‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ भन्ने मुल मन्त्र बोकेर स्वस्थ समाज निर्माणमा क्रियाशील प्रकृतिप्रेमी समूहले आउँदो शनिबार (साउन १४ गते) महादेव पदमार्गमा पदयात्रा गराउने भएको छ। यो पदमार्गमा डोलेश्वर, आशापुरेश्वर र कैलाशनाथ महादेव पर्छन्।
भगवान शिवको प्रिय महिना भनेर चिनिन्छ साउनलाई। साउनमा महादेवको आराधना गर्दै मन्दिरमा महादेव दर्शन गरि व्रत बस्ने चलन छ। यही साउन महिनामा महादेव दर्शन गर्दै पदयात्रा गर्न सकिने पदमार्ग ‘महादेव पदमार्ग’ छनोट गरिएको हो।
समूहकी कोषाध्यक्ष एवं हाइकिङविज्ञ रामदेवी महर्जनकाअनुसार शनिबार भक्तपुरको डोलेश्वरसम्म बसमा गएपछि त्यहाँबाट हाइकिङ सुरु हुनेछ।
डोलेश्वरबाट पाटीभञ्ज्याङ (१,८०० मिटर) आशापुरेश्वर हुँदै साँगाको कैलाशनाथ महादेवसम्म करिब १४ किलोमिटर पदयात्रा गराइनेछ।
‘यो पदमार्गमा धार्मिक सम्पदा त छँदैछन्’, ‘हाइकिङ काठमाडौं’ पुस्तककी लेखक समेत रहेकी महर्जनले भनिन्, ‘चारैतिर हरियाली, भुइँकुहिरो, चराको चिरबिर र पुतलीहरूको फुरफुर देख्दा मन रमाउँछ। त्यस्तै गाउँबस्ती हेर्दै गाउँले जनजीवन बुझ्न सकिन्छ।’
समूहको हाइकिङमा निरोगी बन्ने ज्ञान बाँडिन्छ। समूहले हरेक महिनाको दोस्रो र चौंथो शनिबार काठमाडौं सेरोफेरोमा हाइकिङ गराउँदै आएको छ। दोस्रो शनिबारको हाइकिङमा पदयात्री आफैंले स्वास्थ्यबर्द्धक खाना लिएर आउनु पर्नेछ भने महिनाको चौंथो शनिबार हुने हाइकिङमा समूहले नै खाना खुवाउँछ।
समूहको हाइकिङमा जंकफुड, फास्टफुड, मदिरा र मासुजन्य पदार्थ निषेध गरिन्छ। हाइकर्सलाई स्वास्थ्यवर्द्धक खाना खान सिकाइन्छ।
हाइकिङका सहभागीले अनिवार्य रूपमा २–३ लिटर पानी, लौरो र छाता वा बर्सादी बोक्नुपर्ने समूहले जनाएको छ। हाइकिङमा सहभागि हुन् यही बिहीबार भित्र ५५४१९९१ मा सम्पर्क गर्नुपर्नेछ।
हेर्नुहोस् तस्बिरहरू