ग्लोबल नेपाली
धादिङका केशव अधिकारी सानो उमेरमै काठमाडौं आए। पारिवारिक स्थितिले गर्दा शिवपुरी स्कुलमा पढ्दै ठमेलमा काम गरेका अधिकारीले आफ्नो पढाइलाई निरन्तरता दिन सकेनन्। त्यसपछि उनी काममा व्यस्त भए।
सुरूमा भारी बोकेर काम सुरू गरेका अधिकारीले होटलमा भाडा माझ्ने अनि कोठा मिलाउने काम गरे। त्यही बेला उनलाई जापानिज भाषा सिक्न मन लाग्यो। त्यसपछि उनी जापानिज भाषा पढ्न थाले। ठमेलमा कहिलेदेखि भारी बोक्न सुरू गरे भन्ने उनलाई मिति ठ्याक्कै याद छैन। २०४७/०४८ सालदेखि नै आफूले काम सुरू गरेको उनले बताए। त्यो बेला उनी भर्खर १३/१४ वर्षका थिए।
दुःखकै बीचमा पनि उनले जापानिज भाषा पढे। जसले उनको जिन्दगी बदलिदियो। जापानमा रेस्टुरेन्ट, नेपालमा व्यवसाय जे जति छ, त्यसको मुख्य श्रेय जापानिज भाषालाई जान्छ।
जब अधिकारी जापानिज भाषामा दोहोरो कुरकानी गर्न सक्ने भए, त्यसपछि जापानिज पर्यटक घुमाउन थाले। जापानिज दूतावाससँग समन्वय गरेर कतिपय काम समेत गर्न थाले।
'सानैमा जापानिज भाषा पढेको र जापानिज पर्यटकलाई घुमाएकै कारण म १९९८ मा जापान जान पाएँ। त्यो बेला म भर्खर २० वर्ष पुग्दै थिएँ,' अधिकारीले भने, 'कुनै बेला जापान मेरो ड्रिम कन्ट्री थियो। जापान टेक्दा कस्तो हुन्छ होला भन्ने लाग्थ्यो। तर बिस्तारै जापान मेरो लागि पानीपधेँरो जस्तै भयो।'
ट्रेकिङ गाइडको अनुभवकै कारण उनले ट्रेकिङ एजेन्सी र ट्राभल एजेन्सी सुरू गरे।
सन् २००० मा सुरू गरेको यो व्यवसाय मज्जाले चल्यो। उनले कुनै समय ३०/३२ जनासम्म कर्मचारी राखेका थिए। जापान जाने, आउने गर्दा समेत उनलाई जापान बस्न मन लागेन। किनकि उनका लागि नेपालमै जापान थियो। अर्थात् सोचेभन्दा राम्रो तरिकाले कमाइरहेका थिए।
'सानोमा गरिबीको पीडाले ठूलो भएर टन्नै पैसा कमाउँछु भन्ने सोच आएको थियो। हुन त त्यो एउटा बाल मनोविज्ञान मात्र थियो। तर परिस्थिति मैले सोचे जस्तै भयो,' उनले भने, 'धादिङको गाउँबाट आएको सामान्य केटोले यति धेरै गर्न सकेको छु भनेर आफूलाई गर्व लाग्थ्यो। बुवाले बेचेको पैत्रिक सम्पत्ति सबै किनेर राम्रै कमाइ सुरू गर्न थालेको थिएँ।'
उनको पर्यटन व्यवसाय सधैं एउटै ढंगले चल्न सकेन। माओवादी द्वन्द्व उत्कर्षमा पुगेसँगै नेपाल आउने पर्यटकको संख्या ह्वात्तै घट्न थाल्यो। पर्यटक घटेपछि उनको व्यवसाय घाटामा जानु स्वाभाविक थियो। त्यसपछि नेपालको व्यवसाय छोडेर उनी जापान भासिन बाध्य भए। अन्तत: सन् २००३ मा उनी जापान गए।
जापान गएर केही समय उनले काम पाएनन्। नेपालमा व्यवसाय गरेर राम्रै गरेका उनलाई उता काम पाउन गाह्रो हुनु स्वाभाविक थियो। किनकि नेपालमा जे काम गरेका थिए त्यो खालको काम जापानमा संभव थिएन। तर ठमेलका गल्ली गल्लीमा भारी बोकेर हिँडेको समेत अनुभव बटुलेका अधिकारी जुनसुकै कामका लागि तयार थिए। त्यही भएर केही समय उनले घर भत्काउने कुल्ली काम पाए।
'केही हप्ता घर भत्काउने काम गरेपछि भेजिटेबलको क्षेत्रमा काम गरेँ। १० वर्षसम्म दिनरात नभनीकन काम गरेँ। बिहान काममा जाँदा घाम देखिँदैनथ्यो भने राति फर्किँदा घाम अस्ताइसकेको हुन्थ्यो,' उनले भने, '९ वर्षसम्म त म नेपाल नै फर्किनँ। १० वर्षपछि भने अब आफ्नै काम सुरू गर्छु भनेर मैले एउटा सानो इण्डियन रेस्टुरेन्ट सुरू गरेँ।'
२०१४ देखि उनी निरन्तर व्यवसायमा छन्। इण्डियन रेस्टुरेन्ट सुरू गरेको १ वर्षपछि उनले जापानिज रेस्टुरेन्ट सुरू गरे। एक, दुई हुँदै नौ वटासम्म रेस्टुरेन्ट भए।
कोभिडका कारण बेचेर अहिले पनि ४ वटा जापानिज रेस्टुरेन्ट छन्। योसँगै उनले नेपाली समुदायका लागि चौतारो सुरू गरेका छन्।
'अहिले मेरै रेस्टुरेन्ट अनि नेपालीहरूको लागि चौतारो सुरू गरेको छु। जहाँ विवाह, ब्रतबन्धका लागि बाहुन, बाजा सबै उपलब्ध छ। ठूलो समूहमा भोजभतेर गर्न समेत मिल्छ,' उनले भने, 'चौतारोमा दाल, चाम, मसला, माछा, मासु, नेवारी खाना, दालभात ढिडो लागयत उपलब्ध छ।'
नेपाली समुदायका कार्यक्रम गर्नको लागि चौतारो चर्चित रहेको उनको दाबी छ। त्यस्तै जापानिज रेस्टुरेन्टमा पनि पार्टी प्यालेस सहितको सेवा उपलब्ध रहेको उनले बताए। उनका सबै रेस्टुरेन्टमा गरेर झण्डै ४० जनाले रोजगारी पाएका छन्।
जापानको केही रेस्टुरेन्ट बेचेर उनले नेपालमा समेत लगानी गरेका छन्।
ठमेलमा उनले सपिङ कम्प्लेक्स बनाउन मिल्ने गरी घरहरू किनेका छन्। अहिले ती घरहरूको भाडा मासिक ६ लाख आउँछ। अहिलेको अवस्थामा लगानी गर्ने कि नगर्ने भन्ने दोधारमा परेका कारण त्यहाँ नयाँ कम्प्लेक्स बनाउने योजना थाती राखेको उनले बताए।
'ढिलो चाँडो त्यहाँ सपिङ कम्प्लेक्स बनाउने हो। अहिले त्यहाँको भाडा मात्र लिएको छु,' उनले भने, 'कुनै समय मैले मासिक ६ सय कमाउँथेँ।अहिले यही ठाउँमा ६ लाख भाडा बुझ्ने हैसियत बनाउन सक्दा खुसी लाग्छ।'
उनले धादिङमा समेत कृषि फार्म सुरू गरेका छन् भने काठमाडौंमा ट्राभल एजेन्सी छ। कुनैबेला १० वर्षसम्म नेपाल नफर्किकन जापान बसेका अधिकारी अहिले जापान र नेपाल आउजाउ गरिरहन्छन्। देशमा लगानीको वातावरण बनेमा जापानको सबै सम्पत्ति बेचेर नेपालमा लगानी गर्ने आफ्नो योजना रहेको उनले बताए।
'जापानिज भाषामा गामान भनेको धैर्यता हो। धैर्य र लगनशील भएर काम गर्यो भने एक दिन सबैलाई सफलता मिल्छ। त्यही भएर म अहिलेको पुस्तालाई धैर्य भएर मेहनत गर्न आग्रह गर्छु,' उनले भने, 'मैले १० वर्ष बाआमा, दसैं तिहार नभनिकन दुःख गरेँ। आज त्यसले मलाई यहाँसम्म पुर्याएको छ। मलाई चिनेका ठमेलका स्थानीयले समेत अरूलाई उदाहारण दिनपर्यो भने मेरो बारेमा भन्छन्।'