आयुर्वेद मेडिकल डेभलपमेन्ट एण्ड रिसर्च फाउण्डेशनले सोमबार आयुर्वेद क्याम्पस, कीर्तिपुर, काठमाडौंका डाक्टर तथा विद्यार्थीलाई भक्तपुरको घ्याम्पेडाँडा क्षेत्रमा हाइकिङ गराएको छ। उनीहरूले हाइकिङ मात्र होइन, योग तथा ध्यान पनि गरे।
गुण्डुको पाथीभराबाट सुरु भएको हाइकिङ पाइलट बाबा आश्रम, घ्याम्पेडाँडा हुँदै सूर्यविनायकमा पुगेर समापन गरिएको थियो। पाइलट बाबा आश्रममा हाइकर्सहरूलाई प्रकृतिप्रेमी समूहकी कोषाध्यक्ष एवं हाइकिङविज्ञ रामदेवी महर्जनले योग तथा ध्यान गराएकी हुन्।
आयुर्वेद डा. विजेन्द्र साहसहितका ४६ जना हाइकर्सलाई हाइकिङविज्ञ महर्जनले हाइकिङको महत्व, हाइकिङ गर्ने सीप र स्वस्थ रहन गर्नु पर्ने खानपानको विषयमा ज्ञान बाँडेकी थिइन्। आश्रममा पुगेपछि उनीहरूलाई ५ मिनेट वार्मअप, ५ मिनेट योग आसन र ५ मिनेट आफूलाई चिन्ने साँचो ध्यान गराइयो।
योग तथा ध्यान गरेपछि थकाई मेटिएको, मनमा शान्ति छाएको, आत्मबल बढेको र शरीर तथा मनमा थप ऊर्जा बढेको हाइकर्सहरूले बताए। त्यहाँबाट उनीहरू घ्याम्पेडाँडामा पुगेर खाना खाए। खानापछि केही बेर नाचगान गरि उनीहरूलाई सूर्यविनायक मन्दिरसम्म हिँडाइएको थियो।
घमाइलो दिनमा अपरान्ह एक छिन पानी परेको थियो। ‘हामीले पहिलो पटक यसरी हाइकिङ गरेका हौं’, डा. साहले भने, ‘आगामी दिनमा पनि हाइकिङ गर्नेछौं।’
हाइकिङविज्ञ महर्जनकाअनुसार आउँदो शनिबार असोज ८ गते फेरि यहि क्षेत्रमा हाइकिङ गराइनेछ। दधिकोटको अनन्तलिंगेश्वर मन्दिरबाट गुण्डुको पाथीभरा भएर पाइलट बाबा आश्रम, घ्याम्पेडाँडा, रानीकोट हुँदै पदयात्रीलाई सूर्यविनायकसम्म करिब १४ किलोमिटर हिँडाइनेछ।
समूहको नियमित हाइकिङ अभियान अन्तगर्त यो हाइकिङ आयोजना गरिँदैछ। समूहले हरेक महिनाको दोस्रो र चौंथो शनिबार काठमाडौं सेरोफेरोमा स्वास्थ्यवद्र्धक हाइकिङ गराउँदै आएको छ। उसको हाइकिङमा सहभागि हुन् ५५४१९९१ मा सम्पर्क गर्नुपर्छ।
हेर्नुहोस् तस्बिरहरू