बेलायत, सिंगापुर र मलेसियामा जमेर बसेका छोराछोरीले गुप्तबहादुर गुरूङलाई बोलाएका बोलायै छन्। तर, उनको मन जन्मथलो घलेलमै अड्किएको छ। उनी घलेल टोल विकास संस्थाको अध्यक्ष भएर गाउँ विकासमा जुटेका छन्। ‘पढेलेखेका र हुनेखानेहरू कोही विदेशमा त कोही काठमाडौं वा पोखरामा बस्न थाले’, गाउँ फर्कनुको कारण गुप्तबहादुरले सुनाए, ‘त्यसैले गरिब दुःखीको सेवा गर्न र गाउँको विकासमा योगदान पुर्याउन म घलेल फर्केको हुँ। ‘मेरो मरण यही गाउँमा होस्,‘यदि पुर्नजन्म हुन्छ भने मेरै घलेल गाउँमै होस्।’
***
उनको संस्थाले केही नियम बनाएको छ। जस्तो कि साँझ ५ बजे अगाडि गाउँमा रक्सी सेवन गर्न पाइँदैन। कसैले गरेमा एक हजार र बेच्नेले दुई हजार रुपैयाँ जरिवाना तिर्नुपर्छ। त्यस्तै तास खेल्नेसँग २५ सय रुपैयाँ र खेलाउनेबाट ५ हजार रुपैयाँ जरिवाना उठाउँछन्।
वैंशालु उमेर छँदा विदेशमा श्रम, सिप र विवेक खन्याउने प्रायः लाहुरेहरू स्वदेश फर्केपछि सहरी भेकमा बसोबास गर्न रूचाउँछन्। सक्नेले घर बनाउँछन्। अनि त्यतै रमाउँछन्। विकासको किरण नपुगेकाले उनीहरू मन भएर पनि गाउँमा बस्न सक्दैनन्। केही लाहुरे भने जन्मथलो फर्केका छन्। सुख दुःख गाउँमै रमाइरहेका छन्।
यस्तै एक जना लाहुरे हुन्–गुप्तबहादुर गुरुङ। उनी गाउँ फर्केका मात्र होइनन्, गाउँको सामाजिक विकासमा अगुवाई गरिरहेका छन्। छन् त पोखरा बजारमा पनि उनको घर छ। तर, त्यहाँ महिनाको एक हप्ता मात्र विताउँछन्, बाकी तीन हप्ता गाउँमै कर्म गर्छन्।
उनी गाउँको घरमा एक्लै बस्छन्। बिहान र बेलुकी खाना पकाएर खाने समयबाहेक दिनभरी उनी गाउँ विकासकै काममा खटिन्छन्। अगुवाई गर्ने मात्र होइन, आफैं श्रमदान पनि गर्छन्।
उनकी जीवनसाथी दिलमाया पोखरामा बस्छिन्। त्यस्तै एक छोरा र एक छोरीले मलेसियामा व्यापार व्यवसाय गरिरहेका छन्। अर्का एक छोरा सिंगापुर पुलिसमा इन्सपेक्टर छन् भने दुई छोरी बेलायतमा बस्छन्।
‘छोराछोरीहरू बुढेसकालमा किन गाउँमा बस्ने यतै विदेशमा आऊ भन्छन्। तर आफू जन्मेको ठाउँ माया लाउनी’, ६६ वर्षको उमेरमा हिँड्दै गरेका उनी सुनाउँछन्, ‘हातखुट्टा चलुन्जेल म गाउँमै बसेर समाजसेवा गर्नेछु।’
उनी ‘घलेल टोल विकास संस्था’ का अध्यक्ष हुन्। यस संस्थाले गाउँको रितिथिति मिलाउने, विकास निर्माणका काममा सहजीकरण गर्ने र गाउँ विकासका लागि सरकारलाई घच्घच्याउने काम गर्छ।
यतिबेला उनी गोरेटो सुधारमा खटिएका छन्। सरकारले गोरेटोका लागि छुट्टयाएको १० लाख बजेटको काम फत्ते गराउँदैछन्।
विगतमा उनको अगुवाईमा बेंसी खेतमा सिँचाई कुलो बनाउने काम शुभारम्भ गरिएको थियो। काठमाडौंमा ७ पटकसम्म धाएर उनको समूहले करिब साँढे चार करोडको योजना पारेको थियो। धमाधम त्यसको काम भइरहेको छ।
त्यसैगरी गुरू कर्मा लामा, पर्यटनकर्मी राम गुरूङसहितका गाउँलेसँग मिलेर महागुरु गुफाको विकासमा पनि जुटिरहेका छन्। पहिलापहिला ठुल्ठूला लामाले ध्यान तथा तपस्या गरेर सिद्धि प्राप्त गरेको गुफालाई धार्मिक पर्यटनधाम बनाउने काम भैरहेको छ।
उनको अगुवाईमा गाउँमा सामुदायिक भवन पनि बनाइएको छ।
गाउँमा होहल्ला नहोस्, शान्त वातावरण रहोस् भनेर संस्थाले नियमहरू बनाएको छ। जस्तो साँझ ५ बजे अगाडि गाउँमा रक्सी सेवन गर्न पाइँदैन। कसैले सेवन गरेमा एक हजार र बेच्नेले दुई हजार जरीवाना तिर्नुपर्छ। त्यस्तै तास खेल्नेले २५ सय रुपैयाँ र खेलाउनेले ५ हजार रुपैयाँ जरीवाना तिर्नुपर्छ।
‘२५ जना जतिलाई जरीवाना तिरायौं। त्यसपछि जरीवाना तिराउनुपर्ने अवस्था आएको छैन’, सामाजिक अभियन्ता गुरूङले भने, ‘जरीवाना रकमबाट हामीले गाउँमा फोहोर व्यवस्थापन गर्ने डस्टविन राखेका छौं।’
संस्थाले गाउँ सरसफाई गर्ने, जथाभावी गाईबस्तु चराउन नपाउने अर्काको जग्गामा घाँसदाउरा गर्न नपाइनेलगायतका नियम बनाएको छ।
आज गुप्तबहादुरको मात्र होइन, मुलुकभरका गाउँ खाली हुँदैछन्। बेंसी वा सहरी भेकमा बसाइँ सर्ने क्रम तिब्र हुँदै जाँदा गाउँघर खाली भएका हुन्।
‘पढेलेखेका र हुनेखानेहरू कोही विदेशमा त कोही काठमाडौं वा पोखरामा बस्न थाले’, गाउँ फर्कनुको कारण उनले खोले, ‘त्यसैले गरिब दुःखीको सेवा गर्न र गाउँको विकासमा योगदान पुर्याउन म गाउँ फर्केको हुँ।’
उनको गाउँ घलेल गाउँ (१,४५० मिटर) मर्दि हिमाल पदमार्गको प्रवेशद्वार हो। कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं ८ र ९ मा अवस्थित गाउँमा १ सय ११ घर छन्। गुरूङ बाहुल्य गाउँमा विश्वकर्मा, परियार, नेपाली र क्षेत्री समुदायको बसोबास छ।
गाउँका अधिकांश युवा विदेशमा पुगेका छन्। धेरैजसो खाडीमा केही युरोप तथा अमेरिकामा।
घलेल आफैंमा साहसिक र धार्मिक पर्यटनधामका रूपमा चिनिइसकेको छ। गाउँबाट मर्दी, माछापुच्छ्रे र अन्नपूर्ण हिमाल झलमल्ल देखिन्छन्। सूर्योदय र सूर्यास्त हुँदा माछापुच्छ्रे रंगीन बन्छ। तारे बराह, महागुरू गुफा, गुम्बा, मन्दिर, असला माछा, क्यानोनिङ र गुरूङ जीवनशैली यहाँका आकर्षण हुन्।
घलेलमुन्तिर कुदी खोलामा क्यानोनिङ खेल खेलाइन्छ। पोखरा क्यानोनिङ कम्पनीले १२, ९, ७५ र ४५ मिटरका चार वटा झरनामा क्यानोनिङ गराउँछ। गाउँको पुछारमा रहेको मर्दी खोलामा असला माछा पाइन्छ। असलाको स्वाद तिख्खर हुन्छ।
गाउँमा दुई वटा होटल छन् भने ७ घरमा होमस्टे सुविधा छ। यसरी पर्यटनको बाटोमा लम्केको गाउँमा केही काम गर्न बाँकी छ। ‘गाउँमा ल्याइएको खानेपानीका पाइप ठाउँठाउँमा फेर्नुपर्नेछ’, उनले भने।
गाउँ नजिकै मसानघाट व्यवस्थित गर्न पनि बाँकी नै छ। यसका लागि पनि उनले स्थानीय सरकारलाई झक्झकाईरहेका छन्।
पर्यटनको बाटोमा हिँडिरहेको गाउँलाई कोरोना भाइरसले बिथोलेको छ। पर्यटनले लय समातेपछि पर्यटनबाटै गाउँ समृद्ध बन्न सक्छ।
मर्दि पदमार्गको हाइक्याम्पमा गुप्तबहादुर गुरुङ।गुप्तबहादुर उदाहरणीय लाहुरे बनेका छन्। ‘उहाँ हाम्रा लागि उदाहरणीय अभिभावक बन्नु भएको छ’, घलेल गाउँका साहसिक पर्यटनकर्मी राम गुरुङ भन्छन्, ‘उहाँबाट हामीले गाउँप्रेमको सन्देश लिनुपर्छ।’
उमेर ढल्कँदै जाँदा उनी झनझन् तन्नेरी बन्दै छन्। दिनदिनै उकाली ओराली गर्दा फुर्तिला छन्। सन्तोकको जिन्दगी बाँच्दैछन्।
‘मेरो मरण यही गाउँमा होस्’, उनले भावुक हुँदै सुनाए, ‘यदि पुर्नजन्म हुन्छ भने मेरै घलेल गाउँमा होस्।’
लाहुरे जिन्दगी
मर्दि पदयात्रामा पर्यटनकर्मी राम गुरुङ, पर्यटनविज्ञ पवन शाक्य, ट्राभल राइटर सुरेन्द्र राना र समाजसेवी गुप्तबहादुर गुरुङ ।उनी भारतीय सेनाका रिटायर्ड हवल्दार। बुबा वीरमान र आमा पूर्णकुमारीका सन्तान। उनका बुबा बेलायती सेनाका क्याप्टेन थिए।
उनले भारतीय सेना रोज्नुमा कारण छ। तिनताका बेलायती र भारतीय सेनामा काम गर्ने दुबैको तलब सुविधा बराबरी जस्तै थियो। बरू बेलायती सेनामा भर्ति भएको तीन वर्षसम्म बिदा पाइँदैनथ्यो। यता भारतीय सेनामा भने बिदा पाइन्थ्यो। त्यसैले उनी भारतीय सेनामा भर्ति भए।
उनले १८ वर्षको उमेरमा भर्ति भएर २० वर्ष काम गरे। त्यसपछि हङकङमा अढाई वर्ष र जापानमा १४ वर्ष विताए। त्यता हुँदा केही कमाए। उनी वि.सं. २०६९ मा नेपाल फर्के।
त्यसयता घलेल गाउँको विकासमा नेतृत्वदायी भूमिका निवार्ह गरिरहेका छन्। उनी घलेलमै जन्मिए। यतै हुर्किए। गाउँमा कक्षा ५ सम्म पढेपछि पोखरा झरेर कक्षा ९ सम्म पढे उनले।
हिजोभन्दा आज गाउँ सुविधायुक्त हुँदैछ। आशावादी हुने ठाउँ छ। केही लाहुरेले गाउँमै घर बनाउन सुरु गरेका छन्। यसबाट उनी उत्साहित छन्।
‘गाउँले जिन्दगी नै मीठो’, लाहुरे गुप्तबहादुर गुरूङ भन्छन्, ‘यहीँको हावापानीले मोहनी लगायो। बाँचुन्जेल यहीँ बस्छु।’
सम्पर्कः गुप्तबहादुर गुरुङ–९८४६५७३८४७