दाङका रोशन जिसी दक्षिण कोरिया गएको डेढ वर्षभन्दा बढी भयो।
सन् २०२३ मे अन्तिममा गएका उनी त्यहाँ प्लास्टिक कारखानामा काम गर्छन्। उनको काम विभिन्न रङका प्लास्टिकका दाना मिसाउने हो।
कारखानामा एक हजार र पाँच सय किलोको प्याकिङमा प्लास्टिक दाना आउँछ। तोकिएको सूची अनुसार रङहरू मिसाउनुपर्छ।
'आफूले सोचे जस्तो त कहाँ हुन्छ र, तैपनि ठीकै छ,' उनले भने।
रोशन दैनिक १२ घण्टा काम गर्छन्। यसमा चार घण्टा ओभर-टाइम हो। तर एक घण्टा खाजा समय भनेर कम्पनीले तीन घण्टाको मात्रै ओभर-टाइम सुविधा दिन्छ।
'जस्तो दुःख परे पनि सक्छु, गर्छु भनेर आएको हुँ। सक्दो गरिरहेको छु,' उनले सुनाए।
कम्पनीले उनलाई बस्ने व्यवस्था राम्रो गरिदिएको छ। खाने लगायत खर्च कटाएर मासिक तीन लाख रूपैयाँ बचत हुन्छ। मेहनत अनुसार कमाइ राम्रै भए पनि कोरिया जानुअघि मानसिक तयारी हुनुपर्ने उनी बताउँछन्।
रोशनले यो सबै भन्नुका पछाडि कारण छ। घरपरिवारसँग टाढा भएर काम गर्नुपर्दा धेरैको आत्मबल घट्छ। त्यसैले जस्तो परिस्थिति परे पनि गर्न सक्छु भन्ने आँट चाहिन्छ। सहन क्षमता र धैर्यको खाँचो हुन्छ।
सुरूसुरूमा रोशनलाई पनि असाध्यै गाह्रो भएको थियो। तैपनि कम्पनीमा नेपालीहरू भेट्दा मन हलुका भयो।
'विरानो ठाउँमा नेपाली भेटिनु भाग्यको कुरा रहेछ,' उनले भने।
कोरियन खानपिनमा भने उनी अझै बानी पर्न सकेका छैनन्। नेपाली खानाको स्वादको तलतल लागिरहन्छ। तर पेट भर्न जे भेटिन्छ, त्यो खानैपर्यो। बिदाका दिनमा भने कहिलेकाहीँ नेपाली खानेकुरा पकाएर खान्छन्।
रोशन २०६६ सालमा दाङबाट काठमाडौं छिरेका थिए। यहाँ दिदी-भिनाजुसँग बसे। पढ्न जनपथ माध्यामिक विद्यालय भर्ना भए। बिहान कक्षा थियो। दिउँसोको काम खोजे। न्युरोडको एक कपडा पसलमा महिनाको तीन हजार पाउने गरी काम थाले।
प्लस-टु पनि उनले त्यही पसलमा काम गर्दै पढे। त्यो बेलासम्म तलब बढेर ६ हजार पाँच सय रूपैयाँ भयो।
जनमैत्री कलेजबाट प्लस-टु सकेपछि उनी स्नातक पढ्ने र पैसा पनि कमाउने भनेर भारत गए। साथीले देहरादूनमा टन्न कमाइ हुने सुनाएका थिए।
'तर होइन रहेछ। उल्टै ठगी गर्ने नेटवर्किङ बिजनेस रहेछ,' रोशनले भने, 'बुबासँग ढाँटेर मागेको तीन लाख रूपैयाँ पनि ठगिदिए। अरू थुप्रै मानिसहरू पनि फसेका थिए।'
कमाउँछु भनेर हिँडेका उनी ठगिएर रित्तो हात भए। घर फर्किने आँट भएन। दाङ नफर्की सिधै दिल्ली गए।
दिल्लीमा उनका साथीहरू कुक काम गर्थे। उनले पनि कुकिङ सिके। केही समय काम गरे। मासिक १५ हजार भारू तलब पाउँथे। यसमा सन्तुष्ट हुन सकेनन्।
'हामी मान्छेको अर्कोसँग तुलना गर्ने बानी हुन्छ। मैले पनि साथीहरूलाई हेरेँ। आफ्नो काम र कमाइसँग चित्त बुझेन। अनि नेपाल फर्किएँ,' रोशनले भने।
नेपालमा चित्तबुझ्दो तलब हुने काम भएन। उनले खाडी देश जाने सोचे। जान धेरै कोसिस गरे तर भिसा लागेन। म्यानपावरका एजेन्टलाई बुझाएको रकम भने कसोकसो फुत्काए।
केही समयपछि एक जना चिनजानका दाइले उनलाई दक्षिण कोरियामा राम्रो अवसर हुने सुनाए। रोशनलाई पनि ठीकै होला भन्ने भयो। विदेश जान भनेर घरबाट मागेर ल्याएको दुई लाख रूपैयाँ साथमा थियो। त्यही पैसाले काठमाडौं बसेर कोरियन भाषा पढ्ने सोचे। घरमा भने उनले केही भनेनन्।
जब घरबाट ल्याएको पैसा सकियो, तब मात्र उनले कोरिया जान भाषा पढिरहेको कुरा परिवारलाई भने।
२०७३ मंसिरबाट भाषा पढ्न सुरू गरेका उनले २०७४ जेठमा परीक्षा दिए। कृषि क्षेत्रमा उत्तीर्ण भए। मेडिकल रिपोर्ट पनि 'फिट' आयो। उनी कोरिया जान तयार भएर बसे।
'पास गरेपछि त अब कोरिया गइन्छ होला भन्ने भयो। फर्केर आउँदा ढिला हुन्छ भन्ने लागेर त्यही बीचमा बिहे गरेँ,' उनले भने।
तर रोशन रोजगारदाताको छनोटमा परेनन्। भिसा रद्द भयो। उनी जान पाएनन्।
कोरिया गएर कमाउँछु र घरको जिम्मेवारी पूरा गर्छु सोचेर बिहे गरेका उनको सपना टुट्यो। त्यसपछि त परिवारमा भन्न पनि उनलाई अप्ठ्यारो लाग्यो। केही त गर्नुपर्यो भनेर काम खोज्न थाले।
उनले घर रंगाउने काम गर्ने सोचे। आफै ठेक्का लिएर काम गर्न थाले। सुरूसुरूमा राम्रै फाइदा भयो। घर खर्च चलिरहेको थियो।
'तर मान्छे एउटै कुरामा सीमित हुन नचाहने रहेछ। ठूलो ठूलो योजनातिर आँखा जान थाल्यो,' उनले भने, 'खानेपानी, भवन लगायत आयोजनामा हात हालियो। स्कुलको काम पनि गरेँ। नाफा हुन छाड्यो। अनि काम बीचमै छाड्नुपर्यो। जता हात हाले पनि घाटामा जान थाल्यो। २० लाख रूपैयाँ जति घाटा खाएँ।'
यो कामबाट उनले हात झिके। त्यहीबीच उनको भाइ घरको कौसीबाट लडे र उनको ढाड भाँचियो। उपचार गर्दा १५ लाख रूपैयाँ ऋण लाग्यो।
यो सन् २०२२ को कुरा हो।
उनले फेरि कोरिया जाने सोचे।
'मलाई खास मन थिएन। श्रीमतीले एकपटक प्रयास गर्न भनिन्। म काम गर्छु, तपाईं पढ्नु भनेर साथ दिइन्,' रोशनले भने, 'म श्रीमतीसहित कलंकीमा बस्थेँ। तर भाषा (इपिएस) पढ्न डिस्टर्ब नहोस् भनेर कीर्तिपुरमा कोठा लिएर बसेँ। श्रीमतीले कलंकीबाट खाना पकाएर ल्याइदिन्थिन्। मैले पनि रटान लाएरै पढेँ।'
मेहनत सफल भयो। उनले उत्पादनमूलक क्षेत्रतर्फको भाषा परीक्षा उत्तीर्ण गरे। यसपटक रोजगारदाताले पनि पत्याए। भिसा आयो। परीक्षा उत्तीर्ण गरेको ६ महिनाभित्रै प्रक्रिया पूरा गरेर उनी कोरिया उडे।
अहिलेसम्म कमाएको पैसा ऋण तिर्दा र पहिले आफूलाई दुःख पर्दा पत्याउने साथीहरूको गुन तिर्दा ठिक्क भएको उनी बताउँछन्।
ठेक्कापट्टामा डुबेको २० लाख र भाइको उपचारको १५ लाख गरी ३५ लाख रूपैयाँ ऋण तिर्न उनलाई एक वर्ष खट्नुपर्यो।
'अब दस वर्ष त ढुक्कै बसिन्छ। निरन्तर काम गर्दा कमाइएला भन्नेमा आशावादी छु,' रोशनले भने।
लड्दैपड्दै कोरिया पुगेपछि उठ्न थालेका रोशनलाई फर्केर नेपालमै केही काम गर्न मन छ। तर कहाँ लगानी गर्ने, सुरक्षित होला कि नहोला भनेर उनी ढुक्क छैनन्। त्यसैले सबै कुरा निश्चित नभएसम्म फर्किहाल्ने सोच छैन। बरू भिसा परिवर्तन गरेर कोरियामै काम गर्ने योजना छ।
'त्यो बेला कस्तो अवस्था आउँछ, हेरौंला,' उनले भने, 'मन त परिवारसँगै बस्ने हो।'
उनका श्रीमती र छोरा अहिले काठमाडौंमा बसिरहेका छन्।