पर्यटकीय सम्भावना बोकेको ललितपुरको देवीचौर ओझेलमा परेको भन्दै गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) ले प्रवर्द्धन गर्ने भएको छ।
आफ्नो २६ औं वार्षिक साधारण सभा मनाउन गोदाबरी नगरपालिका-७ देवीचौर पुगेको टोलीले गन्तब्यको पहिचान गर्दै प्रवर्द्धन र प्रचारप्रसारमा सघाउने बताएको हो।
पर्याप्त प्रचार प्रसारको अभावले राजधानीबाट नजिकै भए पनि ओझेलमा परेको देवीचौरलाई भिटोफ-नेपालले पर्यटकीय क्षेत्रको पहिचान गरेको हो।
प्रचार प्रसारको अभावले ओझेलमा परेको देवीचौरलाई भिटोफ-नेपालको गन्तब्य पहिचानको भ्रमण गरेकोमा आफूहरू उत्साहित भएको गोदावरी नगरपालिका-७ का वडाध्यक्ष मथुरा शर्माले बताए।
शर्माले यो क्षेत्रलाई पर्यटकीय गन्तब्य बनाउन नगरपालिकाले योजना बनाएर सक्दो आर्थिक सहयोगमा पहल गर्ने प्रतिवद्दता जनाए।
कार्यक्रममा बोल्दै भिटोफ-नेपालको प्रमुख सल्लाहाकार प्रेम शर्माले पर्यटननै स्थानीयको जीवनस्तर उकास्ने गतिलो माध्यम भएको बताए।
आन्तरिक पर्यटक स्थानीयको घरमा बास बस्ने र खानपिन, संस्कृति, रहनसहनसँगै प्रकृतिमा रमाउँन वातावरण मिलाउने हो भने स्थानीयको जीवनस्तर उकास्न सहयोग पुग्ने बताए।
भिटोफका अध्यक्ष गोपाल थापाले प्राकृतिक सौन्दर्य, स्वच्छ र शान्त वातावरणमा यहाँका भिरपाखा, हरियाली वनजङ्गल, खोलानाला, तालतलैया, झरना र अन्य भौगोलिक जैविक एवं सास्कृतिक विविधता यो ग्रामीण बस्तीमा पाइने भएकाले देवीचौर पर्यटकीय रूपमा पूर्ण रहेको बताए।
करिब २१०० मिटरमा रहेको भ्युटावरबाट काठमाडौं उपत्यकासहित हिमालको लामो लर्कन देख्न सकिन्छ। यस क्षेत्रमा तामाङ, क्षेत्री बाहुनलगायत नेवारसमुदायको मिश्रित बसोबास छ।
ग्रामिण पर्यटन प्रवर्द्धनका साथै ग्रामीण क्षेत्रको मौलिक उत्पादन, त्यहाँको संस्कृति, खानपिन र अतिथि सत्कारका विषयहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रसार गर्ने र प्रवर्द्धन गर्ने (भिटोफ) नेपालको प्रमुख उदेश्य रहेको उनले स्पष्ट पारे।
अध्यक्षले थापाले देवीचौरमा छिट्टै होमस्टे सञ्चालन गर्न सुझाव दिँदै संस्थाले त्यसका लागि आवश्यक सबै तालिम सहित प्रचार प्रसारमा सघाउने बताए।
संस्थाको पूर्व कार्यसमिति अध्यक्ष चित्रबहादुर गुरूङलगायत विभिन्न वक्ताले होमस्टेका विगतका इतिहास र कार्यको चर्चा गरेका थिए। गुरूङले सामाजिक, आर्थिक र पर्यावरणलाई सही सदुपयोग गर्न दिगो पर्यटनको अभ्यासका लागि जोड दिए।
वार्षिकोत्सव मनाउनुका साथै नयाँ गन्तब्य पहिचानको कार्यक्रममा भिटोफका वर्तमान कार्यसमितिका पदाधिकारी, पूर्व पदाधिकारी, पत्रकार, पर्यटन व्यवासायी र स्थानीयको सहभागिता थियो।
सहभागीले देवीचौरदेखि देउराली हुँदै भ्युटावरसम्म र फर्किदा जौवारी हुँदै डेढ घण्टाको हाईकिङ समेत गरेका थिए।
काठमाडौंदेखि सातदोबाटोबाट, सुनाकोठी, ठेँचो, टिकाभैरव, देवीचौर, जौवारी, देउराली हुँदै भ्युटावरसम्म करिब ३० किमिको दुरी रहेको पर्यटकीय गन्तब्यमा गाडी या बाईकमा सहजै पुग्न सकिन्छ।
हेर्नुहोस् तस्बिरहरू