नेपाली कथानक चलचित्र ‘प्रसाद’ अस्ट्रेलियामा भने निकै धुमधामका साथ दोस्रो हप्तामा अगाडि बढेको छ।
नेपालमा रिलिज भएको दिनै मंसिर २१ मा सिड्नीको हर्षभिलमा पनि देखाइएको यो चलचित्र सिड्नीका दर्शकले खुलेर प्रशंसा गरेका छन्।
पहिलो हप्ता हर्षभिलमा हाउसफुलका साथ चलेको चलचित्रलाई आयोजक कोवला सोलुसनले बरउडमा लगातार आगामी शनिबार,आइतबार र सोमबार चलचत्रिको शो थपेका छन्।
पृथक कथावस्तुमा तयार पारिएको चलचित्रले दर्शकलाई मज्जासँग हलमा बाँधेर राख्ने क्षमता राखेको चलचित्र हेरेपछि चलचित्रप्रेमी गोविन्द भण्डारीले बताए।
कलाकारको सजिव अभिनय र उत्कृष्ट पात्र चयन चलचित्रको बलियो पाटो हो भने निर्देशक दिनेश राउतले चलचित्रमा दर्शकलाई कति पनि बहकिन दिने ठाउँ राखेका छैनन्। बिपिन कार्की, निश्चल बस्नेत र नम्रता श्रेष्ठको वरिपरि घुमेको चलचित्रमा सबैको भूमिका अब्बल रहेको छ ।
सायन इन्टरनेशनल र गोर्खे इन्टरटेनमेन्ट वितरक र काबोला सोलुसनको प्रस्तुति रहेको यस चलचित्र अस्ट्रेलियाको सिड्नी बाहेक अन्य सहरमा पनि माग भएको आयोजकले जनाएको छ ।