कोरोना महामारीले गर्दा ठप्प भएको भेडेटारको पर्यटन व्यवसाय बिस्तारै लयमा फर्कन थालेका छन्।
अहिले भेडेटारमा आन्तरिक पर्यटकहरूको आगमन बढेको व्यवसायीले बताएका छन्।
कोरोना संक्रमण कम हुँदै गएको र धेरैले खोप लगाएर आत्मबल बढाएपछि बिस्तारै आन्तरिक पर्यटक साँगुरीगढी गाउँपालिकामा पर्ने भेडेटार, नाम्जे, ध्वजे डाँडा, नमस्ते झर्ना घुम्न आउने पर्यटक बढेको होटेल एसोसिएसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए।
पर्यटक घुमफिर गर्न पहाडतर्फ उक्लन थालेको र व्यवसायमा पनि चहलपहल बढ्न थालेको व्यवसायीको भनाइ छ।
भेडेटारमा दुइटा स्टार होटल खुल्ने चरणमा छन्।
पर्यटक आसपासका क्षेत्र घुमाएर सुविधासम्पन्न होटलमा राख्न यी होटल सुरू भएपछि सहज हुने साँगुरीगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठले जानकारी दिए।
गाउँपालिकाले पर्यटनलाई प्राथमिकता दिएर काम गरिरहेको उनले बताए।
पर्यटकका लागि बुटिक जोन, वाइफाई जोन बनाइएको छ। फूलबारी जोन बनाउने तयारी भइरहेको छ।
गाउँपालिकाले साँगुरीगढी क्षेत्रका १६ महत्वपूर्ण स्थानको पहिचान गरी पोइन्ट बनाएको छ। भेडेटार आसपासका क्षेत्र घुम्नका लागि गाउँपालिकाले निकट भविष्यमा यातायातको व्यवस्था गर्ने वडा नं ६ का वडाध्यक्ष यमप्रकाश मगरले जानकारी दिए।
होटल व्यवसायी रुदालीका अनुसार कोरोना कहर अगाडि दैनिक एक हजार पर्यटक पहाडतर्फ उक्लने गर्दथे तर लकडाउन भएपछि भने २०७६ चैतदेखि डेढ वर्षसम्म होटल व्यवसाय ठप्प भएको थियो।
दसैंअगाडिदेखि भने चहलपहल बढेको छ। कोराना संक्रमण कम भएपछि सुरक्षा सतर्कता अपनाउँदै पर्यटकहरू पनि घुमफिर गर्न थालेपछि होटल पनि सञ्चालन हुन थालेका छन्।
व्यवसायीहरूले पनि सुरक्षाका मापदण्ड अपनाएर सेवा दिइरहेको व्यवसायी रुम्दालीले बताए।
जोमनी नाका खुला भएपछि भेडेटारमा भारतीय पर्यटकहरू पनि आउन थालेका छन्।
प्रदेश १ को पहाडी क्षेत्रको प्राकृतिक सौन्दर्य, जातीय र प्राकृतिक विविधता अनि एडभेन्चर यात्राको अनुभवले भारतीय पर्यटकहरू आकर्षित हुने गरेका छन्।
भेडेटारको पर्यटनबारे छलफल
झण्डै दुई वर्षदेखि पर्यटनसम्बन्धी औपचारिक कार्यक्रम नभएको भेडेटारमा शनिबार र आइतबार पर्यटनबारे छलफल भएको छ।
नेपाल पत्रकार महासंघ प्रदेश १ समिति र साँगुरीगढीका सहकार्यमा साँगुरीगढी गाउँपालिकाको पर्यटकी सम्भावना र अवसरबारे छलफल गरिएको हो।
महासंघ प्रदेश नं १ अध्यक्ष लीलाबल्लभ घिमिरेका अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाले हालसम्म पर्यटन प्रवर्द्धनका लागि गरेको कार्य विवरण प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले प्रस्तुत गरे।
उनले भेडेटारमा निकट भविष्यमा स्काई वाल्क बनाउन लागिएको जानकारी दिए। प्रदेश सरकारसँगको सहकार्यमा हाल भएको चाल्स भ्यू टावर भएको स्थानमा स्काई वाल्क बन्न लागेको हो।
साँगुरीगढी गाउँपालिकामा अकबरे खोर्सानी उत्पादन हुँदै आएको छ। उक्त खुर्सानी ब्रान्डिङ गरी झोला बनाएर बिक्री वितरणका तयारी थालिएको उनले बताए। रासस