नेपालको पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जले यही असोज ४ गते ५० औं वर्ष प्रवेशका अवसरमा स्वर्ण वर्ष मनाउने भएको छ। वि.सं २०३० असोज ४ गते यो निकुञ्ज स्थापना भएको हो।
निकुञ्जले आफ्नो स्वर्ण वर्षभरि विविध कार्यक्रमको आयोजना गरी मनाउने भएको हो।
असोज ७ गते औपचारिक कार्यक्रमगरी स्वर्ण वर्ष शुभारम्भ गरिँदैछ। निकुञ्ज परिसर कसरामा स्वर्ण वर्षको शुभारम्भ गरिने निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए।
महोत्सवमा स्मारिका प्रकाशन गर्ने, स्वर्ण स्तम्भ अनावरण गर्ने, मध्यवर्ती क्षेत्रका बोटे, कुमाल, थारू, गुरूङ, मगर, तामाङ, दरै आदि समुदायको संस्कृति प्रदर्शन जस्ता कार्यक्रमहरू आयोजना गरिने तिवारीले जानकारी दिए।
चितवन राष्ट्रिय निकुञ्ज ९५२.६३ वर्ग किमि फैलिएको छ। सन् १९८४ मा विश्व सम्पदा सूचीमा सूचीकृत यस निकुञ्जमा गैंडा, पाटे बाघ, सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिङ्गे, बाँदर र लङ्गुरलगायत ६० भन्दा बढी किसिमका स्तनधारी जङ्गली जनावरहरू पाइन्छन्।
यसैगरी घडियाल गोही, मगर गोही, अजिङ्गरलगायत सरिसृप तथा उभयचर, बसाइँ सरी आएका र रैथाने गरी पाँच सय ४६ भन्दा बढी जातका चराचुरुङ्गी एवं विभिन्न किसिमका कीरा फट्याङ्ग्राहरूले यस निकुञ्जलाई अझ धनी बनाएका छन्।
यिनै प्राकृतिक महत्वका वस्तुहरूको संरक्षणलाई ध्यानमा राखी सन् १९८४ मा चितवन राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो। यस निकुञ्जले चुरे पहाड, राप्ती, नारायणी र रिउ नदीका मुख्य क्षेत्रहरूलाई समेटेको छ। निकुञ्जको करिब ७० प्रतिशत वन क्षेत्र सालको जङ्गलले ढाकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए।
संरक्षणमा गरिएको प्रयास स्वरूप यस निकुञ्जमा हाल पाटेबाघको सङ्ख्या एक सय २८ र गैंडाको सङ्ख्या ६ सय ९४ पुगेको छ। पछिल्लो एक वर्षयता चोरी सिकारीबाट गैंडा मारिएका छैनन्। यस निकुञ्ज स्थापनासँगै वि.सं २०५३ मा मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति गठन गरिएको थियो।
व्यवस्थापन समितिको क्षेत्रफल ७२९ दशमलव ३७ वर्गकिलोमिटर रहेको छ। यस राष्ट्रिय निकुञ्ज प्रदेश नं २, ३ र ४ का चितवन, मकवानपुर, पर्सा र नवलपरासी जिल्लाका केही भू–भागहरूमा फैलिएको छ।
निकुञ्जमा एक महानगरपालिका, आठ नगरपालिका र तीन गाउँपालिका पर्दछ। ती पालिकामा दुई लाख ५० हजारभन्दा बढी जनसङ्ख्या बसोबास गर्दछन्। मध्यवर्ती क्षेत्र स्थापनासँगै निकुञ्जमा उठेको पर्यटन राजश्वको ५० प्रतिशतसम्म मध्यवर्ती क्षेत्रमा संरक्षण शिक्षा, भौतिक पूर्वाधार लगायतमा खर्च गरिँदै आएको छ।
हालसम्म रु एक अर्बभन्दा बढी रकम मध्यवर्तीमा खर्च भइसकेको छ। चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले मध्यवर्ती स्थापनासँगै जनता र निकुञ्ज बीचको द्वन्द्व घटेर संरक्षणमा सहयोग पुगेको बताए।
पुराना ऐन कानुनका कारण मध्यवर्तीका बासिन्दालाई केही अप्ठ्याराहरू भएको भन्दै तिनीहरूलाई संशोधन गरेर संरक्षणमा जुट्नुपर्ने उनको भनाइ छ। निकुञ्ज स्थापनाको ५० औं वर्षको अवसरमा वर्षभरि नै संरक्षणसँग सम्बन्धित विभिन्न गतिविधिहरू गरिँदै छ।