गुफा प्रकृतिको अनौठो सृजना। घुम्लायक सम्पदा। तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेमा यस्तै एउटा गुफा छ जहाँ देवदेवीका आकृति छन्। सयौं चमेराको बास छ। रमाइलो कुरा गुफाभित्रै झरना छ।
सन् २००० मा पर्यटनविज्ञले गुफालाई ‘मिलेनियम केभ’ नामकरण गरिदिएका हुन्। त्यही बेला पृथ्वी राजमार्गको दुलेगौंडाबाट ढोरफिर्दी हुँदै स्याङ्जा निस्कने ‘सहस्राब्दी पदमार्ग’ सुरु भएको थियो। अचेल हिँड्नु पर्ने बाध्यता छैन, सबैतिर मोटर बाटो खुलिसकेको छ।
वास्तवमा फिरफिरे क्षेत्रमा सहस्राब्दी गुफा, पुरानो दरबारको भग्नावशेषलगायत धेरै कुरा छन्। यहाँ चौबीसे राज्यकालका ठकुरी वंशको दरबार, रानी कुवा, टुँडिखेल, कारागार, टक्सार, चौकीलगायत सम्पदाका भग्नावशेष छन्।
हिमाली सौन्दर्यका लागि समेत गाउँ उपयुक्त छ। यहाँबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छे« र लमजुङ हिमाल देखिन्छ।
प्रकृति र इतिहासको दोभान त हुँदै हो, सांस्कृतिक हिसाबले समेत समृद्ध छ यो ठाउँ, जहाँ गुरुङ जीवनशैली र संस्कृतिको सुवास मग्मगाउँछ।
रक गार्डेन अवलोकन र ढोरबराहको दर्शन गरेर फिरफिरे पुग्न सकिन्छ। फिरफिरे क्षेत्रमा तीनओटा सामुदायिक होमस्टे सञ्चालित छन्। विसं २०७४ देखि सञ्चालित ढोर लामा गाउँको होमस्टेका १० घरमा २५ बेड छन्। त्यस्तै २०७५ चैतदेखि सञ्चालित मिलेनियम सामुदायिक होमस्टेका ११ घरमा र घरेडी सामुदायिक होमस्टेका ८ घरमा पाहुना राख्ने सुविधा छ।
प्रत्येक घरमा दुईदुई बेड छन्। होमस्टेमा डिनर, बेड र ब्रेकफास्टको ९०० रुपैयाँ पर्छ।
पाहुनाको मागअनुसार गाउँलेहरू सालैजो र झ्याउरे भाकामा नाचगान गरिन्छ।
मौसमी तरकारी, फलफूल, सिन्की, सिमी, बोडी र लोकल रक्सी फिरफिरे क्षेत्रका कोसेली हुन्।
अचम्मको गुफा, हिमाल र गुरुङ संस्कृति अध्ययन एवं अवलोकन गर्न फिरिफिरे उपयुक्त छ। त्यसैले लकडाउन खुलेपछि फिरफिरे घुमौं है!
कसरी पुग्ने ?
काठमाडौं–दमौली हुँदै दुलेगौंडा १७६ कि.मि., बसमा ५ घन्टा। अथवा काठमाडौं–पोखरा हवाईयात्रा, २५ मिनेट। पोखरा–दुलेगौंडा २६ कि.मि.। दुलेगौंडाबाट २१ किमिमा मिलेनियम गुफा।
सम्पर्क
ढोर लामागाउँ सामुदायिक होमस्टे
उमा गुरुङ–९८२६१००२९८
मिलेनियम सामुदायिक होमस्टे
कोपिला गौतम–९८२५१३११८०
घरेडी सामुदायिक होमस्टे
ठुल्माया गुरुङ–९८०६७४५११९
मोहनी लगाउने फिरफिरे मिलेनियम गुफा प्रकृतिको सुन्दर उपहार हो। गुफा घुम्दा ज्यादै रोमाञ्चक अनुभूति हुन्छ। यहाँ आन्तरिक र बाह्य दुवै खाले पर्यटक रमाउन सक्छन्। मिलेनियम गुफा मात्र होइन, फिरफिरे क्षेत्रको कला, संस्कृति र जीवनशैलीले सबैलाई मोहित बनाउँछ। शुक्लागण्डकी नगरपालिकाले राम्रो युट्युव भिडियो र अरु प्रचारात्मक सामाग्री उत्पादन गरेर प्रचारप्रसारमा जोड दिनु पर्दछ।