प्रवासी जीवन घडिको सुइसँगै दौडने गर्छ। अर्लाम र घडीको सुइसँगै हुइँकिन नसक्नेले प्रवासलाई सरापेका छन्। अनी कतिले धिक्कारेका पनि छन्।
बिश्वको सबल अर्थतन्त्र भएका मुलुकहरू अमेरिका, अस्ट्रेलियामा त झन समयको खेलनै बेग्लै हुन्छ।
अर्थ आर्जनका लागि स्वप्नलोक मानिने अस्ट्रेलिया र अमेरिकामा बस्ने नेपालीको जीवनशैली पनि अपवाद बाहेक घडीको सुईभन्दा कम छैन।
स्रोतमा प्रचुरता र अलौकिक भुगोल र भौतिक विकासले पनि अस्ट्रेलिया सबैको आँखाको तारो बन्दै आएको छ। यद्यपी प्रवासमा जीवनशैली सहज भने छैन।
समुन्द्र किनारमा खिचिएका सुन्दर तस्बिर अनि गगनचुम्बी भवन मुनी कलेजी ओठलाई फोटोसपले लुकाएर फेसबुकमा पोष्ट गरिएका तस्वीरले स्वदेशमा फूर्ती बढाए पनि मनैदेखि खुसी भएका कमै देखिन्छन्।
विद्यार्थी भएर छिरेका प्रायः नेपाली अमेरिका र अस्ट्रेलियाजस्ता विकसित देशको यस्तो मायाँ जालमा फस्छन् कि न निस्कन सक्छन् न उम्कन नै।
प्रारम्भमा निकै कठिन विद्यार्थी जीवनपछि आवासीय भिसाको चक्करमा उनीहरूको लामो समय गुज्रिसकेको हुन्छ। केही बचाएर केही गरौं भन्ने बेलामा युनिर्भसिटीको फीस तिर्दै सकिन्छ । जब आवासीय भिसा प्राप्त हुन्छ तब उनीहरू पारिवारीक र किस्तामा फसिसकेका हुन्छन्। जाउँ, कसरी जाउँ, नजाउ मातृभूमीको न्यास्रो बिचको त्यान्द्रोले छोएपछि प्रवासको जीवन एनआरएनको नाममा टिकट काटिन्छ।
प्रारम्भमा पैसा कमाएर स्वदेश फिर्छु भन्ने कयैंन नेपाली यस्तै चक्करमा रूमल्लीएर प्रवासी भएको थुप्रै देखेका छौ। तर, प्रवासी जीवनमा रमाउने पनि उत्तीकै छन् र यँहा धिकार्नेको पनि कमी छैन।
ब्यक्तिगत र आर्थिक सुरक्षा अनि काम गर्ने वातावरणका कारण पनि मानिस स्वदेश फिर्न चाहन्नन्। नेपालमा बस्ने भन्दा प्रवासमा बस्नेलाई मुलुक प्राणभन्दा प्यारो हुन्छ।
मानिस मुलुकको डाँडाकाडाँ पाखा पखेरा अनि संस्कार र संस्कृतिमा लालायीत हुन्छन्। तर, फर्कन उनीहरू सक्दैनन्। यँहा एउटा यस्तो जीवनमा दौडिसकेका हुन्छन् जहाँ पूर्ण बिरामले उठिबासनै लाग्नसक्छ।
उमेर र शरीरले यँहाको जीवनशैलीलाई जित्न सक्नुपर्छ, जुन दिन कामलाई जितिदैन त्यो दिन हारेको सिपाही झै मुन्टो निहुराउनुबाहेक केही हुँदैन। हुनसक्छ यी कुरा केही नगन्य प्रतिशतमा लागू नहुनसक्छ तर लगभग शतप्रतिशतको भोगाइ यहीनै हो प्रवासमा।
क्यास झिकेर घर किन्न सकिँदैन, किस्तामा सहजै पाइन्छ यहाँ। सुविधा थुप्रै छन् यहाँ नागरिकलाई। घर, गाडी, फर्निचर अनि आवश्यक सबै बस्तु किस्तामा सहजै पाइन्छ। तर, किस्तामा बितेको जीवनले भने स्वतन्त्रता गुमाउँदो रहेछ, अनुभवले यस्तै देखाउँछ।
अब सबै जीवन किस्तामा चलेपछि त्यही अनुरुपको कमाउनुपर्यो, तिर्नुपर्यो, त्यसका लागि सोही अनुरूप काम गर्नुपर्यो अनि जुरूक्क उठेर कही जाउँ, स्वदेश फर्किउ भन्ने सोचको अवासान त्यही हुँदो रहेछ।
समग्रमा यसलाई बाध्यताको हाँसो भन्न सकिन्छ। लाइफ स्टाइल सहज छ, भौतिक तथा आर्थिक सुरक्षाको ग्यारेन्टी छ। तर, सबै चिज हुँदाहुँदै पनि एउटा चिज नभएको जस्तो हुन्छ त्यो हो आफ्नोपन।
र ब्यवसायीक दक्षताका आधारमा पाँच प्रतिशत नेपाली सुखी र खुसी देखिए पनि ९५ प्रतिशत मानिस आत्मसन्तुष्ट नरहेको तथ्यले देखाउँछ। सामाजिक सम्पत्तिका रूपमा रहेको संस्कार र संस्कृति गुमाउँदै गएको परिस्थितिमा थुप्रै हाम्रो जस्तो साना मुलुकबाट आएका मानिसाहरू अबको ३० वर्षमा स्वास्थ समस्याबाट पीडित हुनसक्ने छन्।
अहिले पैसाका लागि दिनरात नभनी काम गर्ने जमात अबको १५ वर्षमा रोगको चपेटामा पर्न सक्छन्। पीआर तथा नागरिकता र उपचार निःशुल्क भए पनि गम्भीर रोग लाग्दा धेरै कुरा गुमाउनुपर्ने हुन्छ।
विद्यार्थीहरू स्वास्थ्यको ख्याल नगरी दिनरात काम गरेको देखेको छु यो राम्रो होइन। यसले निकट भविष्यमा मानसिक र शारीरिक रूपमा निकै प्रभाव पर्छ। यतिखेर नेपालमा असाध्यै फेसनको विषय बनेको छ अष्ट्रेलिया। कलिला युवायुवती बाबु आमालाई किचकिच गरेर लाखौं नगद बोकेर कन्सलटेन्सी तिर धाउँछन्।
घर बारी धरौटी राखेर होस् या खेतबारी बेचेर होस भिसा लगाउँछन्। तर, यहाँ के गर्ने प्रष्ट उद्धेश्य बोकेका भने कमै भेटिन्छन्।
कुनै मानिसलाई कसैले धकेलेर जबरजस्ती विदेश पठाएको हुँदैन रहर वा बाध्यता या मौकाको खोजिमा मानिस विदेसिन्छन्। त्यसैले यसका लाभ र हानीका पक्षमा आ-आफ्नै तर्क र बितर्क पाइन्छन्।
तर, प्रवासी जीवन सोचेजस्तो सहज र सम्झे जस्तो महान छैन, अनि टिपेको जस्तो कमाउ छैन भन्ने कुराको हेक्का सबैले राखे हुन्छ।
अन्त्यमा तारादेवीको एउटा गीतलाई सम्झेर प्रवासी जीवनलाई विट मार्न मन लाग्यो।
सोचे जस्तो हुन्न जीवन,सम्झेजस्तो हुन्नजीवन।
जस्तो भोग्यो उस्तै हुन्छ,देखे जस्तो हुन्नजीवन।
पीडाहरु बटुलेर रोइरहुँ जस्तो लाग्छ।
खुसीहरू समेटेर हाँसीरहुँ जस्तो लाग्छ।