नेपालमा सामुदायिक होमस्टे सुविधासहित ग्रामीण पर्यटनको अभ्यास गण्डकी प्रदेशबाट भएको इतिहास छ।
भारतीय सेनाका रिटायर्ड क्याप्टेन रुद्रमान गुरुङको परिकल्पना र अगुवाइमा स्याङ्जाको सिरुबारीलाई वि.सं. २०५४ सालमा मुलुककै पहिलो पर्यटन गाउँ घोषणा गरिएको थियो। त्यसैले सिरुबारी ग्रामीण पर्यटनको पाठशालाका रूपमा चम्किएको छ।
अचेल सिरुबारी गाउँको सिको गर्दै मुलुकभर ग्रामीण पर्यटनको लहर चलेको छ। त्यस्तै एउटा गन्तव्य हो–भुकदेउराली गाउँ।
पोखरा–बागलुङ सडकखण्डको नयाँपुलदेखि उत्तरपश्चिममा पर्दछ भुकदेउराली गाउँ। मोदी गाउँपालिका–१, पर्वतमा पर्ने यो गाउँ (१,७९०मिटर)मा ३८ घरधुरी छन्। यहाँ विशेषतः गुरुङ र दलित समुदायको बसोबास छ।
खानेपानी, सडक र सार्वजनिक शौचालय सहितको नमुना गाउँ भुकदेउरालीमा पर्यटनको प्रशस्तै सम्भावना छ। ग्रामीण जीवनशैली, चमडाँडा, फलाटे, भमरकोट मन्दिर, हनि हण्टिङ, लामकोले गुम्बा, किबुको झरना र गुरुङ संस्कृति यहाँका आकर्षण हुन्।
गाउँबाट अन्नपूर्ण साउथ हिमाल झलमल्ल देखिन्छ। नजिकका डाँडापाखामा चढेमा अन्नपूर्णशृङ्खलाका अन्य हिमाल पनि दर्शन गर्न पाइन्छ। ध्यान र योगका लागि समेत भुकदेउराली उपयुक्त गन्तव्य बन्न सक्छ।
गाउँमा विसं २०७० सालबाट होमस्टे सञ्चालन हुँदै आएकामा वि.सं. २०७५ मङ्सिर २३ गते मोदी गाउँपालिकामा दर्ता गरिएको छ। गुरुङका १० घरमा ६४ जना बास बस्ने सुविधा छ। होमस्टेमा अर्गानिक परिकार पाक्छ। पाहुनालाई भटमास गुन्द्रुक, टिमुर, सिस्नु, ढिँडो आदि खुवाइन्छ।
पाहुनाको मागअनुसार गुरुङ समुदायको ठाडो भाका, सालैजो, घाटुनाच, दमाई जातिको नौमती बाजाले सांस्कृतिक कार्यक्रम देखाइन्छ। ७५० रुपैयाँको होमस्टे प्याकेजमा डिनर, बेड र ब्रेकफास्टको ७५० रुपैयाँ ।
अलैंची, भटमास, टिमुर, लसुन, भाँगो, मह, जंगली च्याउ र मौसमी फलफलु भुकदेउरालीको कोसेली।
कसरी पुग्ने:काठमाडौँ–पोखरा २०० कि.मि., बसमा ६ घन्टा अथवा हवाई यात्रा २५ मिनेट। पोखरा–नयाँपुल ३९ कि.मि., बसमा २ घण्टा। नयाँपुल–भुकदेउराली ११ कि.मि., जिपमा डेढ घण्टा। नयाँपुलबाट छुट्छन् भुकदेउराली पुग्ने जिप।
अर्गानिक भिलेज
भुकदेउराली एकदमै पहारिलो ठाउँ हो। यहाँ बिस्ताराबाटै अन्नपूर्ण हिमालको दर्शन गर्न सकिन्छ। गाउँबाट एक घण्टा उकालो चढेमा अन्नपूर्णको लामो सृङ्खला नै देख्न पाइन्छ। अर्गानिक खाना, गुरुङ संस्कृति र हाइकिङका लागि हाम्रो गाउँ उपयुक्त छ। गाउँमा मन्दिर र गुम्बा पनि छन्। त्यसैले दुई चार दिन यहाँ बसेर आनन्द लिन सकिन्छ।
सम्पर्कः
भुकदेउराली नमुना गाउँ सामुदायिक होमस्टे
भुकदेउराली, पर्वत
टेकबहादुर गुरुङ–९८४६८१०९२९