देश विकास भनेको बहुआयामिक प्रयत्नहरूको समष्टिगत परिणाम हो। धेरै देशहरूको उन्नतिको समयखाका हेर्दा व्यापारमा सफलता नै वास्तविक र दीर्घकालीन समुन्नतिका लागि पहिलो सर्त बनेको देखिन्छ।
अमेरिकाले एडम स्मिथको व्यापारमा प्राथमिकता सहितको खुला बजार अवधारणा करिब अढाई सय वर्षअघि अवलम्बन गरेको हो। त्यसैले आजको अमेरिका बन्यो।
त्यति पुरानो इतिहासमा पनि जानु पर्दैन। अहिलेका चीन, दक्षिण कोरिया, भियतनाम, सिंगापुर र स्विट्जरल्यान्ड हेर्दा हुन्छ। यी मुलुक व्यापारले नै उन्नतिको दिशामा गतिशील भएका हुन्। यो तथ्य हाम्रा अगाडि छर्लंग छ।
यी उदाहरणहरूमा स्विट्जरल्यान्ड अलि फरक छ। घडी व्यापार र पर्यटन यसको उन्नतिका मुख्य संवाहक हुन्। घडी व्यापार त सिधै देखिने भयो, पर्यटन पनि व्यापार नै हो जसमा ग्राहकहरू घरमै आउँछन्।
बर्सेनि भित्रिने दुई करोडभन्दा बढी पर्यटकहरूले स्विट्जरल्यान्डको योगदान गरिरहेका हुन्छन्।
नेपालको समुन्नतिको आधार व्यापार नै हो। त्यसैले नेपालले पनि धनी हुने आफ्नो सपना व्यापारबाटै पूरा गर्नुपर्ने हुन्छ।
नेपालमा व्यापारका अनेक सम्भावनाहरू छन्। अल्टिच्युडका उत्पादन, खनिज, जडीबुटी, विद्युत र स्वच्छ पानी निर्यात स्विट्जरल्यान्डको घडी व्यापार जत्तिकै बलियो बन्न सक्छ। यसनिम्ति दीर्घकालीन योजना चाहिन्छ। लागत पनि निकै ठूलो हुन सक्छ, समय पनि धेरै लाग्न सक्छ।
पर्यटन कम लागतमै पनि अहिले नै निकै धेरै उन्नति गर्न सकिने उच्च सम्भावना रहेको क्षेत्र हो। पर्यटनमा चीन र भारत नेपालका विशाल छिमेकी ग्राहक हुन्। पश्चिमा पर्यटकहरू पनि उत्तिकै आकर्षित छन्।
उच्च हिमाली पदयात्रा, पर्वतारोहण, बुद्धजन्मस्थल लुम्बिनी हाम्रा अन्तर्राष्ट्रिय स्तरका पर्यटन क्षेत्र हुन्। विदेशी मुद्रा आर्जनका मुख्य क्षेत्र यिनै हुन्।
नेपालको पर्यटन यतिमा मात्र सीमित छैन। अहिले छलफलमा नरहेको र ओझेलमा परेको तर निकै बलियो सम्भावना रहेको क्षेत्र 'विविधता पर्यटन (डाइभर्सिटी टुरिजम)' हो।
विविधता पर्यटन कम लागतमा छिटो गर्न विकास गर्न सकिने रणनीतिक क्षेत्र हो। यसको प्रतिफलको दर र यसले अर्थतन्त्रमा पार्ने प्रभाव पनि अत्यधिक रहन्छ। यो सगरमाथा आरोहणसहित अन्य हिमाली पर्वतारोहण वा धार्मिक–सांस्कृतिक महत्त्वको लुम्बिनीभन्दा कम बलियो क्षेत्र होइन।
नेपालको सानो भूगोलमा धेरै विविधता छ। जनसांख्यिक बनोट, भूगोल, संस्कृति र जैविक–पारिस्थितिक प्रणाली नेपालको विशिष्टता हो। नेपालको जस्तो थोरै भूगोलमा यस्तो विशिष्टता संसारका अन्य देशहरूमा विरलै पाइन्छ।
विविधिताका हिसाबले नेपाल संसारभित्रको एक छुट्टै संसार हो। पश्चिमा देशका र भारतीय मूलका पर्यटकहरू यस्ता विविधताका भोका छन्। यिनीहरू तुरून्तै हाम्रो यो नयाँ क्षेत्रका प्रमुख पर्यटक बन्न सक्छन्।
विविधता पर्यटन कार्यान्वयन गर्न सबैभन्दा पहिलो 'विविधता राजमार्ग' अर्थात् 'डाइभर्सिटी हाइवे' निर्माण गर्नुपर्छ। देशका विभिन्न भागहरूमा धेरै वटा यस्ता हाइवे निर्माण गर्न सकिन्छ।
कम लागतमा र छिट्टै पूरा गर्न सकिने अनि विदेशी पर्यटकका लागि उच्च आकर्षण हुने एउटा डाइभर्सिटी हाइवे पूर्वी भेगमा हुन सक्छ। यो सिद्धिचरण हाइवे सिरहाको मार्डरबाट र भारतसँगको सीमाबाट सुरू भई सगरमाथा बेस क्याम्पसम्म विस्तार गर्न सकिन्छ र निकै फलदायी हुने देखिन्छ।
यो हाइवे थोरै थप लागतमा तत्काल सुरू गर्न सकिन्छ।
त्रिभुवन राजपथलाई देशभित्र 'बाइरोडको बाटो' भने झैं सिद्धिचरण हाइवे पनि डाइभर्सिटी हाइवे भनेर अन्तर्राष्ट्रिय जगतमा चिनाउन सकिन्छ।
करिब तीन सय किलोमिटरको सिद्धिचरण हाइवे यात्रामा विदेशी पर्यटकहरूले अनेक विविधता अनुभव गर्न पाउनेछन्। विविधता र पर्यटकीय प्रवर्द्धनका दृष्टिले यो हाइवेलाई ६ भागमा विभाजन गर्न सकिन्छ।
पहिलो, सिरहा बजारबाट पूर्व–पश्चिम राजमार्गमा मिर्चैयासम्मको समथर भूभाग। यसमा समथरको सबै विविधता अवलोकन हुन्छ।
दोस्रो, मिर्चैयाबाट घुर्मीसम्मको साधारण पहाडी भूभाग जहाँबाट पश्चिमतर्फ लाग्दा काठमाडौं पुगिन्छ, पूर्वतर्फ लाग्दा धनकुटा–धरान हुँदै फेरि पूर्व–पश्चिम राजमार्गमा पुगिन्छ।
तेस्रो, घुर्मीबाट ओखलढुंगा बजार हुँदै फाप्लुसम्मको अर्को उच्च पहाडी भूभाग हो। यसमा पहाडी क्षेत्रको विविधता अवलोकन हुन्छ।
चौथो, फाप्लुबाट लुक्लासम्मको उच्च पहाडी भूभाग जसलाई हवाई मार्गबाट पनि जोड्न सकिन्छ। उच्च पहाडी विविधता अवलोकनका लागि यो चौथो भाग उत्कृष्ट हुनेछ।
पाँचौं, लुक्लाबाट नाम्चे बजारसम्म।
र छैटौं, नाम्चे बजारबाट सगरमाथा बेसक्याम्पसम्म। यी दुवैमा उच्च पहाडी र हिमाली साहसिक पदयात्रा पर्छन्।
यी हरेक भागमा पर्यावरणीय, भौगोलिक, जैविक, जनसांख्यिक र सांस्कृतिक विविधता प्रचुर मात्रामा छन्। पर्यावरणीय विविधताको कुरा गर्दा यो हाइवेमा धनात्मक ४० डिग्री सेल्सियसदेखि ऋणात्मक ४० डिग्रीसम्मको तापक्रम अनुभव गर्न सकिन्छ।
सांस्कृतिक विविधताको हकमा समथर भूभाग मधेसको संस्कृतिदेखि उच्च हिमाली भागको शेर्पा संस्कृतिसम्म अवलोकन र अनुभव गर्न पाइन्छ।
जैविक विविधतामा तराईको उच्च शीतोष्ण जंगलमा पाइने पाटेबाघदेखि हिउँमा विचरण गर्ने हिमाली चितुवा यसमै देख्न पाइन्छ। लुक्लाबाट माथि जाँदा पाइने उच्च हिमाली संस्कृति र पर्यावरणीय स्वाद बेग्लै छ जो प्रख्यात सगरमाथा बेसक्याम्प ट्रेकिङ रूटमा प्राप्त हुन्छ।
पर्यटकहरूमाझ विविध संस्कृति पस्किन होमस्टे चलाउनुपर्छ। सिंगो रूटमा वर्षभरि पर्यटकका लागि सांस्कृतिक कार्यक्रमहरू चलाउन सकिन्छ। जैविक विविधता देखाउन ठाउँ ठाउँमा जैविक संरक्षण क्षेत्रहरू स्थापना नियमन गर्नुपर्छ।
स्थानीय कला र उत्पादनहरू प्रदर्शनका लागि पेरूको 'सेक्रेड भ्याली' मा जस्तो कृषि पर्यटन विकास गर्न सकिन्छ।
यस्ता अनेक क्रियाकलापले प्रशस्त रोजगारी सिर्जना गर्नेछ। यसबाट अर्थतन्त्रमा 'ब्याकवार्ड' र 'फरवार्ड' लिंकेजमार्फत कृषि उत्पादन बढ्नेछ। होटल व्यवसाय, हवाई उडान र पर्यटन सम्बन्धी अन्य उद्योगहरू फस्टाउने छन्। कला संस्कतिको सम्वर्द्धन र प्रवर्द्धन हुनेछ।
यीमध्ये धेरैजसो काम स्थानीय स्तरमै गर्न सकिने भएकाले लागत कम हुन्छ तर प्रतिफल उच्च हुन जान्छ।
सोलुखुम्बुको दूधकुण्डसम्म बाटो बनिसकेको छ। अब खास खर्च लाग्ने भनेको दूधकुण्ड वा त्यसको केही तल फाप्लुबाट लुक्लासम्मको ट्र्याक निर्माणमा हो, सडक मार्गबाट जान मात्र। फाप्लु र लुक्ला काठमाडौंसँग हवाई मार्गमा जोडिएका हुनाले अल्पकालीन समाधानका लागि दूधकुण्ड पनि जोडिए सरह नै छ।
लुक्लाबाट माथि नाम्चे बजार हुँदै सगरमाथा बेस क्याम्पसम्म त प्रख्यात ट्रेकिङ रूट छँदैछ।
दीर्घकालीन रूपमा हेर्दा सिरहाको मार्डरबाट नाम्चे बजारसम्म वर्षभरि नै पूर्णरूपमा सञ्चालन हुने हाइवे परिकल्पना गर्नुपर्छ। यसबाट पर्यटकहरूलाई पूर्ण रूपमा सडकमार्गको अनुभूति दिन सकिन्छ।
फाप्लु–लुक्ला ट्र्याक निर्माणको काम छिटो सुरू गर्नुपर्छ। यो बनेपछि निकै छोटो समयको यात्रामै पर्यटकहरूले सबै विविधता अनुभव गर्न पाउनेछन्।
साहसिक पदयात्री–पर्वतारोहीहरू नाम्चेबाट बेस क्याम्पसम्म पुग्नेछन्। त्यसपछि हिमाल आरोहीहरू माथितिर जानेछन्।
दीर्घकालीन सोचका साथ अघि बढ्दै अहिलेलाई अल्पकालीन रूपमा निकै सानो लागतमा यो आयोजना सम्पन्न हुने देखिन्छ।
यो 'डाइभर्सिटी हाइवे' पर्यटन र व्यापारमार्फत देशलाई उन्नतितर्फ लैजाने एउटा सानो आयोजना मात्र हो। यसैले देशको पूर्ण विकास हुन्छ भन्ने होइन तर यो एक सुरूआत हुनेछ, नेपालको विविधिता पर्यटन (डाइभर्सिटी टुरिजम) विकासमा कोशेढुंगा साबित हुनेछ।
सिद्धचरण डाइभर्सिटी हाइवे एउटा उदाहरण मात्र हो। भौगोलिक, जैविक, पर्यावरणीय र सांस्कृतिक विविधताले भरिपूर्ण नेपालमा यस्ता हाइवे धेरै वटा निर्माण गर्न सकिन्छ।
केही दिनअघि नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले नेपालको आन्तरिक वित्तीय स्रोतबाटै आगामी १० वर्षमा सडक पूर्वाधारमा कायापलट गर्न सकिने धारणा व्यक्त गर्नुभएको थियो।
डाइभर्सिटी हाइवेलाई दीर्घकालीन पूर्वाधार विकास र समग्र देश विकासको प्रारम्भिक बिन्दु बनाउन सकिन्छ।
(प्राध्यापक डाक्डर इशान पौडेल हाल क्यानडामा अर्थशास्त्रका प्राध्यापक छन्। उनी नेपाल राष्ट्र बैंकका पूर्वअधिकृत हुन्।)