डाँडाको थाप्लोमा बसेर सुकुमारी हिमालसँग आँखा जुधाउँदा मायालुको मुहार भुलिन्छ। आँखामा नाँचिरहन्छन् त केवल गौरीशंकरसहितका दूधे हिमालहरू।
***
दोलखाको यो रमणीय डाँडामा तुरून्तै धर्मशाला, खानेपानी र शौचालय व्यवस्था गर्नुपर्ने देखिन्छ। अनि गैरीगाउँमा सामुदायिक होमस्टे चलाउन सके गाउँलेले पर्यटनको लाभ लिन पाउनेछन्।
दोलखामा धेरै रमणीय डाँडा छन्। ती मध्ये एउटाको नाम हो–हनुमन्तेडाँडा। हनुमन्तेको सन्दर्भ हिन्दू धर्मग्रन्थ रामायणसँग जोडिएको छ। रामायण कथाअनुसार भगवान लक्ष्मणको उपचारका लागि जडीबुटीको खोजीमा निस्केका रामभक्त हुनुमान गौरीशंकर क्षेत्रमा पुगे। जताततै वनजंगल र जडीबुटी भएको भुगोलमा आइपुग्दा उनी रनभुल्ल परे। लक्ष्मणजीको उपचारमा चाहिने सञ्जिवनी पहिल्याउन सकेनन्। त्यसैले उनले सिंगो पहाडै बोकेर लगे।
‘जडीबुटीको खोजीमा हनुमानजी यहाँ आइपुग्नु भएको थियो’, दोलखाका संस्कृतिकर्मी शान्तकृष्ण श्रेष्ठ भन्छन्, ‘उहाँले यही डाँडामा बसेर चारैतिर नियाल्नु भएको र यतैको पहाड बोकेर लैजानु भएको भनाई छ। त्यही बेलादेखि जनबोलीमा यसलाई हनुमन्तेडाँडा भनियो।’
वैत्येश्वर गाउँपालिका र जिरी नगरपालिकाको सिमामा अवस्थित डाँडामा गुफा र हनुमानको मूर्ति छ। आफैं उत्पत्ति भएका हनुमानको मूर्ति केही वर्षअघि चोरी भएको थियो। त्यो ठाउँमा हालै नयाँ मूर्ति स्थापना गरिएको छ। त्यही मूर्ति नजिकै स्यानो गुफामा शिवलिंग छ। शिवलिंगमाथि गाईका थुन आकारको मूर्ति छ जसबाट तपतप जल वर्षा भैरहन्छ।
खोंचमा हनुमान मूर्ति र गुफा छन् भने माथि डाँडाबाट हिमालको लर्कन देखिन्छ। लाङटाङ, गौरीशंकर र नुम्बुर हिमशृंखलाको रूपले लोभ्याउँछ। डाँडाको थाप्लोमा बसेर सुकुमारी हिमालसँग आँखा जुधाउँदा मायालुको मुहार भुलिन्छ। आँखामा नाचिरहन्छन् त केवल गौरीशंकरसहितका दूधे हिमाल।
डाँडामा बसेर योग र ध्यान गर्न सकिन्छ। त्यसैले हनुमन्तेलाई आध्यात्मिक पर्यटनधामका रुपमा विकास गर्नुपर्ने आवश्यकता छ। यसलाई रामायण सर्किटसँग जोड्न संस्कृतिकर्मी श्रेष्ठले पहल गरिरहेका छन्।
धनुषाको जनकपुर विना रामायण सर्किट अपुरो हुन्छ। यसमा दोलखाको भीमेश्वरलाई पनि समाबेश गराउने अभियानमा विगत एक दशकभन्दा लामो समयदेखि क्रियाशील संस्कृतिकर्मी श्रेष्ठले हनुमन्तेसहितका सम्पदालाई पनि जोडेर दोलखाको धार्मिक पर्यटनमा टेवा पुर्याउने सेतोपाटीलाई बताए।
केही दिन अगाडि बागमतिका प्रदेश सभा सदस्यद्वय पशुपति चौलागाईं र विशाल खड्काले खावामा हनुमन्ते प्रवेशद्वार उद्घाटन गरेका थिए। हनुमन्ते क्षेत्रको विकासमा योगदान पुर्याउन उनीहरू प्रतिबद्ध छन्।
यस्तो रमणीय डाँडामा तुरुन्तै धर्मशाला, खानेपानी र शौचालय व्यवस्था गर्नुपर्ने देखिन्छ। साथै हनुमन्तेको संक्षिप्त जानकारी दिने सूचना पाटी पनि चाहिन्छ है!
अहिले खावाभन्दा पर्तिर पर्यटकलाई खाने र बस्ने सुविधा छैन। रसियामा बस्दै आएका गैर आवासीय नेपालीले हनुमन्ते क्षेत्रमा सुविधायुक्त रिसोर्ट बनाउने चर्चा चलेको छ। त्यसो त खावामा पनि सामान्य होटल छन् भने खावाबाट ११ किलोमिटर दूरीको जिरीमा पनि सुविधायुक्त होटल छन्।
जिरीका होटलमा बसेर बिहानै जिप वा मोटरबाइकमा बेस क्याम्प मेहेलेसम्म हुँइकिएर हनुमन्ते उकालिन सकिन्छ। अथवा खावाडाँडामा बास रात बसेर भोलिपल्ट हनुमन्तेमा ‘मर्निङ वाक’ गर्न पनि सकिन्छ।
पर्यटनबाट स्थानीयले प्रत्यक्ष फाइदा लिने हो भने हनुमन्तेमार्गको गैरीगाउँमा सामुदायिक होमस्टे चलाउनु पर्छ। क्षेत्री, शेर्पा र नेवारको बसोबास रहेको गाउँमा होमस्टे पर्यटन फस्टाउन सक्छ। गाउँलेको प्रत्यक्ष लगानीमा होटल खोले पनि हुन्छ।
अब गाउँलेले आफ्नै अगुवाईमा पर्यटन विकास समिति गठन गरेर हनुमन्तेलाई चम्काउनुपर्छ।
पछिल्लो समय ‘पर्यटन प्रवर्धन मञ्च नेपाल’ खोलेर दोलखासहित मुलुकका विभिन्न भूभागको प्रवर्धनमा सक्रिय जिरीका तन्नेरी लिलाराम खड्काले हालै केही पत्रकारलाई हनुमन्ते, गुराँसपार्क, ठूलो नागी र जिरी क्षेत्र घुमाएका थिए। निजी खर्चमा वर्सेनी पत्रकारलाई डुलाएर गृह जिल्ला दोलखाको प्रवर्धनमा योगदान पुर्याउँदै आएका उनको काम प्रशंसनीय छ।
खड्का ‘जाऔं है दोलखा’ अभियानका संयोजक पनि हुन्। औपचारिक रुपमा अभियान सञ्चालन गर्ने तयारी भैरहेका बेला कोरोना महामारीले संसारलाई गाँजेपछि त्यो सम्भव हुन सकेन। कोरोना शान्त भएसँगै विभिन्न कार्यक्रमसहित अभियान अघि बढाउने उनको योजना छ।
‘दोलखामा हनुमन्तेजस्ता महत्वपूर्ण सम्पदा धेरै छन्’, पर्यटन अभियन्ता खड्का भन्छन्, ‘तिनलाई चम्काउन। र, ती ठाउँमा पर्यटक पुर्याउन पहल गर्नु हामी सबै दोलखालीको साझा दायित्व हो।’
अहिले समाज कोरोनाको त्रासमा छ। यो अवस्था सधैं रहने छैन। त्यसैले कोरोनालाई मानव समुदायले पराजित गरेपछि हनुमन्तेसहित जिरी घुम्ने योजना बनाउने कि?
कसरी पुग्नेः काठमाडौं–चरिकोट–खावा १७७ किलोमिटर। खावाबजार–हनुमन्तेडाँडा ३ किलोमिटर । हनुमन्तेको बेस क्याम्प मेहेलेसम्म सडक यात्रा। त्यहाँबाट ६०० मिटर उकालो चढेमा डाँडाको थाप्लोमै पुगिन्छ। खावा बजार–जिरी ११ किलोमिटर।
सम्पर्कः लिलाराम खड्का–९८४९३०३९२०
संयोजक, जाऔं है दोलखा अभियान
थप तस्बिरहरू