डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिकामा पर्यटकीय सम्भावना भएका धेरै सम्पदा छन्। खप्तडको प्रवेशद्वार झिग्राना, त्रिवेणीधाम, रानढुङ्गा, मष्टाबण्डाली, साजेन्द्रश्वर, मालिका मन्दिरलगायतका तीर्थ छन्। यिनको दर्शन गरेमा मनोकामना पुरा हुन्छ।
प्रकृति, संस्कृति र अध्यात्मको त्रिवेणीधाम हो डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका। पहाडी थुम्काथुम्की, खोलानाला, वनजंगल र खेतीबारीले सजिएको गाउँपालिका आकर्षक छ।
साविकका खिरसैन, गैरागाउँ, गाजरी, पोखरी, काँडामाण्डौं र सानागाउँ गा.वि.स. तथा बगलेक गा.वि.स.का १ देखि ७ नम्बर वडा मिलाएर नेपाल सरकारले वि.सं २०७३ चैत १ गते पूर्वीचौकी गाउँपालिका बनाएको हो।
यस गाउँपालिकामा क्षेत्री, बाहुन, ठकुरी, सन्यासी, जनजाती र दलित समुदायको बसोबास छ। गाउँलेको मुख्य पेसा कृषि, पशुपालन र वैदेशिक रोजगार हो।
पूर्वीचौकी गाउँपालिकामा पर्यटकीय सम्भावना भएका धेरै सम्पदा छन्। खप्तडको प्रवेशद्वार झिग्राना, त्रिवेणीधाम, रानढुङ्गा, मष्टा बण्डाली, साजेन्द्रश्वर, मालिका मन्दिर लगायतका तीर्थ छन्। यिनको दर्शन गरेमा मनोकामना पुरा हुन्छ।
गाउँपालिकाको वडा नं ५, काँडामाडौंको बटाला गाउँमा मालिका मन्दिर छ। मालिका शक्तिपीठ हुन्। यहाँ कालिका, महालक्ष्मी र सरस्वतीका मूर्ति छन्। मूर्तिको छेउमा कहिल्यै ननिभ्ने अखण्ड दिप पनि छ।
त्यसैगरी वडा नं ६ मा रानढुङ्गा छ। नागजस्तै विशाल ढुङ्गा। नजिकै सहस्रलिंग कुँदिएको छ। देवदेवीले सयर गर्ने पावन भूमिका रूपमा रानढुङ्गा चर्चित छ।
रानढुङ्गाको थुम्को मुनि कुडीगडा ताल छ। पहिलापहिला देवीदेवता यही तालको पानीमा नुहाएर रानढुङ्गामा जान्थे रे!
अर्को धार्मिक सम्पदा हो–त्रिवेणीधाम। तीन वटा नदीहरू चिन्नेगाड, गन्डीगाड र छोलेगाडको संगम नै त्रिवेणीधाम हो। गाउँपालिकाका वडा नं ३, ४ र ५ को संगममा पर्ने त्रिवेणीधाममा शिव मन्दिर, धर्मशाला र शमसान घाट छ।
प्राकृतिक एवं आध्यात्मिक भूमि खप्तडको प्रवेशद्वार झिंग्राना पनि पूर्वीचौकी गाउँपालिकामै पर्छ। वडा नं २ मा अवस्थित झिग्रानाबाट तिर्थालुहरू खप्तड ओहोरदोहोर गर्छन्। खप्तडमा वर्सेनी गंगा दशहरा मेला लाग्छ। मेला भरेमा मोक्ष प्राप्त हुन्छ।
पूर्वीचौकीमा अर्को महत्वपूर्ण मन्दिर छ–मष्टाबण्डाली। मष्टाबण्डाली क्षेत्र महादेवको क्रिडास्थल हो। वडा नं ७ मा रहेको यस मन्दिरमा शिव र विष्णुको पूजा गरिन्छ।
यसैगरि वडा नं १ साजघाटमा साजेन्द्रश्वर मन्दिर छ। राजमार्ग सँगै रहेको मन्दिरभित्र शिवलिंग छ।
पूर्वीचौकी गाउँपालिकामा यस्ता धेरै तीर्थ छन्। अर्को तीर्थ हो–जाज्लाको खाल। वडा नं ७ मा अबस्थित खाल अर्थात् तालको किनारामा भवानी कालिकाको मन्दिर छ। तालको शिरमा रहेको पाटन डेउडा गीत छायाङ्कन स्थलका रुपमा चर्चित बनिसक्यो।
सांस्कृतिक हिसाबले पनि पूर्वीचौकी गाउँपालिका समृद्ध छ। गाउँलेहरू डोट्याली भाषामा कुराकानी गर्छन्। उनीहरू आफ्नै भेषभुषा र जीवनशैलीमा बाँचेका छन्। जात्रापर्व वा शुभकार्यमा भुवा, हुड्केली, पञ्चैबाजा, पुतला र डेउडाको रन्कोले गाउँघर तात्छ। घन्टौंसम्म नाचगान चलिरहन्छ।
यसरी सुन्दर, शान्त र आध्यात्मिक भूमि पूर्वीचौकीका लेकबेंसीमा डुल्दा तन र मनमा ऊर्जा बढ्छ। यो गाउँपालिकाको केन्द्र सानागाउँ पुग्न सजिलै छ। डोटीको सदरमुकाम सिलगढीबाट ३० किलोमिटर दूरीमा पर्दछ सानागाउँ।
सम्पर्क
हरिभक्त साउद–९८५८४८५५५७
सूचना अधिकारी, पूर्वीचौकी गाउँपालिका, डोटी
देवलोक पूर्वीचौकी
गौरवशाली इतिहास, अतुलनीय प्रकृति र अनुपम संस्कृतिको भण्डार नेपालमा पर्यटनको अथाह सम्भावना छ। हाम्रो पूर्वीचौकी गाउँपालिकाको पनि आफ्नै पहिचान छ। पावन भूमि खप्तडको प्रवेशद्वार झिग्राना हाम्रै गाउँपालिकामा पर्दछ भने पुरातात्विक महत्वका मालिका, त्रिवेणीधाम, मण्टाबन्डाली सहितका तीर्थस्थल पनि छन्। त्यस्तै मौलिक जीवनशैली, संस्कृति, कला र परिकारहरूमा समेत हामी धनी छौं।
हामीसँग भएका यी सबै चिजलाई राम्रो ब्रान्डिङ गरी आन्तरिक र बाह्य दुवै खाले पर्यटक लोभ्याउन सक्छौं। त्यसका लागि हामीले विभिन्न कार्यक्रम अघि बढाएका छौं। पर्यटनबाटै समृद्धिका पाइला चाल्न सकिन्छ भन्ने हामीलाई विश्वास छ। त्यसैले हामी पूर्वीचौकीलाई नमुना पर्यटनधाम बनाउँदैछौं। आउनु्होस् हामी सबै हातेमालो गरौं।
समृद्धिको यात्रामा
हाम्रो संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले नेपालको इतिहासमै पहिलो पटक स्थानीय तहलाई धेरै अधिकारसम्पन्न बनाएको छ। भनौं गाउँकार्यपालिका, गाउँसभा हुँदै न्यायिक समितिको व्यवस्थाले स्थानीय सरकारलाई बलियो बनाएको छ।
मैले पनि न्यायिक समितिको संयोजकका हैसियतले न्याय सम्पादन गर्ने काम गरिरहेकी छु। महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएकाहरूरुसँग फिल्डमै रहेर काम गर्ने र गाउँपालिकाको समग्र आर्थिक, सामाजिक विकासमा योगदान पुर्याउने मौका पाएकी छु। जनताले विश्वास गरेर दिएको जिम्मेवारीलाई मन, वचन र कर्मले पूरा गर्न हामी प्रतिबद्ध छौं। आवधिक बजेट, नीति तथा कार्यक्रममार्फत हामीले निर्धारण गरेको समृद्धिको लक्ष्यतर्फ अनवरत अघि बढिरहेका छौं।
थप तस्बिरहरू