गर्मी मौसममा पनि ज्याकेट लगाउनुपर्ने र सुत्दा सिरक ओढ्नुपर्ने गन्तव्य– सिरानडाँडा। अजिरकोट गाउँपालिका–४, गोरखाको सिरानडाँडा (१,९९० मिटर) प्रकृतिको अतुलनीय उपहार हो।
हरिया डाँडापाखा, ग्रामीण जीवनशैली, तामाङ संस्कृति, चिया बगान, आत्मीय गाउँले र अर्गानिक खानपान यहाँका विशेषता हुन्। आकाश उघ्रिएका बेला गाउँबाट बुद्ध, हिमालचुली र मनास्लु हिमालको दर्शन पाइन्छ। साथमा सूर्योदय र सूर्यास्तको मिठो दृश्य त छँदैछ।
मनसुनी याममा सिरानडाँडा छिनमै भुइँकुहिरोमा लुकामारी खेल्छ त छिनमै घामको उज्यालोमा मुस्कुराउँछ। बेलाबेलामा पानी पनि बर्सिरहन्छ। विचित्रको मौसमले सबैलाई लठ्ठै बनाउँछ।
त्यसैले नजिककैका सहरहरू गोरखा बजार, पालुङटार, दमौली, डुम्रे, मुग्लिन, नारायणगढ र दमौलीका बासिन्दाले गर्मी छल्ने, विकेण्ड मनाउने र परिवारसँग रमाउने रोमाण्टिक गन्तव्यका रुपमा सिरानडाँडा चम्किन सक्छ। यति मात्र होइन, काठमाडौंदेखिका पर्यटक हयाङ्आउट हुन यहाँ आउन सक्छन्।
सिरानडाँडा मुन्तिरको नम्कि गाउँमा होमस्टे सुविधा छ। अझै तल भच्चेकमा पर्यटकीय सुविधाका होटल पनि छन्। सिरानडाँडामै पनि होटल तथा रिसोर्ट खुलिसके। सिरानडाँडाकै बस्तीमा सामुदायिक होमस्टेको सम्भावना पनि देखिन्छ।
डाँडामा चौबिसे शासनकालको एउटा कोटगढी छ। यहाँका केही हतियार सिमजुङकोटमा लगेर राखिएको गाउँले बताउँछन्। गढी पिकनिक स्पटका रुपमा चर्चित छ।
यो क्षेत्रमा तामाङ समुदायको बसोबास छ। यहाँका सिरानडाँडा, ओखलढुंगा र घट्टाटोलमा तामाङका १ सय ११ घर धुरी छन्। शेर्पा समुदायको पनि बसोबास छ।
गाउँलेहरूको मुख्य आम्दानी कृषि र वैदेशिक रोजगार हो। गाउँमा मकै, कोदो, जौ, गहुँ, तोरी, आलु, काउली, साग, मुलालगायत फलाइन्छ। त्यसैगरि बाख्रा, कुखुरा र भैंसीपालन पनि गरिन्छ।
ग्रामीण जीवनशैलीको सुवास पाइने गाउँमा हिमाली समाज गुम्बा, नाप्रे मन्दिरलगायत धार्मिक तीर्थ पनि छन्। अर्को कुरा, सिरानडाँडा हुँदै निम्चेपोखरी, नागेपोखरी, दूधपोखरी र नारदपोखरी पदयात्रा गर्न सकिन्छ।
गाउँबाट दुई घण्टामा निम्चे पोखरी, ४ घण्टामा नागेपोखरी, दुई दिनमा दुधपोखरी र नारदपोखरी पुग्न सकिन्छ। नारदपोखरी पदमार्ग रूविनालासँग जोडिन्छ। यी पदमार्गको प्रवर्द्धनका लागि धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङ क्रियाशील छन्।
‘हामी यस क्षेत्रको प्रचार र प्रवर्द्धनका लागि पर्यटन नक्सा बनाउने योजनामा छौं’, पर्यटन अभियन्ता गुरूङले भने, ‘त्यसका लागि सरोकारवाला गाउँपालिकाहरूसँग प्रस्ताव गरिसकेका छौं।’
स्थानीय समाजसेवी प्रेमकुमार (करमान) लामाकाअनुसार झाँक्री टुरका लागि समेत सिरानडाँडा उपयुक्त छ। गाउँका झाँक्रीको उपचार विधिमा सामेल भएर पर्यटकले नौलो ज्ञान प्राप्त गर्न सक्छन्।
सिरानडाँडामा मिठो खाना र खाजा पाइन्छ। आरामदायी बासका लागि एउटा होटल र रिसोर्ट पनि सञ्चालनमा ल्याइएको छ।
डाँडासम्मै सडक पिच भएकाले यात्रा गर्न सजिलो छ। राम्रो प्रचारप्रसार हुन सकेमा सिरानडाँडामा आन्तरिक पर्यटकको घुइँचो लाग्नेछ। त्यसका लागि यहाँका पर्यटन व्यवसायी र गाउँपालिकाको नेतृत्वले पहल गर्नुपर्ने देखिन्छ।
सिरानडाँडाबाट अर्गानिक चिया, लोकल कुखुरा, लोकल रक्सी र मौसमी तरकारी कोसेली ल्याउन सकिन्छ।
साँच्चै, सिरानडाँडामा पुग्दा तन र मन रिचार्ज हुन्छ। प्रकृतिको सामिप्यताले ऊर्जा बढाउँछ। त्यसैले दुई रात बिताउने गरि यात्रा योजना बनाउनु बेस हुन्छ।
तपाईं पनि गर्मी छल्न रोमाण्टिक हिलस्टेशन ‘सिरानडाँडा’ जाने कि ?
कसरी पुग्ने ?
काठमाडौँबाट मुगलिन, आबुखैरेनी हुँदै गोरखाको १२ किलोसम्म १२८ किलोमिटर। १२ किलो भन्ने ठाउँबाट चोरकाटे, भच्चेक हुँदै सिरानडाँडा ४१ किलोमिटर।
काठमाडौंको नयाँ बसपार्कबाट बिहान ६ः३० बजे, गोरखा बजारबाट बिहान १० बजे र दिउँसो २ बजे भच्चेकका लागि बस छुट्छन्। भच्चेकबाट सिरानडाँडासम्म करिब ४.५ किलोमिटर यात्राका लागि ट्याक्सी पाइन्छ।
त्यसैगरि भच्चेकबाट काठमाडौंका लागि बिहान ८ बजे, चितवनका लागि बिहान साँढे ८ बजे र गोरखा बजारका लागि बिहान ६ र ८ बजे गाडी छुट्छन्।
स्याङ्बो अर्गानिक रिसोर्ट
धरानको भानुचोकमा एउटा पुरानो मिठाई पसल छ–लक्ष्मी मिष्ठान्न भण्डार। वि.सं. २०३९ साउन १ गते खुलेको भण्डार
धरानेहरूका बीचमा लोकप्रिय छ। त्यहाँ २२ जनाले रोजगारी पनि पाएका छन्।
मिष्ठान्न भण्डारका सञ्चालक सिरानडाँडा, गोरखाका दलबहादुर तामाङ र राजस्थान, भारतका मोतीलाल शर्मा हुन्। उनीहरूको मित्रता झाँगिएको पनि चालिस वर्ष पुरा भैसक्यो।
उनीहरूको साझेदारी उदाहरणीय बनेको छ। तामाङ भन्छन्, ‘आपसी विश्वास, मिहिनेत र इमान्दारी नै हाम्रो पार्टनरसिपको बलियो आधार हो।’
यसरी जीवनको ऊर्जाशील समय धरानमा बिताएका दलबहादुरको मन भुर्रभुर्र उडेर जन्मथलो सिरानडाँडामा पुगिरहन्छ। युवाका लागि गाउँमै रोजगारी सृजना गर्न सके उनीहरू विदेशीनु पर्ने थिएन भन्ने उनको मनमा खेलिरहन्छ।
‘त्यसैले गाउँमै रोजगारी सृजना गर्न र सिरानडाँडालाई पर्यटकीय हब बनाउन रिसोर्ट खोलेको हुँ,’ उनले भने।
सिरानडाँडामा उनले खोलेको ‘स्याङ्बो अर्गानिक फार्म एण्ड रिसोर्ट’ एग्रो टुरिजम गन्तव्यका रुपमा स्थापित हुँदैछ। रिसोर्ट बनाउन एक करोड रूपैयाँ भन्दा बढी लगानी भैसक्यो। यहाँ ६ वटा कोठा छन् भने चार वटा टेण्ट। बिस्तारै संरचनाहरू थप्दै जाने योजना छ।
आन्तरिक पर्यटक सुहाउँदो छ रिसोर्ट जहाँ कोठाको मूल्य ८०० देखि १२०० रूपैयाँसम्म पर्छ। अनि चिकेन खानाको ३५० रुपैर्याँ।
दलबहादुर धरानमा व्यवसाय गर्छन्। बेलाबेलामा सिरानडाँडा उक्लन्छन्। एकपटक गाउँमा जाँदा घुमन्तेहरूले उनीसँग गुनासो गरेछन्, ‘सिरानडाँडा यति सुन्दर छ। तर, यहाँ न खाने रेष्टुराँ छन् न बस्ने होटल। त्यसैले दिनभर घुमेर खाजा खान र बासका लागि भच्चेक झर्नुपर्छ।’
त्यसैले उनले रिसोर्ट निर्माण गरेका। यसको सञ्चालन जिम्मेवारी भने उनका छोरा प्रकाशले सम्हाल्दै आएका छन्।
रिसोर्ट हाताको टनेलामा अकबरे खुर्सानी, सागसब्जी, कुरिलो, काँक्रोलगायत तरकारी फलाइएको छ। लोकल कुखुरा पनि पालिएको छ। रिसोर्टकै ८ रोपनी जमिनमा चिया खेती छ। किवि, स्याउ र जडीबुटी खेती पनि गरिएको छ।
धरानमा जन्मे/हुर्केका प्रकाश गाउँ फर्केर बाबाको सपना साकार पार्दैछन्। अर्गानिक वातावरणमा रम्दैछन्। उनी भन्छन्, ‘अब हामी नागेपोखरी, दूधपोखरी र नारदपोखरी पदयात्राको प्याकेज पनि बनाउँछौं।’
सम्पर्कः
प्रकाश तामाङ–९८६९०६८२९७/९८१८१२३७७३
स्याङ्बो अर्गानिक फार्म एण्ड रिसोर्ट
सिरानडाँडा, गोरखा
थप तस्बिरहरू