स्वास्थ समाज निर्माणमा क्रियाशील ‘प्रकृतिप्रेमी समूह’ ले असोज ९ गते शनिबार काठमाडौंको चन्द्रागिरी नगरपालिकामा हाइकिङ गराएको छ।
उसले हसनटारबाट पदयात्रा सुरु गरेर कालुपाँडे समाधीस्थल, मनकामना मन्दिर, इन्द्र दह, स्वीजरल्याण्डपार्क, विन्ध्यवासिनी मन्दिर हुँदै नैकाप भञ्ज्याङसम्म १६ किलोमिटर पदयात्रा गराएको हो।
‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ नारा लेखिएको निलो क्याप लगाएका हाइकर्सहरू उत्साहित थिए। समूहकी कोषाध्यक्ष एवं हाइकिङविज्ञ रामदेवी महर्जनले हाइकिङको नेतृत्व गरेकी थिइन्। भिमढुंगाका पर्यटनकर्मी श्यामबाबु कुँवरले टोलीलाई पथप्रदर्शन गरेका थिए।
पदयात्रीहरू ग्रामीण जनजीवन नियाल्दै भगवती मन्दिर भएर उकालो लागेका थिए। उनीहरू ताप्लेजुङको घुन्सा हवाई दुर्घटनामा परेका संरक्षणविद्हरूको सम्मानमा बनाइएको स्मारक अवलोकन गरेर काजी कालु पाँडेको समाधीस्थल पुगेका थिए। त्यहाँबाट मनकामना मन्दिर दर्शन गरेर इन्द्र दहमा पुगेका हुन्।
दह किनारको सत्तलमा बसेर स्वास्थ्यबर्धक खाजा खाएपछि पदयात्रीहरूबीच अन्तरक्रिया गराइएको थियो। अन्तरक्रियामा हाइकिङविज्ञ महर्जनले प्राकृतिक स्वास्थ्य र निरोगधामका गतिविधिबारे जानकारी गराइन्।
खाना पछि हाइकिङ टोली ओरालो झरेर स्वीजरल्याण्डपार्क, विन्ध्यवासिनी मन्दिर दर्शन गरि नैकाप भञ्ज्याङसम्म पदयात्रा गर्यो।
प्रकृतिप्रेमी समूहले वि.सं. २०६३ चैतदेखि अभियानकै रुपमा हरेक महिनाको चौंथो शनिबार काठमाडौंमा हाइकिङ गराउँदै आएको छ। उसले पछिल्लो समय हरेक महिनाको दोस्रो शनिबार पनि हाइकिङ गराउन थालेको छ। यसकै तेस्रो शृङ्खला चन्द्रागिरीमा गरिएको हो।
समूहले हरेक महिना हाइकिङ गराउनुका साथै उसले बेलाबेलामा बर्षको दुई तीन पटक स्वस्थ अन्तरिक पर्यटनलाई प्रबद्र्धममा सहयोग पुराउदै बहुदिने पदयात्राहरु गराएउँदै आएको छ। यसपालि दशैं तिहारको विचमा पिउँठानको स्वर्गद्धारीमा बहुदिने पदयात्रा गराउँने भएको छ। त्यसैगरी सातदोबाटोस्थित निरोगधामबाट नियमित स्वास्थ्य परामर्श दिँदै आएको छ भने ललितपुरको दलचोकीमा बेलाबेलामा आवासिय सात दिने स्वास्थ्य शिविर पनि सञ्चालन गर्छ।
समूहले महिनाको चौंथो शनिबार गर्दै आएको हाइकिङ यही असोज २३ गते हुनेछ।
आफ्नो स्वास्थ्य आफ्नै हातमा।
देशको भाग्य सबैको हातमा ।