अमेरिकी ब्रान्ड 'जिप फ्लायर'को फ्रेन्चाइज रहेको हाइग्राउण्ड एडभेन्चर प्रालिले 'सुपरम्याम जिपलाइन' खेलको सुरू गरेको छ।
सन् २०१० मा नेपालमै पहिलोपटक जिपलाइनको सुरूआत गरेको हाइग्राउण्डले एक दशकपछि आफ्ना ग्राहकलाई फरक स्वाद दिन 'सुपरम्यान जिपलाइन' सुरू गरेको बताएको छ।
समुद्री सतहदेखि १ हजार ५ सय पचास मिटरको उचाइमा रहेको सराङकोटको टप स्टेसनबाट बटम स्टेसन हेम्जासम्म भर्टिकल ड्रप (भिरालो) ६ सय मिटर रहेको छ। यति धेरै भिरालो भएको जिपलाइन विश्वमै अरू नभएकोले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा 'विश्वकै भिरालो जिपलाइन'का रूपमा दर्ता गर्न आवेदन दिएको कम्पनीका चिफ अपरेटिङ अफिसर दिनेश महर्जनले बताए।
विश्वकै लामोमध्येको उक्त जिपलाइनको १ हजार ८ सय पचास मिटर दूरी सुपरम्यान जिपलाइनमा पार गर्न औषत १ सय चालिस किमी प्रति घण्टाको गतिमा अधिकतम समय १ मिनेट लाग्ने महर्जन बताउँछन्।
पोखराबाट नागबेली बाटो काट्दै करिब ४५ मिनेटको यात्रामा सराङकोटको टुप्पोमा पुग्दै गर्दा दक्षिणमा फेवाताल र पोखरा सहर अनि सराङकोटको शिरबाट उत्तरमा माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमालको अदभूत दृश्यावलोकन गर्ने मौका पाइन्छ।
३५ देखि १२० किलो सम्मका व्यक्तिले खेल्न सक्ने जिपलाइनमा १२ वर्षदेखि माथिका व्यक्तिले खेल्न सक्छन्।
९४ वर्षीय बेलायतकी नागरिक जुन स्कट अहिलेसम्म जिपलाइन गर्ने सबभन्दा जेष्ठ नागरिक रहेको महर्जन बताउँछन्।
हरेक दिन सबै उपकरणको सेफ्टी इन्सपेक्सन गरिने र हरेक महिना मर्मतको काम हुने साथै हरेक वर्ष जिप फ्लायर अमेरिकाका प्राविधिकले सेफ्टी अडिट गर्ने महर्जन बताउँछन्।
सो जिपलाइनमा प्रयोग हुने ट्रली र हार्नेस जिपलाइनको विश्वविख्यात, उत्कृष्ट र सुरक्षित रहेको महर्जन बताउँछन्।
हाइग्राउण्डले प्रयोग गरेको ट्रली, हार्नेस, वायर लगायतको प्रविधि नेपालमा अरू कुनै जिपलाइनमा नभएको महर्जन बताउँछन्।
नेपालीलाई ६ हजार पाँच सय र विदेशीलाई ८ हजार पाँच सय रहेको सुपरम्यान जिपलाइनको फोटो भिडिओ र टिसर्ट प्याकेजको अतिरिक्त १ हजार ५ सय रुपैयाँ रहेको छ।
'अगाडि माछापुच्छ्रेको दृश्यले मोहित पार्दै छ भने तल हेम्जा फाँटको ग्राउण्ड स्टेसन हेर्दा मनै सिरिङ्ग हुन्छ,' महर्जनले भने 'हिमालको चिसो झोकासँगै हुत्तिन पाउनु यहाँको अर्को आकर्षण हो।'
जिपलाइनकै ग्राउन्ड स्टेसन हेम्जामा क्यान्टिलिभर ब्रिजको मोडलमा बनाइएको टावरमा बन्जी गर्न सकिन्छ।
'यो नेपालकै पहिलो टावर बन्जी पनि हो,' महर्जन भने, 'जोडीले सँगै आङ्गालो मारेर बन्जी गर्ने टेन्डम बन्जी पनि नेपालमा हामीले नै सुरू गर्यौं जुन अहिले निकै आकर्षणको केन्द्र रहेको छ।'
जिपलाइन र बन्जी गर्ने ग्राहकलाई पिक एण्ड ड्रपको व्यवस्था पनि कम्पनीले नै गर्नेछ जसको अतिरिक्त शुल्क लाग्दैन। साथै कम्पनीले हेम्जामा छिट्टै विभिन्न एडभेन्चर खेल पनि थप्ने योजना रहेको बताइएको छ।