लामो समय विवाद र आरोप प्रत्यारोपमा रूमल्लीएको नेपाल क्रिकेट संघ निलम्बनमा परेको लामो समय बितिसक्यो।
अझै पनि अन्तर्राष्ट्रिय क्रिकेट संघको निलम्बन फुकुवा नभएको पछिल्लो अवस्थामा नेपाल क्रिकेट संघमा केन्द्रबिन्दु बनेको कप्तान पारस खड्काले खेलको विकासमा संघको आवश्यकता खट्किएको औल्याएका छन्।
अस्ट्रेलियामा एक्सपर्ट एजुकेशनको क्रिकेट महोत्सवमा सहभागी हुन अर्का खेलाडी दिपेन्द्रसिंह ऐरीसँगै सिड्नी आइपुगेका पारसले कुनै पनि देशको खेल विकासमा सम्वन्धित संघको भूमिका महत्वपूर्ण हुने भन्दै नेपाली क्रिकेटका लागि पनि क्रिकेट संघ आवश्यक रहेको दोहोर्याए।
निजी क्षेत्रको सहभागिता तथा खेलाडी र प्रशिक्षकको मिहिनेतले पछिल्लो तीन वर्षदेखि आफ्नो अस्तीत्व बचाउन सफल नेपाली क्रिकेटले एक दिवसीय मान्यता प्राएको खड्काले दाबी गरे।
नेपाली क्रिकेटमा निजी क्षेत्रको सहभागिता बढेको र यसले केही हदसम्म नेपाली क्रिकेटलाई अगाडि बढाएको पारसले बताए।
‘यतिखेर नेपालको क्रिकेटको निकाय नेपाल क्रिकेट संघ निलम्बनमा छ, आइसीसीले बिवादित टोलीलाई राखेर समाधानको नयाँ बाटो र विधान खोजिसकेको अवस्था छ। मलाई लाग्छ चाडै नै आइसीसीको निगरानीमा नेपाली क्रिकेटले नयाँ आयाम कोर्ने छ,’ खड्काले सेतोपाटीसँग कुरा गर्दै भने।
हुन पनि यतिबेला नेपाली क्रिकेटलाई माया गर्ने जिम्मेवार पदाधिकारीको खाँचो छ। नेपाली क्रिकेटलाई कुसल ब्यबस्थापन र सक्षम पदाधिकारी सम्मिलित क्रिकेट संघको आवश्यकता रहेको छ।
सधै खेलाडी र प्रशिक्षकले यसको भूमिका निर्वाह गर्न नसक्ने दाबी खड्काको छ। ‘अप्ठ्यारो परिस्थितिमा समस्या फुकाउने काम भने हामीले गरेको हो तर दिर्घकालिन रुपमा नेपाली क्रिकेटलाई संघको खाँचो रहन्छ,’ उनले भने।
नेपाली क्रिकेटको पछिल्लो परिस्थितिमा मेधावी नयाँ पुस्ताको आगमन भएको भन्दै उनले हिजो आफ्नै बलबुँताले खेलेर क्रिकेट धान्ने परम्पराको अन्त्य भैसकेको बताए। ‘नेपाली क्रिकेटमा सन्दीप लामिछानेहरूको आगमनले हाम्रो क्रिकेटको विश्वब्यापीकरण हुदै गर्दा नेपाली क्रिकेटका लागि पूर्वाधार विकासको आवश्यकता रहेको छ,’ उनले भने, ‘प्रतियोगिताहरू छैनन्, नियमित अभ्यासको कमी छ अनि एक्सपोजर शून्य। हिजो पनि नेपाली क्रिकेटमा थुप्रै प्रतिभाशाली खेलाडीहरु नभएका होइनन् तर, उनीहरूको प्रतिभा एक्सपोज नपाउँदा यतैको सीमा भित्र समेटियो।’
अबको दश पन्ध्र बर्षमा टेस्ट राष्ट्रको लक्ष्य बोकेर नेपाली क्रिकेट अगाडि बढेको बताउँदै पारसले भने, ‘एक दिवसीय पाउने पनि हाम्रो सपना थियो, त्यो पुरा भएको छ, अब टेस्ट पनि पाइन्छ। तर, त्यसका लागि नीति र निर्माताको खाँचो छ।’
नेपाली एउटा ठिटो सन्दीप लामिछानेले बिगब्यासमा खेल्दै गर्दा नेपाली क्रिकेटले विश्वब्यापी चर्चा पाएको स्मरण गर्दै राष्ट्रिय टोलीका कप्तान पारसले भने, ‘मौका पाए हामीसँग रहेका थुप्रै सन्दीप लामिछानेहरूले विश्व क्रिकेटमा धुम मचाउनेछन्।’
अहिले संघ निलम्बन र भौतिक पुर्वाधार तथा अन्य कारणले मुलुक क्रिकेटमय हुन नसकेको बताउँदै पारस भन्छन्, ‘हामी कहाँ क्रिकेटको कल्चर बस्न अझै केही वर्ष लाग्नेछ।’
एक दिवसीय मान्यता पछि थुप्रै कर्पोरेट संस्थाहरु क्रिकेटमा होमिएको उदाहरण दिँदै पारसले अगाडि भने, ‘अहिले तीन वटा भए पनि निजी क्षेत्रको कर्पोरेट क्रिकेट आयोजना भइरहेको छ। यसले पनि नेपाली क्रिकेटलाई बिस्तारै ब्यवसायीकरणमा अगाडि बढाएको छ।’
अस्ट्रेलिया क्रिकेटको लागि निकै महत्वपूर्ण राष्ट्र रहेको र यहाँको भौतिक पूर्वाधार तथा ब्यवस्थापन अनि ब्यवसायीकता लोभलाग्दो रहेको भन्दै पारसले यहाँको अनुभव र अभ्यासलाई नेपाली क्रिकेटमा साट्न सके सुनमा सुगन्ध हुने बताए।
पारसले अस्ट्रेलिया भ्रमणका दौरान स्थानीय संघ संस्थाको सहयोगमा यहाँको क्रिकेट निकायसँग भेट्ने मौका पाएको र यो एउटा ठूलो उपलब्धिका रूपमा रहेको समेत सुनाए।
मेलवर्न क्रिकेट मैदान र सिड्नी क्रिकेट मैदानमा भारत र अस्ट्रेलियाबिचको टेष्ट नियाल्दै गर्दा पारसले निकै भावुक मुद्रामा भने, ‘एक दिन हाम्रा पनि यस्ता दिन आउलान्।’