ग्लोबल नेपाली
सन् २०१० मा बेलायत जानुअघि धादिङका राजन खकुराल धुलिखेल अस्पतालमा काम गर्थे।
धुलिखेल अस्पतालको हाडजोर्नी विभागमा काम गरिरहेकै बेला उनलाई थप पढ्न विदेश जाने रहर जाग्यो। जनरल मेडिसिन पढेका राजन फार्मेसी पढ्न बेलायत गए।
बेलायत गएको केही समयमै उनले फार्मेसी सम्बन्धी नै काम पाए।
'धुलिखेलमा राम्रोसँग पढेकाले मलाई बेलायतमा सजिलो भयो। मैले खासै बाहिरको काम गर्नुपरेन,' उनले भने, 'धुलिखेलको पढाइ र कामको अनुभवले मलाई उता पनि काम गर्न सहज भयो। बेलायत गएदेखि अहिलेसम्म स्वास्थ्य क्षेत्रमै काम गरिरहेको छु।'
तीन वर्ष फार्मेसी पढेर सकेर सन् २०१९ देखि उनी पूर्ण रूपमा काम गर्न थाले।
कोरोना कालको समयमा उनी खोप कार्यक्रममा व्यस्त भए। खोप अभियानको सुरूआती र मध्य चरणमा अत्यन्तै व्यस्त भए पनि त्यसपछि कम व्यस्त भएको उनले बताए।
त्यसपछि बचेको समयमा केही काम गर्ने सोचे। उनले अडियोलोजी पढ्ने निर्णय गरे।
'मलाई हियरिङ (सुनाइ) को क्षेत्रमा काम गर्ने रहर भयो। कानको हेरचाह, सरसफाइ अनि सुन्ने शक्ति मापन गर्ने पढाइ सुरू गरेँ,' राजनले भने, 'सन् २०२१ देखि हियरिङ क्षेत्रमा छु।'
उनी अहिले अडियोलोजिस्टका रूपमा कार्यरत छन्।
उनले 'ह्याम्स्टेड इयर केयर' र 'वेम्ब्ली इयर क्लिनिक' पनि चलाएका छन्। दुई क्लिनिकमा नौ जना कर्मचारी रहेको जानकारी दिए।
राजनको क्लिनिकमा कान सफा गर्ने, कान सुन्ने क्षमता परीक्षण गर्ने अनि त्यसको आधारमा बिरामी रिफर गर्ने लगायत सेवा दिइन्छ। आवश्यकताको आधारमा बिरामीलाई अन्यत्र रिफर गरिने भए पनि लगभग ८० प्रतिशत समस्याको उपचार क्लिनिकमै हुने उनले बताए।
सेवाग्राहीहरू स्थानीय बेलायती र अफ्रिकी मूलका धेरै छन्।
'उनीहरूलाई कानको समस्या अलि धेरै हुने रहेछ जस्तो लाग्छ,' उनले भने, 'उमेर समूहको आधारमा हेर्ने हो भने बच्चादेखि पाकासम्म, जुनसुकै उमेरका व्यक्ति आउँछन्।'
कानको हेरचाहमा धेरैको चासो भने नरहेको उनी बताउँछन्। एकातिर नियमित परीक्षण नगर्ने, अर्कातिर फोहोर फाल्न खोज्दा जथाभावी कान कोट्याउँदा धेरै समस्या भइरहेको उनले देखेका छन्।
कान संवेदनशील भएकाले जथाभावी कोट्याउँदा घाउ हुने र फोहोर झन् भित्र जाने खतरा रहन्छ। त्यसैले कानको फोहोरदेखि अरू केही समस्या भए कुनै फार्मेसी वा नजिकको क्लिनिकमा गएर उपचार गराउन उनी सुझाव दिन्छन्।
अहिले बेलायतमा आफूले गरिरहेको काम र व्यवसायबाट राजन सन्तुष्ट छन्।
'काम र कमाइबाट म सन्तुष्ट छु। म व्यवसायी मात्र होइन, पूर्णकालीन कामदार समेत हुँ,' उनले भने, 'व्यवसाय र कामबाट बचेको समयमा सामाजिक काम गर्छु। बेलायत र नेपाल दुवैतिर म सक्रिय छु।'
उनी 'अन्तर्राष्ट्रिय धादिङ समाज' का अध्यक्ष हुन्। यसैमार्फत् २०७२ सालको भूकम्पदेखि नेपालमा सामाजिक काममा पनि सक्रिय छन्।
धादिङमा खेलकुद र डिजिटल हेल्थ क्याम्पका लागि काम गरेको उनले बताए। विदेशमा समस्या परेकाहरूलाई पनि सकेको सहयोग गर्छन्।
'धेरैतिर काम गर्न नसके पनि धादिङमा सामाजिक काम गर्ने वातावरण बनाउन म केन्द्रीत छु,' राजनले भने।