गोरखाको धार्चेडाँडा प्रकृतिको अलौकिक बरदान हो। प्रकृति र अध्यात्मको दोभान। रंगविरंगका गुराँस फुलेकाले यतिबेला सुकुमारी बनेको छ धार्चे। शान्त, शितल र रंगीन बगैंचा। साहसीको जिल्ला गोरखाका तीन गाउँपालिका बारपाक सुलिकोट, धार्चे र आरूघाटको सिमामा उभिएको धार्चेडाँडा (३,२२० मिटर)।
डाँडामा उभिँदा तन र मनमा ऊर्जा बढ्छ। आकाश खुलेका बेला डाँडाबाट चारैतिर हिमाल देखिन्छन्। एउटा होइन, दुइटा होइन, दर्जनौं हिमाल। गणेश हिमाल, मनास्लु हिमाल, लाङटाङ र अन्नपूर्णलगायत हिमालको लर्कन। चरा, पुतली र जंगली जनावर अध्ययनका लागि समेत धार्चे क्षेत्र उपयुक्त छ। थरिथरिका जडीबुटीको भण्डार पनि हो धार्चे लेक।
प्राकृतिक र आध्यात्मिक तिर्थ मानिएको गोरखाको धार्चेडाँडालाई ‘हिल स्टेशन’ का रूपमा विकास गर्न सकिन्छ। डाँडाबाट हिमालको लर्कन देखिन्छ। त्यस्तै सुम्बेखर्कको पाटनले खप्तडको झल्को दिन्छ।
प्राकृतिक रूपमा सुन्दर त छँदैछ आध्यात्मिक हिसाबले समेत धार्चेको ठूलो महत्व छ। धार्चेको काखमा बसोबास गर्ने बोन धर्माबलम्बीहरू यसलाई देवताका रुपमा पूज्छन्। यहाँ गाउँलेको आस्था केन्द्रस्वरुप ढुङ्गाबाट बनेका कुकर र न्यूँसेन छन्। साथै वनझाँक्रीले बनाएको एउटा पुल पनि छ जसलाई ‘इस चाम’ भनिन्छ।
धार्चेडाँडामा अनौठो गुफा पनि छ जहाँ ३०० जना अटाउँछन्। यसको आफ्नै किंवदन्ती छ। धार्चेको उकालो चढ्ने बेलामा गाउँलेहरूले पूजा गर्ने चलन पनि छ।
हिन्दू धर्माबलम्बीहरूले समेत धार्चेलाई पवित्र भूमिका रुपमा पूज्छन्। उहिलेउहिले यहाँ विभिन्न ठाउँबाट योगी, साधु सन्त र ऋषिमुनि आएर योग, ध्यान र तपस्या गर्ने गरेको धार्चेको लापु गाउँमा जन्मिहुर्की काठमाडौंमा बसेर ‘ग्रेट माउन्टेन होलिडेज्’ नामक ट्रेकिङ कम्पनी चलाउँदै आएका गणेश गुरूङ बताउँछन्।
धार्चेमा उभिँदा तन र मन रिचार्ज हुन्छ। गुराँसको बैंशले मोहित बनाउँछ। चराको चिरविरले कान रमाउँछ। डाँडामा बसेर योग र ध्यान गर्दा संसारै भुलिन्छ।
तिनै साधुसन्तले डाँडामा शिव मन्दिर बनाएका छन्। १२ वैशाख २०७२ को भुइँचालोले भत्केको मन्दिर नयाँ स्वरुपमा पुननिर्माण गरिएको छ।
धार्चेको टाकुरामा एकै पटक सयौं जना उभिएर चारैतिर नजर डुलाउन सक्छन्। डाँडामा खाना र बास बस्ने कुनै सुविधा छैन। धार्चेको बेस क्याम्प नम्बेमा लाप्राकीका गोठ छन्। त्यहाँ भन्दा माथि सुम्बेखर्कमा धर्मशाला छ। त्यसैले अहिलेका लागि लाप्राकको नमुना बस्तीमा बास बसेर उकालो चढ्नु पर्ने बाध्यता छ। अथवा टेन्ट, सिल्पिङ ब्यागसहित बन्दोबस्तीका सामान बोकेर यात्रा गर्नुपर्छ। बास बस्नका लागि सुम्बेखर्कको सामुदायिक भवन पनि उपयोग गर्न सकिन्छ।
धार्चेडाँडामा चढ्न चारैतिर गोरेटा छन्। गोरखा बाहिरका आन्तरिक पर्यटकका लागि भने लाप्राकको गुप्सी भञ्ज्याङबाट उकालो चढ्नु बेस हुन्छ। किनकि, गुप्सी पाखामा एनआरएनले बनाइदिएको एकै किसिमका करिब ६०० घर अवलोकन गर्न पाइन्छ। भञ्ज्याङबाट करिब ४ घण्टामा धार्चेको टाकुरामै पुगिन्छ।
गुप्सी भञ्ज्याङबाट तीन घण्टा पदयात्रा गरेपछि सुम्बेखर्क पुगिन्छ। त्यहाँका पाटन (चउर) को दृश्यले सुदूरपश्चिमको खप्तडको झल्को दिलाउँछन्। त्यसैले धार्चे गाउँपालिकाका अध्यक्ष सन्तबहादुर गुरुङ (सन्तोष)ले यसलाई ‘मिनि खप्तड’ को उपमा दिएका छन्।
धार्चे गाउँपालिकाले पर्यटकीय विकासमा अगुवाई गर्दै आएको छ। उसले गुप्सीभञ्ज्याङदेखि धार्चेडाँडाको सुम्बेखर्कहुँदै भिरकोट भएर माछाखोला झर्ने १७ किलोमिटर लामो ‘इपिसेण्टर ट्रेल निर्माण’ गरिसकेको छ। साइक्लिङ र पदयात्राका लागि यो मार्ग उपयोगी छ।
धार्चे गाउँपालिकाले यस क्षेत्रको पर्यटकीय विकासमा अगुवाई गर्दै आएको छ। उसले गुप्सी भञ्ज्याङदेखि धार्चेडाँडाको सुम्बेखर्क हुँदै भिरकोट भएर माछाखोला झर्ने १७ किलोमिटर लामो ‘इपिसेण्टर ट्रेल’ निर्माण गरिसकेको छ। साइक्लिङ र पदयात्राका लागि यो मार्ग उपयोगी छ।
‘धार्चे हाम्रो शिरको शोभा हो’, गाउँपालिकाका अध्यक्ष गुरुङ भन्छन्, ‘धार्चेसहित समग्र गाउँपालिकालाई हामीले पर्यटनधाम बनाउने अभियान चलाएका छौं। भविश्यमा हाम्रो समृद्धिको आधार नै पर्यटन बन्ने छ।’
समग्रमा धार्चेलाई ‘हिल डिस्टिनेशन’ का रूपमा चम्कन सक्छ। विदेशी पर्यटक त रमाउँछन् नै, यसलाई आन्तरिक पर्यटकको पनि आकर्षण केन्द्र पनि बनाउन सकिन्छ। त्यसका लागि केही काम गरिहाल्नु पर्ने देखिन्छ। नम्बे, सुम्बेखर्क र धार्चेडाँडामा खानेपानी, चर्पी र सामुदायिक होटल आबश्यक देखिन्छ। गुप्सी भञ्ज्याङबाट उकालिने पदमार्ग ठिकै छ।
यतिले पुग्दैन यस क्षेत्रको जैविक विविधताको राम्रो अध्ययन हुनुपर्छ। वन विनासलाई रोक्न र सरसफाईमा ध्यान दिन अहिलेदेखि नै गाउँपालिकाले अभियान चलाई हाल्नुपर्छ।
धार्चे गाउँपालिकाले आफ्ना कर्मचारीलाई वैशाख १ देखि ३ गतेसम्म घुमफिर विदा दियो। तिनलाई धार्चे गाउँपालिकाकै कुनै गाउँबस्ती घुमेर बिदाको सदुपयोग गरि घुमफिर प्रतिवेदन बुझाउन आब्हान गरेको थियो।
गाउँपालिकाले नम्बेसम्म मोटर बाटो खन्ने योजना बनाएको छ। भइरहेको पदमार्ग नमासिने गरि मोटर बाटो खनिने धार्चे गाउँपालिका–४ का वडाध्यक्ष राज गुरूङ बताउँछन्। त्यसो हुन सके राम्रै हुनेछ।
धार्चेको राम्रो प्रचार हुन सकेमा म्याग्दीको पुनहिल, दोलखाको कालिञ्चोक र इलाममा जस्तै आन्तरिक पर्यटकको जमघट गराउन सकिन्छ। त्यसैले आउँदो दशैंको छेको पारेर गाउँपालिकाले डाँडामै धार्चे महोत्सव मनाउने कि?
कसरी पुग्ने: पृथ्वीराजमार्गको आँबुखैरेनीबाट गोरखा बजार जाने सडकको १२ किलो भन्ने ठाउँ हुँदै बारपाक भएर गुप्सी भञ्ज्याङ पुगिन्छ। १२ किलोबाट गुप्सी भञ्ज्याङ ६४ किलोमिटर पर्छ। त्यस्तै काठमाडौं–१२ किलोको दूरी १२८ किलोमिटर। गुप्सी भञ्ज्याङबाट ४ घण्टा पदयात्रामा धार्चेडाँडा पुगिन्छ।
धार्चेका प्रवक्ताधार्चेडाँडामा करिब १०० पटक पुगिसके पर्यटन अभियन्ता साने गुरूङ। उनी पेशाले पर्यटक गाइड हुन्। धार्चेको काख याम गाउँमा जन्मे/हुर्केका गुरूङ २३ वर्षको उमेरमा भरिया बनेर पर्यटन क्षेत्रमा होमिएका थिए।
वैशाख ४ गते उनको जन्म दिन, ५३ वर्षमा प्रवेश गरेका उनलाई शुभकामना!
धार्चे क्षेत्रको प्रचार र विकासमा उनको नाम अग्रस्थानमा आउँछ। उनी ‘धार्चे मनास्लु पर्यटन विकास समिति’ मार्फत काम गर्दै आएका छन्। वि.सं. २०६५ सालमा स्थापना गरिएको संस्थाले लोअर मनास्लु क्षेत्रका साविकका ८ वटा गाविसहरू गुम्दा, लाप्राक, बारपाक, सोरपानी, स्वाँरा, थुमि, उहिया र लापुको पर्यटन विकासमा योगदान पुर्याउँदै आएको छ।
धार्चेडाँडाको मात्र प्रचार र विकास भएर पुग्दैन, सेरोफेरोका गाउँबेसीको पनि विकास हुनुपर्छ। त्यसका लागि उनले ‘धार्चे सर्किट ट्रेल’ को अवधारणा अघि बढाएका छन्। बारपाकबाट लाप्राक, गुम्दा, लापु, मानेखर्क, चित्रेहुँदै सिद्ध गुफासम्म पुग्ने ६ दिनको ट्रेल।
‘हामीले धार्चे सर्किट ट्रेलको विकास गर्न सक्यौं भने धार्चेडाँडाको काखमा बसोबास गर्ने सबै गाउँलेले पर्यटनको फल चाख्न पाउँछन्,’ उनले भने।
त्यसैले सरोकारवाला गाउँपालिकाको ध्यानाकर्षण गर्न नयाँ वर्ष अर्थात् १ वैशाख २०७८ का दिन उनले धार्चेडाँडामा चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका र आरुघाट गाउँपालिकाका अध्यक्षहरूको जमघट गराउने प्रयास गरेका थिए। तर, धार्चे र बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष मात्र उपश्थित भए।
उनीहरूलाई उनले समितिका तर्फबाट विसं २०७२ सालदेखि गरिएका काम र पूर्वाधार विकासमा अब गर्नुपर्ने कामहरूका विषयमा ध्यानाकर्षण गराउन प्रतिवेदन हस्तान्तरण गरे। यसरी धार्चेको प्रवर्द्धनमा उनी प्रतिबद्ध छन्।
बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्ट र उपाध्यक्ष सनमाया गुरुङ सहभागी थिए भने धार्चे गाउँपालिकाका अध्यक्ष सन्तबहादुर गुरूङ (सन्तोष)। त्यसैगरि चुमनुब्री गाउँपालिकाबाट मनास्लु क्षेत्रका पर्यटनविज्ञ एवं नुब्री सांस्कृतिक युवा उत्थान समितिका अध्यक्ष लाक्पाढुण्डुप लामा लगायत सहभागी थिए।
नयाँ वर्ष मनाउन धार्चेडाँडामा करिब १५ सय भन्दा बढी गाउँलेको जमघट थियो। पदमार्ग सुधार भएसँगै करिब ७ वर्ष अघिदेखि धार्चेमा नयाँ बर्ष मनाउनेहरूको चहलपहल बढ्न थालेका हुन्।
साने अथक यात्री हुन्। धार्चेसँगै जोडिएको रूविनाला पदमार्ग प्रवर्द्धनमासमेत उत्तिकै सक्रिय भएकाले स्थानीयबाट ‘रुविनालाका हिउँ चितुवा’ उपमा पाएका छन् उनले। उनको काम प्रेरणादायी छ।
सम्पर्क:
साने गुरुङ–९७४६०५३३२३
अध्यक्ष, धार्चे मनास्लु पर्यटन विकास समिति
राज गुरुङ–९८५६०७३७७१
वडाध्यक्ष, धार्चे गाउँपालिका–४
गणेश गुरुङ–९८४९४६६८७७
सञ्चालक, ग्रेट माउन्टेन होलिडेज्
हेर्नुहोस् तस्बिरहरू