अस्ट्रेलियामा उच्च अध्ययनमा आएका करिब एक हजार नेपाली विद्यार्थी कलेजको खारेजीसँगै अलमलमा परेपछि काउन्सिल अफ इन्टरनेशनल स्टुडेन्ट्स अस्ट्रेलिया(सीसा)ले बुधबार बेलुकी एक कार्यक्रमको आयोजना गर्दै समस्याको समाधान र कानुनी बाटोको विषयमा विद्यार्थीहरूसँग छलफल प्रारम्भ गरेको छ।
अस्ट्रेलियाका लागि नेपाली राजदूतावास, महावाणिज्यदूतको कार्यालय, एनआरएन र सम्वन्धित कानुनी परामर्शदातासहितको बृहत छलफलमा विद्यार्थीहरूको साझा समस्याका रूपमा रहेको यो विषयलाई सबै निकायले गम्भीरताका साथ लिएको समेत बताए।
यतिखेर अस्ट्रेलियामा चालिस हजारको संख्यामा नेपाली विद्यार्थी उच्च अध्ययनका क्रममा रहेका छन्। यसैबेला एआइबिटी नामक एक निजी कलेजमा नर्सिङ पढ्न आएका करिब एक हजार विद्यार्थीले लामो समय पढिसक्दा पनि सम्वन्धित निकाय एन्म्याकले मान्यता नदिएका कारण उनीहरूको पढाइ अलपत्र पर्नुका साथै सरकारले कलेज खारेजी गर्ने निर्णय गरेपछि सबै विद्यार्थी अन्यौलमा परेका थिए।
यी अन्यौलमा परेका विद्यार्थीहरूलाई नि:शुल्क कानुनी परामर्श र आवश्यक सल्लाह सुझाव दिन आयोजित कार्यक्रममा अस्ट्रेलियाका लागि नेपालको कार्यवाहक राजदूत द्रुपदा सापकोटाले नेपाल सरकारले विद्यार्थीहरूको यो समस्यालाई नजिकबाट नियालिरहेको र सम्वन्धित निकायमा पत्राचार तथा परामर्शमा रहेको बताइन्।
उनले अन्यौलमा रहेका विद्यार्थीहरूलाई आवश्यक पर्दा सहयोग लागि आफूहरू जुनबेला पनि तयार रहेको बताइन्।
कार्यक्रममा रेडर्फन लिगलले विद्यार्थीहरूका लागि नि:शुल्क कानुनी परामर्श र लडाइँ लड्ने व्यवस्था मिलाइएको छ।
रेडफर्न लिगलका स्वान स्टीमसनले सरकारले कलेजको दर्ता खारेजी गरेको र पुनरावेदनमा जाने बाटो खुला भएकोले विद्यार्थीको हितमा के कसरी अगाडि बढन सकिन्छ आफूहरू तयार रहेको बताए।
स्टडी न्यु साउथवेल्स केइटी हानाले कलेजमा पढ्ने विद्यार्थीहरूको अनेकन समस्याहरूमा स्वास्थ र मानसिक समस्याका विषयमा आफूहरू गम्भीर रहेको बताउँदै आफ्नो संस्था उनीहरूको विषयमा गम्भीर रहेको सुनाइन्।
सिसाका केन्द्रिय अध्यक्ष विजय सापकोटाले अन्तर्राष्ट्रिय विद्यार्थीको हक हितका लागि आफ्नो संस्थाले यस्ता खाले समस्याहरूलाई मिडियटरका रूपमा बसेर अस्ट्रेलियन सरकारमा पुर्याउने कार्य गरिरहेको बताए।
‘हामीले कलेजको बदमासीका विषयमा सम्वन्धित निकायमा आवाज उठायौं ,राज्यले यसलाई गम्भिरताका रूपमा लियो र तुरुन्तै कारबाही अगाडि बढायो। अबका दिनमा अब यो अन्यौल चिर्न के के गर्ने भन्ने विषयमा हामी कानुनी परामर्शसँगै सम्वन्धित सरकारी निकायसँग परामर्शमा रहनेछौं’ , सापकोटाले भने।
उनले विद्यार्थीहरूलाई हतारको निर्णय नगरी पढाइ जारी राख्न र अर्को निर्णय पर्खन आग्रह समेत गरे।
शैक्षिक परामर्शदाताहरूको छाता संगठन एकाका अध्यक्ष परशुराम अधिकारले विद्यार्थीको हितमा आफ्नो संस्था सधैं अगाडि रहेको बताउँदै शैक्षिक संस्थाहरूले काम गर्दै गर्दा विद्यार्थीको हितलाई सर्बोपरी ठानेर काम गर्नुपर्ने बताए।
कार्यक्रममा एनएसडब्लुका महावाणिज्यदूत दिपक खड्का, एनआरएनका प्रवक्ता डिला खरेललगायतले विद्यार्थीहरूको समस्यामा सबै एकसाथ रहेको बताए।
कार्यक्रममा सहभागी एक विद्यार्थीले सेतोपाटीसँग कुराकानी गर्दै भने, ‘जुन विषय पढाएर आधिकारिक सर्टिफिकेट दिन पाइँदैन भने त्यो कोर्ष कसरी पढाउन पाइने? राज्यको नीतिका कारण पनि प्रमोटरहरूको मनोमानी बढेको छ।’
सीसाका मेलवर्न च्याप्टरका अध्यक्ष डन डाउटीले सन्चालन गरेको कार्यक्रममा विद्यार्थीहरूले यति ठूलो संख्यामा रहेको नेपाली विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने एजेन्सीलाई कारबाहीको माग समेत गरेका थिए।
करिब तीन सय विद्यार्थी उपस्थित रहेको कार्यक्रममा विद्यार्थीहरूले विदेश आउँदा हतारमा नभइ सबै विषय बुझेर अनि पढेर मात्र आउनुपर्ने धारणा राखे।
विदेश जाने होडबाजीमा अर्काको भरमा लागेर आउँदा दु:ख पाएको उनीहरूले सुनाए।
यस्तै बरउडमा रहेको अर्को एउटा कलेजले पनि करिब ७० जना नेपाली विद्यार्थीलाई यस्तै अन्यौलमा पारेका कार्यक्रममा सहभागी एक विद्यार्थीले खुलासा गरिन्।