पर्यटकीय सिजनमै पर्यटक नहुँदा पोखराको चमक धुमिल छ। व्यवसायी चिन्तित छन्, पर्यटन मजदुर बेरोजगार बनेको २ वर्ष वितिसकेको छ। कतिपय व्यवसायीले व्यवसाय नै छाडेर अन्यत्र पलायन भइसकेका छन्। कोरोनाको दोस्रो लहर रोक्न आयोजित लकडाउन सकिएपछि व्यवसायीले छलफल थाले, पोखराका पर्यटन व्यवसाय कसरी बचाउने?
व्यवसायीले उपाय निकाले, काठमाडौंस्थित विभिन्न देशका राजदूतलाई पोखरा घुमाउने, नजिकैको आकर्षक रूटमा पदयात्रा गराउने। राजदूतसँगै नेपालस्थित संयुक्त राष्ट्रसंघका प्रमुखदेखि विभिन्न अन्तर्राष्ट्रिय संस्थाका प्रमुखलाई पनि सहभागी गराउने। यो प्रस्ताव पोखराका पर्यटन व्यवसायीले गण्डकी सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बुझाए।
पर्यटकीय सहर पोखरामा विभिन्न देशका राजदूत र विदेशी निकायका प्रमुखलाई घुमाउँदा देशमा मात्र होइन, विदेशमा पनि नेपाल सुरक्षित भएको सन्देश जाने व्यवसायीको विश्वास छ। ‘पोखरा सुरक्षित छ, खुला छ,’ पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराइले भने कोरोनाले थलिएको पर्यटन क्षेत्र उकास्न हामीले सरकारलाई यस्तो प्रस्ताव गरेका हौं।’
व्यवसायीको प्रस्ताव गण्डकी सरकारलाई मनपर्यो। राजदूत, उनका परिवार र विदेशी निकायका प्रमुखलाई पोखरा र आसपासका पदमार्ग घुमाउँदा पर्यटन क्षेत्रलाई चलायमान बनाउन सघाउ पुग्ने विश्वास लियो। त्यसपछि गण्डकी सरकारले परराष्ट्रय मन्त्रालयहुँदै काठमाडौंमा रहेका सबैजसो देशका राजदूतलाई परिवारसहित घुम्न निम्तो पठायो। सँगै विदेशी निकायका प्रमुखलाई पनि।
पर्यटन व्यवसायी र गण्डकी सरकारको प्रयासलाई सार्थक बनाउन नेपाल पर्यटन बोर्डले संयोजनकारी भूमिका खेलेको छ। पाहुनालाई पदमार्गमा घुमाउनेदेखि अन्य व्यवस्थापन बोर्डको गण्डकी कार्यालयले गरेको छ। ‘राजदूतलाई पदयात्रा गराउँदा नेपाल सुरक्षित भएको सन्देश जान सक्छ,’ बोर्डका गण्डकी प्रमुख काशीराज भण्डारीले सेतोपाटीसँग भने, ‘घुम्नका लागि नेपालमा कुनै रोकतोक छैन भनेर पनि हामीले बुझाउनुछ।’
पदयात्रामा जानका लागि आइतबार विभिन्न ११ वटा देशका राजदूत पोखरा ओर्लेका छन्। जसमा युरोपियन युनियन, युनाइटेड अरब इमिरेट्स, कतार, जर्मनी, थाइल्याण्ड, फिनल्याण्ड, श्रीलंका, साउदी अरब, कोरिया, इजिप्टलगायत छन्। यस्तै, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव, संयुक्त राष्ट्र संघका आवासीय प्रमुख, इसिमोडका महानिर्देशक, युएन एडका नेपाल निर्देशक, युएनडिपी, युनेस्को, विश्व खाद्य कार्यक्रम लगायतका नियोगका प्रमुखहरु पदयात्रा जान पोखरा आएका छन्।
पोखरा विमानस्थलमा उनीहरुलाई गण्डकी सरकारका पर्यटन सचिव ज्ञानेन्द्र पौडेल, पर्यटन बोर्ड गण्डकीका प्रमुख काशीराज भण्डारी र पोखराका पर्यटन व्यवसायीले स्वागत गरेका थिए।
पदयात्रामा जान आएका राजदूत तथा कुटनीतिज्ञलाई गण्डकी सरकारले बुद्ध एयरको जहाज चार्टर गरेर पोखरा ल्याएको हो। ४२ औं विश्व पर्यटन दिवसको अवसर पारेर उनीहरुलाई कास्कीको नौडाडादेखि पोखरासम्म पदयात्रा गराउने कार्यक्रम रहेको छ।
नौडाडामा स्थानीयको स्वागतसहित चिया खाएर शुरू हुने पदयात्रा कास्कीकोटहुँदै सराङकोट आएर सकिने योजना छ।
गण्डकीको ‘पर्यटन कुटनीति’
राजदूतदेखि अन्तर्राष्ट्रिय नियोगका प्रमुखलाई पदयात्रा जान बोलाएर गण्डकी सरकारले ‘पर्यटन कुटनीति’ अपनाएको छ। घुम्न आएका युरोपियन युनियनका राजदूत नोना डेप्रेले पोखरा ओर्लिएपछि आइतबार नै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग भेटवार्ता गरिन्।
भेटवार्तामा मुख्यमन्त्री पोखरेलले भुकम्पका बेला युरोपियन युनियनले पुर्याएको योगदान अमुल्य रहेको भन्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिन आग्रह गरे।
मुख्यमन्त्री पोखरेलले नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन र प्रतिस्पर्धात्मक क्षमता बृद्धि, विद्यालय क्षेत्र विकास योजना अन्तर्गत शिक्षा क्षेत्रको सुधार, बहुक्षेत्रीय पोषणमा रहेको सहयोगले नेपालको विकासमा धेरै फड्को मारेको भनाइ राखे। उनले भने, ‘दिगो विकासका लक्ष्य प्राप्तिका लागि युरोपियन युनियनले उपलब्ध गराएको सहयोग हाम्रा लागि अत्यन्त महत्वपूर्ण छन्।’
कोरोना महामारी विरूद्ध विश्वलाई एकजुट बनाउन र स्वास्थ्य उपचार तथा भ्याक्सिनमा सबैको पहुँच पुर्याउन इयुको ठूलो योगदान रहेको भन्दै मुख्यमन्त्री पोखरेलले सहयोगका लागि युरोपियन युनियन र त्यहाँका जनताप्रति आभार व्यक्त गरे।
दिगो विकास लक्ष्य हासिल गर्न एकीकृत प्रादेशिक तथ्यांक तयार पार्ने, स्थानीय तहलाई सूचक तथा प्राथमिकता तय गर्न सघाउने, कमजोर देखिएका क्षेत्रमा सुधारका लागि लगानी गर्नुपर्ने अवस्था रहेको उनले बताए। उनले भने, ‘वातावरणीय सन्तुलन र गरिबी निवारणको साझा मुद्दा पेचिलो बन्दै गएको छ।’
भेटवार्तामा राजदूत नोना डेप्रेले नेपालको संघीयता सुदृढीकरण लगायतका क्षेत्रमा इयुले सहयोग गर्दै आएको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन्।
शासकीय सुधार, न्यायमा पहुँच, कानुनी शासन, मानव अधिकारका क्षेत्रमा समेत आफूहरुले काम गर्दै आएको स्मरण गराइन्। उनले भनिन्, ‘गरिबी निवारण, वहुक्षेत्रीय पोषण कार्यक्रम हाम्रो प्राथमिकतामा छ।’ अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनमा सघाउन इयु तयार रहेको भन्दै राजदूत नोनाले हातहतियारवाहेकका सामग्रीको व्यापार बढाउन सकिने भनाइ राखिन्।
कोभिड १९ विरुद्धको अभियानमा औषधि, उपकरण सहयोग गरेको भन्दै उनले ती सहयोगको प्रभावकारिताका बारेमा इयुले अनुगमन पनि गरिरहेको बताइन्।
यस्तै, मुख्यमन्त्री पोखरेलले संयुक्त राष्ट्रसंघका आवासीय प्रमुख सारा बेसोलो नान्तीसँग पनि आइतबार भेटवार्ता गरेका छन्।
भेटघाटमा संयुक्त राष्ट्रसंघ स्थापना भएदेखि नै नेपाल संलग्न भएको भन्दै शान्ति स्थापनामा नेपालले महत्वपूर्ण योगदान दिएको उनले बताए।
राष्ट्र संघले नेपालमा मानवीय क्रियाकलापका क्षेत्रमा लैंगिक विकास, मानव अधिकार, दीगो विकास लक्ष्य हासिल गर्नका लागि नेपाललाई गरेको सहयोग महत्वपूर्ण रहेको बताउँदै पोखरेलले थपे, ‘सुशासनको प्रत्याभूति, संघीयताको कार्यान्वयन र विकासका कार्यमा हाम्रो ध्यान केन्द्रित भएको छ।’
प्रदेशको सामाजिक आर्थिक अवस्थालाई पुनरुत्थान गर्न सरकार अग्रसर रहेको भन्दै मुख्यमन्त्री पोखरेलले स्वास्थ्य, शिक्षा र समग्र विकास प्रणालीलाई फरक ढंगबाट संबोधन गर्नुपर्ने भनाइ राखे। उद्योग, पर्यटन, कृषि आदि क्षेत्रको पुनरुत्थानका लागि प्रदेश सरकारले योजनाहरु तयार गरिरहेको भन्दै उनले दीगो विकास लक्ष्यलाई आन्तरिकीकरण गरी कार्यान्वयनमा लैजान चुनौती रहेको बताए।
सो अवसरमा संंयुक्त राष्ट्र संघका लागि नेपाल प्रमुख सारा बेसोलो नान्तीले दीगो आर्थिक विकास, प्रदूषणमुक्त रोजगारी (ग्रिन जब) आफूहरुको पहिलो प्राथमिकता रहेको बताइन्। उनले भनिन्, ‘संयुक्त राष्ट्र संघले ५ वर्षका लागि विकास फ्रेमवर्क बनाउँदैछ, प्रदेशले निर्धारण गरेका प्राथमिकतालाई त्यसमा समावेश गरेर हामीले अगाडि बढाउने छौं।’
उनले दीगो विकास लक्ष्य कार्यान्वयन गर्ने, न्यायमा आधारित सामाजिक तथा आर्थिक विकास गर्न राष्ट्र संघले अझै सघाउने प्रतिबद्धता जनाइन्।
पदयात्रामा आएका राजदूत र अन्तर्राष्ट्रिय निकायका प्रमुखको स्वागतमा मुख्यमन्त्री पोखरेलले आइतबार साँझ नै रात्रीभोजको आयोजना गरेका छन्। यस्तै, मंगलबार गण्डकीका पर्यटनमन्त्री मणिभद्र शर्माले पनि पदयात्रामा आएका राजदूत र कुटनीतिज्ञलाई रात्रीभोज आयोजना गरेका छन्। राजदूतलाई पदयात्रामा बोलाएर गण्डकी सरकारका आवश्यकता र धारणा राख्न मौका मिलेको मुख्यमन्त्रीको सचिवालयका एक सदस्यले बताए।
लेकसाइडमा सडक महोत्सब
पर्यटन दिवसकै दिन पोखरामा एक दिने सडक महोत्सव आयोजना गरिएको छ। लेकसाइडको बाराहीचोकदेखि खहरेचोकसम्म सडक महोत्सव आयोजना गरेको रेष्टुरेण्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) ले जनाएको छ। पर्यटकीय गतिविधि बढाएर पर्यटक भित्राउन मिनी सडक महोत्सब आयोजना गरेको रेवानका अध्यक्ष लक्ष्मण बरालले बताए।
सोमबार साँझ ५ बजेदेखि १० बजेसम्म सडक महोत्सब चल्नेछ। महोत्सब चल्ने स्थानमा सवारी साधन चलाउन बन्द गरिनेछ भने सडकमै विभिन्न परिकार खान पाइने व्यवस्था व्यवसायीले मिलाएका छन्। महोत्सबले पोखराको पर्यटन क्षेत्र बचाउन योगदान दिने व्यवसायीको विश्वास छ।
‘पर्यटन क्षेत्रलाई चलायमान बनाउन धेरै ढिला भइसक्यो,’ बरालले भने, ‘धरापमा नजाओस् भनेर अब हामीले सुरक्षित भएर पर्यटकलाई आकर्षित गर्नुपर्छ।’ महोत्सवलाई कोरोना संक्रमबाट सुरक्षित पार्न आवश्यक स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्ने समेत उनले बताए।
महोत्सबमा विभिन्न सास्कृतिक कार्यक्रम, ब्याण्ड कन्सर्ट, हिमाली साँस्कृतिक परिवारको प्रस्तुती, नेवार समुदायको लाखे नाच, पञ्चेबाजा, थारु समुदायको प्रचलित लठ्ठी नाच, गन्धर्व समुदायको सारंगीवादन जस्ता संस्कृतिक कार्यक्रम समेत सडकमै पस्केने योजना छ।
पदयात्रामा आएका राजदूतदेखि अन्तर्राष्ट्रिय निकायका प्रमुखलाई समेत सडक महोत्सबमा सरिक बनाउने योजना रहेको छ।