कुमारी माछापुच्छ्रेसहितका हिमशृङ्खलाको मुस्कान, गुरुङ संस्कृति, अर्गानिक परिकार र आत्मीय व्यवहारका लागि कास्कीको याङ्जाकोट प्रख्यात छ। त्यसैले लकडाउन खुलेपछि याङ्जाकोट घुम्ने योजना बनाऔं है !
हिमाली सौन्दर्य, गुरूङ संस्कृति र ग्रामीण जीवनशैलीको अनुपम गन्तव्य हो–याङ्जाकोट। मादी गाउँपालिका–३, कास्कीका चार टोलहरू डाँडागाउँ, देउराली, गैरीगाउँ र छापाडाँडालाई समग्रमा याङ्जाकोट (१४७५ मिटर) भनिन्छ। यहाँ गुरुङ, दलित र क्षेत्री समुदायका ३५० घर छन्।
प्राकृतिक र सांस्कृतिक हिसाबले समृद्ध छ गाउँ जहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ र गङ्गापूर्ण हिमालको दृश्य देखिन्छ। गाउँमा झ्याली पोखरी र कोट मन्दिर छन्। वरपरका हरिया डाँडाले पनि लोभ्याउँछन्।
याङ्जाकोट गुरुङ जातिको पुरानो बस्ती हो। ऐतिहासिक भूमि क्होंलसोंथरबाट तमुहरू बसाइँ सर्दै तल झरेपछि याङ्जाकोटमा बसे। तिनताका १ सय २० घरधुरीको बस्ती बसालिएको थियो। त्यसैले आसपासका गाउँलेहरू याङ्जाकोटलाई ६ बीसका नामबाट चिन्दथे।
गुरुङ भाषामा योजक्वै अथवा यौंउजु नासा भनिए पनि खसकरण भएसँगै गाउँलाई याङ्जाकोट भन्न थालियो। कृषिबाली राम्रो उत्पादन हुने याङ्जाकोट अन्न भण्डारका रुपमा परिचित छ।
ढुङ्गाको गारो र ढुङ्गाकै छाना भएका घर। शीतल, शान्त अनि हरियाली गाउँ। गाउँलेहरू हार्दिक, आत्मीय र सहयोगी छन्। गाउँमा पुग्दा ऊर्जा बढ्छ। मनमा शान्ति छाउँछ।
याङ्जाकोट मादी गाउँपालिकाको केन्द्र पनि हो। विकासपथमा लम्किरहेको छ गाउँ। कक्षा १२ सम्मको पढाइ गाउँमै हुन्छ। त्यस्तै बर्थिङ सेन्टरसहित १५ शैयाकोे अस्पताल पनि छ। घरघरमा आधुनिक शौचालय र खानेपानीका धारा छन्।
गाउँमा वि.सं. २०६८ देखि होमस्टे शुभारम्भ गरिएको छ। गुरुङका १० घरमा १५० बेड सुविधा छ। होमस्टेमा मिठो खाना र आत्मीय व्यवहार पाइन्छ। पाहुनाको मागअनुसार साँझ कृष्णचरित्र, सोरठी, घाटु र पञ्चै बाजाको स्वाद चखाइन्छ।
शुद्ध हावा, शुद्ध पानी र अर्गानिक परिकार गाउँका विशेषता। गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपाल, गण्डकी शाखाले ताङतिङ, क्रबुडाँडा र याङ्जाकोट जोडेर होमस्टे ट्रेलका रुपमा ब्राण्डिङ गरेको छ।
याङ्जाकोट भ्रमण गरेर फर्कंदा परिवार, आफन्त र इष्टमित्रका लागि कम्बल, झोला, नारेपा, लोकल कुखुरा, निगुरो, टुसालगायत मौसमी तरकारी कोसेलीका रूपमा लैजान सकिन्छ।
कोट मन्दिर
राणाकालमा पाख्रिकोट, नागिटार, भाचोक, वार्चोक, ताङतिङ, सिक्लेस र याङ्जाकोट गरि ६ गाउँको प्रशासनिक केन्द्र थियो–याङ्जाकोट। गाउँको शिरानमा कोट मन्दिर छ। यो दुर्गा भवानीको मन्दिर विगतमा वरपरका ६ गाउँको मौलो थियो। बडादसैँ र चैतेदसैँमा यहाँ राँगा, बोका र कुखुराको बलि दिइन्छ।
जलजले
हाइकिङका लागि जलजले (२,७०० मिटर) उपयुक्त छ। क्रबुडाँडाको बेस क्याम्प जलजले पुग्न याङ्जाकोटबाट ३ घण्टा पदयात्रा गर्नुपर्छ। यहाँ बसेर ध्यान गर्न सकिन्छ। जङ्गलको बाटोमा चराको चिरबिर सुन्दै पदयात्रा गर्दा जङ्गली जनावर अवलोकन गर्न सकिन्छ। जलजलेको फराकिलो चौरमा मृगलगायत जनावर खेल्छन्।
क्रबुडाँडा
तमु भाषाको ‘क्रबु’को अर्थ हुन्छ अग्लो ठाउँ। गाउँबाट ६ घण्टा पदयात्रामा क्रबुडाँडा (३,१०० मिटर) पुगिन्छ। हिमाल, लालीगुराँस, चराको चिरबिर र लेकाली सौन्दर्यमा रमाउँदै डाँडामा पुगिन्छ। डाँडाबाट अन्नपूर्ण तथा लमजुङ हिमशृङ्खला, सूर्योदय र सूर्यास्तका साथै गामबेसीका दृश्य देखिन्छन्। एक्यापको सहयोगमा दोबाटोबाट जलजले हुँदै क्रबुडाँडा पुग्ने पदमार्ग सुधार गरिएको छ। मादी गाउँपालिका, ३ नं वडा कार्यालयको सहयोगमा याङ्जाकोटदेखि क्रबुसम्म सडक बनाउने योजना छ।
दरबारडाँडा
गाउँबाट डेढ घन्टा पदयात्रामा दरबारडाँडा (२,१०० मिटर) पुगिन्छ। चौबिसे राज्यकालमा यहाँ बसेर राजाले शासन गर्दथे। डाँडामा दरबारका भग्नावशेष छन्। यहाँबाट अन्नपूर्ण हिमशृङ्खलाका साथै रुपाताल, बेगनासताल र फेवातालको दृश्यावलोकन गर्न सकिन्छ। गण्डकी प्रदेश सरकारको सहयोगमा दरबारडाँडा पुग्ने पदमार्ग निर्माण सुरु भएको छ।
छापाडाँडा
गाउँकै एक छेउमा छापाडाँडा (१,५०० मिटर) छ। यहाँ फराकिलो ठाउँ छ, जहाँ टेन्ट टाँगेर बस्न सकिन्छ। डाँडाबाट तलतल हेर्दा कुहिरोको तलाउ देखिन्छ। त्यस्तै आँखै सामुन्ने अन्नपूर्ण हिमशृङ्खला, सूर्योदय र सूर्यास्त देखिन्छ। यहाँबाट प्याराग्लाइडिङ गर्न सकिन्छ। यहाँ लेखनाथ पार्क बनाउने योजना छ।
होमस्टे प्याकेज
याङ्जाकोट होमस्टे प्याकेजको मूल्य ११ सय रुपैयाँ पर्छ। यसमा ब्रेकफास्ट, लन्च, डिनर, खाजा र बेड सुविधा हुन्छ। १० जना भन्दा ठूलो समूह आउँदा पन्चै बाजाले स्वागत गरिन्छ। सानो समूहमा आउनेले पन्चै बाजाको स्वागत लिन थप २ हजार रुपैयाँ तिर्नुपर्छ। त्यस्तै सांस्कृतिक कार्यक्रम प्याकेजको ३ हजार रुपैयाँ पर्छ।
कसरी पुग्ने ?
काठमाडौं–पोखरा २०० कि.मि., बसमा ६ घण्टा अथवा हवाई यात्रा २५ मिनेट। पोखराको अमरसिंहचोकबाट काहुँखोला ट्याक्सीमा ७ मिनेट। काहुँखोलाबाट उत्तरपूर्व १७ कि.मि. दूरीमा पर्दछ याङ्जाकोट। काहुँखोलाबाट बिहान ८ः३०, मध्यान्ह १२ र दिउँसो ३ बजे याङ्जाकोट जाने गाडी छुट्छन्। त्यस्तै याङ्जाकोटबाट बिहान ९, दिउँसो १ र दिउँसो ४ बजे काहुँखोलाका लागि बस छुट्छन्। सार्बजनिक बसमा सजिलै गाउँमा पुग्न सकिन्छ।
सम्पर्क
याङ्जाकोट सामुदायिक होमस्टे
मादी गाउँपालिका–३, कास्की
नारायण गुरुङ–९८५६०६८८३१
रोशन गुरुङ–९८४६८१७०७८