भक्तपुरको मध्यपुर थिमी नगरपालिका- ८ बोडेमा रहेको ऐतिहासिक कमलपोखरीले पुनर्जीवन पाएको छ।
तीन वर्षअघिसम्म खेल मैदान रहेको यो पोखरीलाई कित्ताकाट गरेर प्लटिङ गर्ने अन्तिम तयारी भइरहेको बेला भक्तपुर नगरपालिकाको सक्रियतामा पोखरीले जीवन्तता पाएको हो।
पोखरीको जग्गा ब्यक्तिको नाममा गरेर कित्ताकाटसमेत गरि प्लटिङ गर्ने अन्तिम समयमा नगरपालिकाले मुद्दा लडेर पोखरीको स्वरूपमा ल्याएको हो।
पोखरीलाई घडेरीका रूपमा विकास गर्न लागेको अवस्थामा आफैंले मुद्दा जितेर ऐतिहासिक पोखरीलाई पुनर्जिवित गरेको मध्यपुर थिमी नगरपालिका मेयर मदनसुन्दर श्रेष्ठले सेतोपाटीलाई बताए।
‘यो ऐतिहासिक कमल पोखरीमा फुलेको कमलको फूल टिपेर जात्रा पर्वमा चढाउने विगतमा परमपरा थियो। तर भु-माफियाले २०३० सालदेखि नै यो जग्गा आफ्नो नाममा गर्ने योजना बनाएका रहेछन्’, उनले भने, ‘विगतमा यो पोखरी १५ रोपनी नौ आना जग्गामा थियो। हाल पोखरीको जग्गामा बाटो र स्कुल बनेकाले अहिले पोखरीको क्षेत्रफल १२ रोपनी छ।’
कमल पोखरीलाई अहिलेको स्वरूपमा ल्याउन नगरपालिकाले ३ करोड रूपैयाँ खर्च भइसकेको मेयर श्रेष्ठले बताए।
उनका अनुसार यो आर्थिक वर्षमा पनि पोखरी संरक्षणमा ७५ लाख बजेट छुट्टाएको छ।
कमलपोखरी उपभोक्ता समितिका अध्यक्ष विजय प्रजापतिका अनुसार आन्तरिक पर्यटकलाई आकर्षित गर्न अहिले पोखरीमा दुई वटा बोट सञ्चालनमा ल्याइएको छ।
नगरपालिकाले आन्तरिक पर्यटक प्रवर्धनका लागि पोखरी वरिपरी बगैचा तथा पैदल यात्रीका लागि बाटोमा इँटा छाप्ने तयारी गरिरहेको छ।