४२ औं विश्व पर्यटन दिवसको अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने व्यक्ति र संघसंस्थालाई सम्मान गर्ने क्रममा एड्भेन्चर स्पोर्ट्सलाई पनि समेटेको छ।
नेपाल पर्यटन बोर्डमा आयोजना गरिएको कार्यक्रममा एड्भेन्चर स्पोर्ट्सतर्फ द क्लिफ प्रालिकातर्फबाट अध्यक्ष राजु कार्की र वर्ल्ड बाइड एड्भेन्चर प्रालिका तर्फबाट अध्यक्ष केदार बहादुर थापा सम्मानित भएका छन्।
द क्लिफ प्रालिले कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल बनाएर विश्वकै अग्लो स्वीङ र विश्वकै दोस्रो अग्लो बन्जीलगायत स्काई साइक्लिङ, स्काई चेयर, जर्ब बल, हाइ रोप स्टेसनजस्ता साहसिक खेल सन्चालन गरिरहेको छ।
२०७३ सालदेखि निर्माण सुरू गरिएको रिसोर्ट र एड्भेन्चर गतिविधि २०७७ कात्तिक १५ देखि सञ्चालनमा आएको थियो।
वर्ल्ड वाइड एड्भेन्चरले 'धुलिखेल जिपलाइन' नाममा थाक्लेडाँडा धुलिखेलदेखि खावा, पाँचखाल) सम्म नेपालकै पहिलो सुपरम्यान जिपलाइन सञ्चालन गरिरहेको छ।
७० किलोमिटर प्रतिघण्टाको औसत गति रहेको जिपलाइनमा व्यक्तिको तौल, हावाको गति र दिशा अनुसार औसत समय १ मिनेट २० सेकण्ड लाग्छ।
धुलिखेल जिपलाइनमा क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरी ३ प्रकारका जिपलाइन खेल्ने सुविधा छ।
सुपरम्यान र टेन्डम (जोडी) जिपलाइन नेपालमै पहिलो हो।
२०१९ फेब्रुअरी १४ देखि व्यवसायिक सञ्चालनमा आएको जिपलाइनमा हाल ८ कोठासहित सुविधा सम्पन्न रिसोर्ट निर्माण गरिएको छ।
ट्री अप (रूखमाथि नै बसेर खान मिल्ने गरी बनाइएको रेस्टुरेन्ट) पनि बनाइएको छ भने खावास्थित ‘ल्यान्डिङ स्टेसन’मा करिब करिब २० रोपनी क्षेत्रफलमा ८ फरक एड्भेन्चर कोर्ससहित एडभेन्चर पार्क निर्माण गरिएको छ।