कोभिड–१९ का कारण बन्द भएको मुलुककै पहिलो पर्यटकीय गाउँ सिरुबारी कात्तिक १२ गते शुक्रबारदेखि पर्यटकका लागि पुनः खुला गरिएको छ। खुला गर्ने घोषणा भएसँगै आइतबारसम्मका लागि पाहुनाको बुकिङ भइसकेको सामुदायिक होमस्टेले जनाएको छ।
आँधीखोला गाउँपालिका–१, स्याङ्जाको गुरुङ बस्तीलाई सिरुबारी (१,६१० मिटर) भनिन्छ। सिरुबारीमा ३९ घर छन्। यहाँका २३ घरमा पर्यटक राखिन्छ जहाँ एकै पटक ७० जना बास बस्न सक्छन्।
गुरूङ जीवनशैली, संस्कृति र आत्मीयताका लागि संसारभर ख्याती कमाएको गाउँ हो–सिरुबारी।
सिरुबारी अर्थात् नेपालको पहिलो पर्यटन गाउँ। होमस्टे पर्यटनको पाठशाला पनि। गाउँमा सामुदायिक जङ्गल, गुम्बा, सङ्ग्रहालय र ग्रामीण पर्यटनका सूत्रधार क्याप्टेन रुद्रमान गुरुङको सालिकलगायत सम्पदा छन्।
सिरुबारीको शिरान देउरालीबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेदेखि लमजुङ हिमालसम्मको लामो लर्कन देखिन्छ।
गोरुजुरे र थुम्रो जुरो (२,०२३ मिटर) बाट झन् राम्रो भ्यु देखिन्छ। डहरे डाँडामा उहिल्यै डहरा ऋषिले तपस्या गरेका थिए। त्यहाँ आश्रम पनि छ ।
क्याप्टेन रूद्रमान नेपालमा सामुदायिक होमस्टेसहित ग्रामीण पर्यटन शुभारम्भ गर्ने अगुवा हुन्। पाहुनालाई होटल वा लजमा होइन, गाउँलेकै भान्छामा खुवाएर गाउँलेकै घरमा बास बसाउने सामुदायिक होमस्टेको अबधारणा उनैले नेपालमा भित्र्याएका हुन्। यसरी चिन्तन र कर्मले उनी ग्रामीण पर्यटनका पिता बने।
सिरुबारीमा विसं २०५४ असोज २२ गतेदेखि पाहुना राख्न थालिएको हो। पछि वि.सं. २०५७ मा यसलाई नेपालकै पहिलो नमुना पर्यटन गाउँ घोषणा गरियो। भारतीय सेनाका रिटायर्ड क्याप्टेन रुद्रमानले जागिरमा छँदै वि.सं २०२५ मा जन्मथलोमा गाउँ पर्यटनको सपना देखेका थिए। पछि उनले वि.सं. २०४८ देखि पर्यटन पूर्वाधार विकासका काम गरेर आफ्नो सपनालाई मूर्त बनाउने अभियान सुरु गरे।
राज्यभन्दा अगाडि नै उनले नेपालमा ग्रामीण पर्यटनको बिउ रोपेर सिरुबारीलाई गाउँ पर्यटनको पाठशालाका रुपमा स्थापित गराउन सफल भए। सिरुबारीमा ग्रामीण पर्यटनको अभ्यास भएको एक दशकभन्दा लामो समयपछि मात्र वि.सं २०६५ मा सरकारले ग्रामीण पर्यटन निर्देशिका जारी गरेको हो।
वि.सं. १९८७ भदौ १२ गते जन्मिएका गाउँ पर्यटनका चिन्तक एवं अगुवा रूद्रमानको वि.सं २०७२ फागुन १५ गते निधन भएको थियो।
पाहुना सत्कार गर्ने सिरुबारीको शैली उदाहरणीय छ। पाहुनालाई गाउँको प्रवेशद्वारबाट फूलमाला र पन्चै बाजाले स्वागत गरेर गुम्बामा दर्शन गराएपछि घरघरमा बाँडेर राखिन्छ। साँझ सांस्कृतिक कार्यक्रम देखाइन्छ।
मिठो खाना र आत्मीय व्यवहार सिरुबारीका विशेषता। दिगो पर्यटनको आधार भनेकै आँखामा आत्मीयता र व्यवहारमा हार्दिकता एवं इमान्दारी हो। सिरुबारीका गाउँलेमा यो अनुभव गर्न सकिन्छ।
होमस्टेमा रात विताउने गरि यात्रा गर्दा पहिल्यै खबर गर्नुपर्छ। र, घाम नडुब्दै गाउँ पुग्नुपर्छ। त्यसो भएमा गाउँलेले आबश्यक तयारी गर्न पाउँछन्।
बुद्धको मूर्ति
सिरुबारीको गुम्बामा यही कात्तिक ३ गतेदेखि लगातार ५ दिन बौद्धग्रन्थ त्रिपिटक र काङ्ग्युर पाठ गरियो। अहिले गाउँ माथिको डाँडामा भगवान बुद्धको विशाल मूर्ति बनाउने अभियान सुरु भैसकेको छ। कात्तिक १४ गते गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीबाट मूर्ति निर्माणको सिलान्यास गरिने अभियानकी अगुवा उर्मिला गुरुङले बताइन्।
स्वदेश तथा विदेशमा रहेका नेपाली र प्रदेश सरकारलगायतको सहयोगमा मूर्ति निर्माण गर्न लागिएको हो। बुद्ध मूर्ति निर्माणले सिरुबारीको पर्यटनमा टेवा पुग्ने छ।
कसरी पुग्ने?
काठमाडौं–पोखरा २१० कि.मि., बसमा ६ घन्टा अथवा हवाई यात्रा २५ मिनेट। पोखरा–कार्कीनेटा–सिरुबारी ६४ कि.मि.। पोखरा–नाउडाँडा–सिरुबारी ४२ कि.मि.। पोखराको पृथ्वीचोकबाट बिहान र दिउँसो सिरुबारी जाने बस छुट्छन्।
धमाधम बुकिङ
जुम गुरूङ
संयोजक, पर्यटन व्यवस्थापन समिति हामीले कात्तिक १२ गते शुक्रबारदेखि पर्यटकका लागि सामुदायिक होमस्टे खुला गर्ने घोषणा गरेसँगै धमाधम बुकिङ भैरहेको छ। कात्तिक १४ गते आइतबार हाम्रो गाउँमा बुद्धको विशाल मूर्ति सिलान्यास हुँदैछ। त्यसैले आइतबारसम्मका लागि बुकिङ फुल भैसक्यो। हामी आन्तरिक तथा बाह्य दुवै पर्यटकको न्यानो स्वागत गर्न तयार छौं। त्यसैले फोनबाट खबर गरेर मात्र हाम्रो गाउँ घुम्न आउनुहोस् है!
सम्पर्क
पर्यटन व्यवस्थापन समिति
सिरुबारी, स्याङ्जा
जुम गुरुङ–९८४६१५९३८८
पूर्णबहादुर गुरुङ–९८४६१२२९४६
थप तस्बिरहरू हेर्नुहोस्