विज्ञले पर्यटन व्यवसायलाई निर्बाध रूपमा सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेका छन्।
पर्यटन क्षेत्रमा आवद्ध संघ, संगठन तथा यस क्षेत्रका विज्ञले पर्यटन व्यवसाय पूर्ण रुपमा सञ्चालन हुने गरी आवश्यक वातावरण बनाउन सरकारसँग माग गरेका हुन्।
आईतबार काठमाडौंमा नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स (नाटा), होटल एसोसिएशन नेपाल (हान) र नेपाल पर्यटन बोर्ड (एनटीबी) ले संयुक्त पत्रकार सम्मेलन गर्दै नेपालमा पर्यटन व्यवसाय पूर्ण रुपमा खुल्ला गर्न सरकारसँग आग्रह गरेका हुन्।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय घिमिरेले नेपालमा पर्यटन व्यवसायीको मागलाई सम्बोधन गर्दै सरकारले भ्याक्सिनेटेड पर्यटकको भिसा अन अराइभलको व्यवस्था गर्नुपर्ने बताए।
उनले पर्यटन प्रवद्र्धन, विकास र सहजरुपमा सञ्चालन गर्नको लागि सरकारले पर्यटनसम्बन्धी निर्णय लिने हरेक बैठकमा निजी क्षेत्रका व्यवसायीलाई पनि समेट्नु पर्ने बताए।
‘आज हामीले पर्यटन क्षेत्र पूर्ण रुपमा खोल्नुपर्छ भन्ने माग गरिरहेका छौँ, यो धेरै लामो समयदेखि राख्दै आएको माग हो, अब हामीलाई एउटा त्यस्तो सिस्टमको आवश्यकता परेको छ, जहाँ प्राइवेट सेक्टर समावेश गरिनुपर्छ, जस्तो सीसीएमसी छ भने त्यो भित्रको हरेक बैठकमा प्राइवेट सेक्टरलाई, अलि धेरै लगानी भएको व्यक्तिलाई प्रेजेन्टेशन गर्नुपर्छ’,प्रमुख कार्यकारी अधिकृत घिमिरेले भने, ‘हामीले यसअघि पनि धेरै पटक सीसीएमसीलाई ड्राफ्ट पठायौँ तर कहिल्यै त्यसको निचोड निकालेन, यसरी पार लाग्दैन, हाम्रो माग भनेको भ्याक्सिनेटेड पर्यटकलाई आउन दिनुपर्यो र पीसीआर रिपोर्ट नेगेटिभ आइ ९६ घण्टा ननाघेका पर्यटकहरुलाई क्वारेन्टाइनमा राख्नुभएन।’
कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले विगत डेढ वर्षदेखि कोरोनाका कारण बन्द रहेको पर्यटन व्यवसायलाई चलायमान बनाउन पर्यटकहरु भित्राउनुपर्ने बताए। उनले सरकारले पूर्ण कोरोना भ्याक्सिन लगाइसकेका र नेपाल आइपुग्दा ९६ घण्टा ननाघेको पीसीआर नेगेटिभ रिपोर्ट लिएर आउने यात्रीहरुलाई बिना क्वारेन्टाइन र सहज यात्राको वातावरण मिलाइदिनुपर्ने बताए।
‘कोभिड महामारीले गर्दा विगत डेढ वर्षदेखि बन्दाबन्दीमा खुम्चिएको हाम्रो समाज र अर्थतन्त्रलाई सुरक्षाका लागि उपायहरु अपनाउँदै पर्यटन व्यवसाय चलायमान बनाउनुपर्छ, कोरोना भ्याक्सिन लगाइसकेका पर्यटकहरुलाई भिजा अन अराइभलको व्यवस्था सरकारले गर्नुपर्छ र नेपाल आइपुग्दा ९६ घण्टा ननाघेको पीसीआर नेगेटिभ रिपोर्ट लिएर आउने यात्रीहरुलाई बिना क्वारेन्टाइन र सहज यात्राको वातावरण मिलाइदिनुपर्छ,’ पूर्व प्रमुख कार्यकारी अधिकृत जोशीले भने।
उनले पर्यटन उद्योगलाई बचाउन र फेरि लयमा फर्काउनका लागि सरकारले आवश्यक कदम चाल्नुपर्ने बेला भइसकेको बताए। जोशीले नेपालको पर्यटनमा कार्यरत अधिकांश सेवा प्रदायक पर्यटनकर्मी र मुख्य गन्तव्यका स्थानीय समुदायहरुले पनि पूर्ण मात्राको भ्याक्सिन लगाइसकेकोले यस सम्बन्धमा सकारात्मक सन्देश फैलाउन ट्राभल एडभाइजरुी जारी गर्नुपर्ने बताए।
नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा) का अध्यक्ष अच्युत गुरागाईंले सीसीएमसीले व्यावसायीलाई हाउगुजी बनाएको बताए। उनले त्यहाँ बस्नेहरुले विभिन्न स्वार्थले गर्दा पर्यटन व्यवसायीहरु मारमा परिरहेको आरोप लगाए। अध्यक्ष गुरागाईंले अब पनि पर्यटन व्यावसाय चल्न नदिए सडक र सिंहदरबार घेर्ने चेतावनी दिए।
‘हामीले छिमेकी देश भारतकै उदाहरण दिँदा पनि अहिले त्यहाँ आन्तरिक पर्यटकहरुलाई कतै रोकिँदैन, धेरै ठाउँमा भ्याक्सिनेटेडहरुलाई आवतजावत गर्न दिइएको अवस्था छ, हाम्रो आजको माग भनेको पनि भ्याक्सिनेटेड पर्यटकहरुलाई एयरपोर्टबाट अन अराइभल भिजा दिनुपर्यो, साथै पर्यटन व्यवसायीहरुलाई सीसीएमसीले हाउगुजी बनाएको छ, त्यो हाउगुजि भित्र पस्नेहरुको विभिन्न स्वार्थ छ’, अध्यक्ष गुरागाईंले भने, ‘पोलिटिकल पार्टीका र्याली, झगडा, सडक आन्दोलन हुँदा कोभिड नसर्ने? हेल्थ प्रोटोकल पालना गरेर नेपाल आउँछौँ भन्दा बन्देज लगाउने ? यदि अब पनि पर्यटन व्यवसाय पूर्ण रुपमा खुलाइएन भने म यहाँबाटै पर्यटन व्यवसायीहरुलाई आग्रह गर्दछु कि, हामीले सडक, सिंहदरवार र हरेक मन्त्रालय घेर्नुपर्छ, आउनुहोला।’
त्यस्तै होटल एसोसिएशन नेपाल (हान) की अध्यक्ष सृजना राणाले सरकारले कोरोनाको महामारी चलिरहे पनि देशको अर्थतन्त्रमा ध्यान दिनुपर्ने बताइन्। उनले पर्यटन व्यवसायीको बाँच्ने आधार भनेकै पर्यटक भएकोले सरकारले यसलाई चासोका साथ पूर्ण रुपमा व्यवसाय सञ्चालन गर्न दिनुपर्ने र भ्याक्सिनेटेड पर्यटकलाई अन अराइभल भिसाको व्यवस्था गर्नुपर्ने बताइन्।
‘कोरोना महामारीको यो सिच्वेशनमा आफ्नो ज्यान जोगाउनु महत्वपूर्ण हुन्छ, तर अर्थतन्त्रलाई पनि उकास्नुपर्छ, सरकारले यो कुरा बिर्सिनु हुँदैन, हामी पर्यटन व्यवसायीहरुको बाच्ने आधार भनेकै पर्यटकहरु हो, त्यसैले सरकारले यसलाई बिर्सिनुभएन, पर्यटन व्यवसायीहरुलाई जति अरु कसैलाई यसको असर परेको छैन, यसमा सरकारले सहजता प्रदान गर्नुपर्छ,’ उनले भनिन्।