विश्वव्यापी कोभिड-१९ को प्रभाव नेपालमा पनि पर्यो। विशेषगरी नेपालको पदयात्रा पर्वतारोहण, होटल एयरलाइन्स मुख्य गरी पर्यटनको एउटा महत्वपूर्ण अभिन्न अंगका रूपमा रहेको पर्यटन उद्योग थला परेको छ। यो उठ्न निकै समय लाग्छ। तर सरकारले समयमै सोच्ने हो भने पहिलेकै अवस्थामा ल्याउन गाह्रो छैन।
शिथिल पर्यटन उद्योगलाई उकास्न नेपाल सरकारले समयमै उचित कदम चाल्नुपर्छ। खासगरी पर्यटन व्यवसायीको अपेक्षा र समयानुकूल सरकारले सहयोग गरे सन् २०२४ सम्ममा नेपाली पर्यटनले लय समात्ने छ।
अझै पनि हाम्रा श्रमिकदेखि व्यवसायीसम्म अप्ठ्यारो स्थितिमा छन्। १७ प्रतिशतभन्दा बढी पर्यटन व्यवसायी व्यवसाय छोडेर पलायन भइसकेका छन्। यो नेपाल र नेपाली पर्यटनका लागि ठूलो नोक्सान हो।
लामो समयसम्म आफ्नो इनर्जी खर्च गरी पर्यटन उद्योगमा गरेको लगानी र समर्पण डुबेको छ। अब पनि नेपाल सरकारले उचित कदम नचाल्ने हो भने स्थिति थप भयाभह हुने पक्का छ।
यसका लागि सरकारले मोनिटरिङ गर्ने र पर्यटन व्यवसायीले नेपाल घुम्नका लागि प्रचार प्रसार गरेर विदेशी नागरिकलाई नेपाल सुरक्षित रहको जानकारी पुर्याउनु आवश्यक छ। रेड जोनमा रहेको नेपाललाई ग्रीन जोनमा ल्याउनेबित्तिकै नेपाली पर्यटनले पुनः फड्को मार्ने निश्चित छ।
यसैले नेपाल सरकारले पर्यटन व्यवसाय र यसमा आश्रित व्यक्तिलाई टिकाउन तत्काल कुनै ठोस निर्णय गर्नु आवश्यक छ। यदि यस्तो नभए नेपाल र नेपालीको मात्र अन्तर्राष्ट्रिय रूपमा नेपालको पदयाात्राबारे बनेको छवि नेम र फेम एकै पटक गुमेर जानेछ। यस्तै अवस्था कायमै रहने हो भने ७० देखि ८० प्रतिशत पर्यटन व्यवसायी पलायन हुनेछन्।
तत्कालको स्थितिमा विमानस्थलका सबै कर्मचारी, वायुसेवा तथा अन्य यातायात क्षेत्रका कर्मचारीले कोरोनाविरूद्ध दुवै डोज खोप लगाइसकेका छन्।
काठमाडौं, पोखरा, चितवन, लुम्बिनी, सगरमाथा क्षेत्र, अन्नपूर्ण क्षेत्र, लाङटाङ, नगरकोट, धुलिखेल, बर्दिया, धरान लगायत पर्यटकीय क्षेत्रका धेरैजसो पर्यटनकर्मीले खोप लगाइसकेका छन्।
मनाङ, मुस्ताङ, खुम्बु, डोल्पा, हुम्ला लगायत पर्वतीय जिल्लाका नागरिकले पनि खोप लगाइरहेका छन्। आगामी असोजसम्म कुल जनसंख्याको करिब ४० प्रतिशत र चैतसम्म खोप लगाउन योग्य सबै नेपालीले खोप पाइसक्ने सरकारले घोषणा गरेको छ।
यो हेर्दा हामीले पनि अब पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्न सकिने अवस्था आएको छ। महामारीले शिथिल अर्थतन्त्रलाई गति दिन यो जरूरी पनि छ।
पर्यटन भनेको वैदेशिक मुद्रा आर्जनमा दोस्रो ठूलो योगदान दिने क्षेत्र हो। विश्व पर्यटन परिषदका अनुसार कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा यो क्षेत्रको करिब ८ प्रतिशत योगदान छ। सन् २०१९ सम्म यो क्षेत्रले १० लाखलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगार दिइरहेको थियो।
महामारीपछिका दिनहरूमा प्राकृतिक गन्तव्य र भीडभाड कम हुने ठाउँमा पर्यटकको प्रमुख आकर्षण रहनेछ। नेपाल त्यस्तै गन्तव्य भएकाले पर्यटकको पहिलो रोजाइ बन्न सक्छ। त्यसैले देशको सामाजिक तथा आर्थिक समृद्धिका लागि पर्यटन पुनरूत्थानमा पहिलो प्राथमिकता दिइनुपर्छ।
खोप लगाइसकेकालाई खोप लगाइसकेकाले सेवा प्रदान गर्न मिल्ने गरी पर्यटकीय गतिविधि उपभोग गर्ने वातावरण बनाउनुपर्नेछ। यो व्यवस्था स्थानीय सरकार, समुदाय तथा सरोकारवालाको समन्वयमा स्थानीय तहमा लागू गर्न सकिन्छ। नेपालले लागू गर्ने भी–टु–भी पर्यटन सेवा विश्वका अन्य देशमा पर्यटन पुनरूत्थान गर्न प्रेरणादायी हुन सक्नेछ।
कोरोनाले थलिएको नेपाली पर्यटन क्षेत्रलाई ट्रयाकमा ल्याउने उपाय व्यवस्थापन, लगानीकर्ता र नीति-निर्माताले बेलैमा बुझ्नुपर्ने हुन्छ। विगतका घटनाक्रमबाट पाठ सिकेर अगाडि बढ्न सक्नु नै अहिलेका लागि महत्वपूर्ण कदम हो।
नेपालमा अबको पर्यटन कस्तो हुने भन्ने विषयमा सेतोपाटीका लागि चन्द्र काफ्लेले ट्रेकिङ एजेन्सिज्, नेपाल (टान) का अध्यक्ष खुम सुवेदीसँग गरेको भिडिओ कुराकानी हेर्नुहोस्।
सम्बन्धित समाचार :
महामारीले शिथिल पर्यटन क्षेत्र उकास्ने ५ उपाय (भिडिओ)