साइकलमा देशको झण्डा बोकेर मुलुक चिनाउन संसार घुमेका साइकल यात्री एवं सगरमाथा आरोही पुस्कर शाहको सहयोगका लागि बिहिबार सिड्नीमा सहयोग साँझ आयोजना हुने भएको छ।
नेपाली राष्ट्रिय झण्डासहित विश्वको सात फन्को लगाएका शाहको ‘दि पुस्कर ट्रष्ट’लाई आर्थिक सहयोग जुटाउने उद्देश्यले सिड्नीमा रहेको नेपाली युवाहरूको सक्रियतामा सहयोग साँझ आयोजना गर्न लागिएको हो।
कार्यक्रममार्फत् संकलित रकम ट्रष्टले नेपालमा ‘पुस्कर दाइको साइकल’ क्याफेमा लगानी गरिने संयोजक बद्री क्षेत्रीले बताए।
मुलुकका लागि रगत पसिना बगाएर साइकलमा संसार घुमेका यी साइकल यात्रीलाई राज्यले समेत कुनै स्थान दिन नसक्दा उनि यतिखेर अस्ट्रेलियामा रहेका छन्।
नेपाल अस्ट्रेलिया आउँजाउँ गरिरहेका यी साहसिक साइकल यात्रीलाई जिविकापार्जनमा केही मद्दत पुगोस् भन्ने सोचका साथ अस्ट्रेलियाका युवा जमातले यो योजना अगाडि सारेको थियो ।
कार्यक्रमको संयोजनकारी भूमिका निर्वाह गरिरहेका युवा बद्री क्षेत्रीले कार्यक्रमका लागि चौतर्फी रूपमा प्राप्त सहयोगले उत्साहित भएको बताए।
‘पुष्करले नेपाल र नेपालीको शानलाई अन्तर्राष्ट्रिय रूपमा चिनाए , उनको मुलुक चिनाउने भावी योजना अनुसारको काम गर्नका लागि पनि हामीले कार्यक्रम गर्ने जमर्को गरेका हौं’, उनले भने ।
उनका अनुसार, कार्यक्रममा विश्व साइकल यात्री शाहले आफ्नो यात्राका भोगाइ, भावी योजनाबारे प्रेरणादायी मन्तव्य दिनेछन्।
नेपाली कला संस्कृति झल्कने साँस्कृतिक प्रस्तुति पनि प्रस्तुत हुनेछन्। कार्यक्रमलाई अन्य संघ संस्थाले पनि महत्वपूर्ण सहयोग गरिरहेको संयोजक क्षेत्रीले जानकारी दिए। डिनरमार्फत् संकलित रकम ट्रष्टले नेपालमा सञ्चालन गर्न लागेको ‘पुस्कर दाइको साइकल’ क्याफेमा लगानी हुने बताइएको छ।
क्याफेमा विश्वयात्राका क्रममा पुस्करले प्रयोग गरेका साइकल, सगरमाथा आरोहणका क्रममा प्रयोग गरेका सामग्रीहरू प्रदर्शनीका रूपमा समेत राखिने योजना बनाइएको छ । रकडेलस्थित इन्द्रेणी फङ्सन सेन्टरमा बिहिवार हुने कार्यक्रममार्फत् करिब २५ हजार डलर संकलन गर्ने योजना बनाइएको संयोजक क्षेत्रीले जानकारी दिए ।