालाई ‘गुफा गाउँ’का रुपमा ब्राण्डिङ गरिने भएको छ।
गाउँमा गुफैगुफा भएकाले ‘गुफा गाउँ’ का रूपमा चिनाउने अभियान सुरु गरिएको गाउँपालिका–५ का वडाध्यक्ष तुलबहादुर गुरुङले बताए।
यसैक्रममा धार्चे मनास्लु पर्यटन विकास समितिसँगको सहकार्यमा गाउँपालिकाले भर्खरै गुम्दा क्षेत्रका दुई वटा गुफाको अध्ययन गरेको छ।
काठमाडौंबाट गुफाविद्हरू दविन्द्र तामाङ, भक्त विश्वकर्मा र सुरेन्द्र रानाको समूहलाई याम गाउँमा झिकाएर सातकन्या गुफा र भोटेलामा गुफाको अध्ययन गरिएको समितिका अध्यक्ष साने गुरुङले बताए।
‘दुवै गुफामा पर्यटकीय सम्भावना देखियो’, उनले भने, ‘अब हामी गाउँका अरू गुफाको पनि अध्ययन गरेर गुम्दा क्षेत्रलाई गुफा गाउँका रुपमा प्रचार गर्नेछौं।’
गुफाविद् तामाङकाअनुसार १८ सय मिटर उचाईमा रहेको सातकन्या गुफा साहसिक छ। गुफा भित्र ३० मिटर लामो ठूलो कोठा पनि छ। करिब १५ मिटर अग्लो रहेको कोठा कतै ५, कतै ३ र कतै ४ मिटर चौंडा छ।
गुफाको मुखबाट अलिकति प्रवेश गरेपछि ओर्लन सजिलो छैन। ‘त्यहाँ कि त डोरी टाँग्नु पर्छ कि भर्याङ राख्नुपर्छ’, उनले भने।
सातकन्या गुफा सडकसँगै जोडिएको छ भने डाँडामा रहेको भोटेलामा गुफा पुग्न सडकबाट १५ मिनेट उकालोमा यात्रा गर्नुपर्छ।
वर्षे पानी पसेर गुफाभित्र समस्या भएकाले पानीको राम्रो निकासको व्यवस्था मिलाउनुपर्ने उनको सुझाब छ। साथै गुफाभित्र बोतलजन्य फोहोर पनि थुप्रिएको छ। यसलाई सफा गरेर पर्यटन प्रोडक्टका रुपमा विकास गर्न सकिन्छ।
त्यसैगरि १८ सय ५० मिटर उचाईमा रहेको भोटेलामा गुफा पनि ३० मिटर लामो भएको गुफाविद् तामाङले बताए। गुफा प्रवेशद्वार दुई वटा छन्। प्रवेश गर्ने र निस्कने मुख साँगुरो छ। गुफाभित्र २५ मिटर लामो एउटा कोठा पनि छ। यसको चौंडाई कतै २ मिटर, कतै ३ मिटर र कतै ४ मिटर छ।
भोटेलामा गुफामा ससाना ढुङ्गा खस्न आँटेका छन्। त्यसैले अनुभवी गाइडको सहयोगमा साबधानीपूर्वक घुम्नु पर्ने गुफाविद् तामाङको सुझाब छ।
साविकका ६ वटा गाविसहरू केरौँजा, उहिया, लाप्राक, गुम्दा, काशिगाउँ र लापुलाई मिलाएर बनाइएको गाउँपालिकाको गुम्दामा आधा दर्जनभन्दा बढी गुफा छन्।
गाउँका सातकन्या, किस्पा, तरङपाखा, मानकाङ, उराटु र कोकारनाङ र भोटेलामा गुफामा पर्यटकीय सम्भावना देखिएको वडाध्यक्ष गुरुङले जानकारी दिएका छन्।
गोरखा जिल्लामै पर्यटनलाई प्राथमिकता दिएर अध्ययन एवं अनुसन्धानमा समर्पित गाउँपालिकाका रुपमा धार्चेले चिनारी बनाएको छ। ‘प्रकृति र संस्कृतिको खुल्ला संग्रहालय–धार्चे’ भन्ने मुल नारा बोकेर गाउँपालिका अघि बढीरहेको छ।
गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङको अग्रसरतामा क्यानोनिङ एक्सप्लोरेसन, साइकल ट्रेल निर्माण, चट्टान आरोहणको अध्ययन, हनी हन्टिङ प्रवर्धन, र्याफ्टिङ उडानको सम्भावना अध्ययन, इपिसेन्टर ट्रेल निर्माण, सगरमाथा आरोही पार्क निमार्ण, प्याराग्लाइडिङ उडान परीक्षण, भिसी हिलको प्रवद्र्धन, निसराङ छो पदमार्ग प्रवद्र्धन, सामुदायिक होमस्टे सञ्चालनलगायतका काम हुँदै आएका छन्।
निकट भविश्यमै एनआरएन भिलेज (लाप्राकको नमुना वस्ती) मा जिप लाइन निर्माण गरिने उनले बताए।
यसरी समग्र धार्चे गाउँपालिकालाई पर्यटनधाम बनाउने अभियान चलेको छ। गाउँपालिकाको लापु क्षेत्रमा घर भई काठमाडौंमा ‘ग्रेट माउन्टेन होलिडेज्’ नामक ट्रेकिङ कम्पनी चलाउँदै आएका गणेश गुरुङ भन्छन्, ‘पर्यटन नै धार्चेको सम्मृद्धिको आधार बन्न सक्छ।’
गुफासहित गुम्दा क्षेत्रको अध्ययन यात्रा गर्न गुम्दा गाउँसम्म सडक यात्रा गर्न सकिन्छ। पृथ्वीराजमार्गको आँबुखैरेनीबाट गोरखा बजार जाने सडकको १२ किलो भन्ने ठाउँ हुँदै बारपाक भएर गुम्दा पुग्न सकिन्छ। १२ किलोबाट गुम्दा ७५ किलोमिटर दूरीमा पर्दछ भने काठमाडौं–१२ किलोको दूरी १२८ किलोमिटर पर्छ।
सम्पर्कः
साने गुरुङ–९७४६०५३३२३
अध्यक्ष, धार्चे मनास्लु पर्यटन विकास समिति
तुलबहादुर गुरुङ–९८५६०७३७७१
वडाध्यक्ष, धार्चे गाउँपालिका–५
गणेश गुरुङ–९८४९४६६८७७
सञ्चालक, ग्रेट माउन्टेन होलिडेज् कम्पनी