ऐतिहासिक महत्व बोकेको म्याग्दी जिल्लाको ताकमकोट क्षेत्र घुम्ने पर्यटकका लागि खाना र बास सुविधा दिलाउन होमस्टे सञ्चालन गरिने भएको छ। धवलागिरी गाउँपालिका–७, काफलडाँडाको देउराली आमा समूहले सामुदायिक होमस्टे सञ्चालनको योजना बनाएको हो।
‘होमस्टे चलाउन हामी इच्छुक छौं’, समूहकी सचिव टीका बुढाथोकीले भनिन्, ‘त्यसैले हामीलाई गाउँपालिकासहितका सरोकारवालाले सहयोग गर्नुपर्यो।’
काफलडाँडामा मगर, क्षेत्री र दलित समुदायका ३५ घर छन्। गाउँमा अर्गानिक परिकार पाक्छ। साथमा मगर संस्कृति अवलोकन गर्न सकिन्छ। यहाँ होमस्टे सञ्चालन भएमा आन्तरिक पर्यटकका साथै गुर्जा भ्याली, धौलागिरि बेस क्याम्प, ढोरपाटन र गुरिल्ला पदमार्गमा यात्रा गर्ने विदेशी पर्यटक समेत लाभान्वित हुनेछन्।
काफलडाँडाबाट ताकमकोटको फेदिसम्म कच्ची मोटर बाटो छ। गाउँबाट हिँडेर कोट मन्दिरमा पुग्न १ घण्टा लाग्छ।
ऐतिहासिक थलो ताकमकोट (२,५०० मिटर)मा मन्दिर छ। मन्दिरभित्र जगन्नाथ र अन्नपूर्णका मूर्ति छन्।
इतिहासअनुसार विसं १२४६ देखि १५४५ सम्म कोटमा बसेर आत्रे गोत्रीय बगाले थापाले राज्य चलाएका थिए। यसरी थुम ताकम राज्यले सेरोफेरोका गाउँमा शासन गथ्र्यो।
पछि विसं १८४२ सम्म समालवंशी मल्लले शासन गरे। विसं १८४३ असोज १४ गते काजी अमरसिंह थापा, योगनारायण मल्ल, दामोदर पाण्डे र जीव शाह नेतृत्वको गोरखाली फौजले ताकमलाई नेपाल राज्यमा गाभेको थियो।
कोट मन्दिर सँगैको भवनमा प्राचीन हतियारहरू ढाल, तरबार, तोप र छेलो राखिएको छ भने बाहिर खुला आकाशमुनि ओदान छ।
मन्दिर निर्माण समितिका अध्यक्ष तेजिन्द्रबहादुर थापाकाअनुसार विसं २०७२ वैशाख १२ को भूकम्पले मन्दिर जीर्ण बनेपछि नयाँ मन्दिर बनाइएको हो। यहाँ विशेषतः बडा दसैं र शनिबार तथा मंगलबार भिड हुन्छ।
गाउँलेले सहयोग उठाएर मन्दिर बनाएका। भर्खरै यहाँ पुरातत्व विभागले पनि एउटा मन्दिर बनाएको छ।
प्राकृतिक हिसाबले समेत ताकमकोट क्षेत्र मनमोहक छ जहाँबाट हिमाल, चारैतिरका गाउँ र नागबेली पहाड देखिन्छ। डाँडाबाट गुर्जा, चुरेन, धौलागिरि, मानापाथीलगायत हिमालको दर्शन पाइन्छ।
पचासको दशकमै स्थापित देउराली आमा समूह वि.सं. २०७२ मा औपचारिक रुपमा दर्ता भएर विकास–निर्माणका काममा समर्पित भएको छ। ज्ञानदेवी मगरको नेतृत्वमा समूहले सामाजिक काम गर्दै आएको छ।
उसले भर्खरै गाउँपालिकाको सहयोगमा सामुदायिक भवन बनाएको छ। गाउँपालिकाको ५ लाख सहयोग र समूहको ६० हजार रुपैयाँमा संरचना ठडिएको छ। यसलाई व्यवस्थित गर्न अझै लाखौं रुपैयाँ आवश्यक देखिन्छ।
समूहमा ३४ सदस्य छन्। उनीहरू महिनाको २० रुपैयाँ संकलन गर्छन र आपसमा लगानी गर्छन्। गाउँमा हुने शुभकार्यहरूमा गरिने नाचगान तथा तिहारमा खेलिने भैलोबाट रकम संकलन गर्छन। त्यो रकम गाउँ विकासमा खर्च गर्छन्।
‘लकडाउनपछि नाचगान गरेर आम्दानी गर्न पाएका छैनौं’, सचिव बुढाथोकीले भनिन्।
समूहले महिला सशक्तिकरणका लागि तालिम, छलफल गर्नुका साथै गाउँ तथा कोटको सरसफाई पनि गर्दै आएको छ। उसले केही दिन अघि तिज विशेष कार्यक्रममा धुमधामसँग नाचगान गरेको थियो।
पश्चिम म्याग्दीमा पर्ने ताकमकोट बेनीबजारबाट ३५ कि.मि. दूरीमा पर्दछ।