पोखराको उपत्यकाको पुम्दिकोटमा महादेवको विशाल मूर्ति बनेसँगै पर्यटकको घुइँचो लाग्न थालेको छ। पोखरा घुम्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्यका रुपमा यसले ख्याती कमाएको छ। त्यसैले दिनहुँ सयौं पर्यटक पुम्दिकोट पुग्ने गरेका छन्।
प्राचीन शक्ति पिठ पुम्दिकोटमा भगवान शिवको ५१ फिट अग्लो मूर्ति बनाइएको छ। धार्मिक पर्यटनधाम बनाउने उद्धेश्यले समाजसेवी चन्द्रकान्त बरालको अगुवाइमा मूर्ति सहितका संरचना बनाइएको हो।
करिब २२ रोपनी जमिनमा विशाल शिव मूर्तिसहित १०८ वटा शिवलिंग, डमरु, कलशलगायतका संरचना बनाइएको छ। महायज्ञ गरि आर्थिक संकलन गरेर पूर्वाधार विकासका काम अघि बढाइएको हो। यहाँ राखिएको विशाल मूर्ति उद्योपति कमल जैनले प्रदान गरेका हुन्।
यसलाई पर्यटनधाम बनाउन ठूलो रकम दान गर्नेहरूमा समाजसेवी बराल, मुरलीधर रुङ्ग्टा, उद्योगपति कमल जैन, बिष्णु बराललगायत छन्।
‘अब हामी यहाँ सुमेरु पर्वत र मनो रेललगायत प्रोडक्ट थप्दै छौं’, समाजसेवी बरालले भने, ‘ध्यान केन्द्र र गङ्गा पोखरी भने बनाइसकेका छौं।’
पुम्दिकोट कोट विकास समितिले यसको संरक्षण गर्दै आएको छ। समितिका अध्यक्ष पनि बराल नै हुन्।
धार्मिक आस्था त छँदैछ, हिमालय दर्शनका लागि समेत पुम्दिकोट आकर्षक गन्तव्य हो। यहाँबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङदेखि मनास्लु हिमालसम्मको लामो लर्कन देखिन्छ। त्यतिमात्र होइन, फेवातालसहित पोखरा उपत्यका छर्लङ्ग देखिन्छ। त्यसैले पुम्दिकोट सबै खाले पर्यटकका लागि उपयुक्त छ।
पुम्दिकोट मुन्तिर विश्व शान्ति स्तुप छ। त्यसैले स्तुप र पुम्दिकोट भ्रमणलाई एउटै रुटमा राखेर घुमफिर गर्न सकिन्छ। खाना र बासका लागि पुम्दिकोट क्षेत्रमा होटल, लज र रेष्टुराँ खुलिसकेका छन्।
त्यस्तै पोखराबाट सार्बजनिक बस, जिप र ट्याक्सीमा कोट जान सकिन्छ। पोखरा महानगरपालिका र प्रदेश सरकारले यहाँको सडकको भने स्तरोन्नती गरेर पक्कि बनाइहाल्नु पर्ने देखिन्छ।
हेर्नुहोस् थप तस्बिरहरू