न्यूजिल्याण्डको क्राइष्ट चर्च सहरको दुई मस्जिदमा भएको आक्रमणमा परेर ४९ जनाको मृत्यु भएपछि यतिखेर न्यूजिल्याण्ड शोकमा डुबेको छ।
क्राइष्ट चर्च सहरको घटनास्थल लगायत देशका विभिन्न सहरहरूमा समवेदना अर्पण गर्नेहरूको ताँतीनै लागेको छ। शान्त न्यूजिल्याण्ड निमेशभरमै अशान्त देखिएपछि प्रधानमन्त्रीले हिजोको दिनलाई मुलुककै ‘कालो दिन’ भनेर संज्ञा दिएकी छिन्।
न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्दा आर्डन र क्राइस्ट चर्चकी मेयर लियानी डाल्जेलले क्राइस्ट चर्चका मुस्लिम समुदाय र मृतकका आफन्तहरूसँग भेटघाट गरी समवेदना प्रकट गरेका छन्। प्रधानमन्त्री स्वयं मुस्लिम ड्रेस लगाएर मस्जिदमा पुगेकी थिइन्।
भेटका अवसरमा प्रधानमन्त्री स्वंयले मृतकका परिवारलाई आवश्यक सहयोग र मृतकको धार्मिक परम्परा अनुसार अन्त्येष्टि गर्नको लागि व्यवस्था मिलाउनका लागि समेत सरकार लागिपरेको बताएकी छिन्।
प्रहरीका अनुसार आक्रमणकारी २८ वर्षीय ब्रेन्टन टाटरन्टलाई आज अदालतमा उपस्थित गराइएको छ । प्रहरीले खबर पाएको ३५ मिनटभित्र आक्रमणकारीलाई पक्राउ गर्न सफल भएको हो।
मृतकको आत्माको चीर शान्तिको कामना गर्न र परिवारहरूलाई संवेदना व्यक्त गर्दै घटनास्थल भन्दा केही पर आम सर्वसाधारणहरू जम्मा भई फूलका गुच्छाहरू र कार्डहरू अर्पण गरेका छन्।
अकल्याण्ड र वेलिङटन लगायत विभिन्न सहरमा समेत शोकसभाको आयोजना गरिएको छ । यसैबीच क्राइष्ट चर्चमा रहेका नेपालीहरूको संगठन क्यान्टनबरी नेप्लिज सोसाइटी र न्यूजिल्याण्ड नेपाल फ्रेन्ड्शीप सोसाइटी मिलेर घटनास्थल अगाडि शोकसभाको आयोजना गरेका छन्।
करिब एक सय जनाको हाराहारीमा उपस्थित नेपाली समुदायले मैनबत्ती बालेर मृतकप्रति श्रद्धाञ्जली अपर्ण गर्दै चिरशान्तीको कामना गरेका थिए।
नेपाली समाजका अगुवाहरू प्राध्यापक राजेश ढकाल र दिपक पाण्डेले घटनाप्रति दु:ख व्यक्त गर्दै पीडित परिवारको सहयोगमा नेपाली समुदाय तत्पर रहेको बताएका थिए।
देशभित्र रहेका सबै मस्जिदहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
प्रहरीले आम सर्वसाधारणको सुरक्षालाई प्राथमिकता राखी काम गरिरहेको प्रहरीले जनाएको छ।
अस्पतालका अनुसार ४६ जना घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको छ।
नेपाल सरकार लगायत संसारभरका राष्ट्र प्रमुख र सरकार प्रमुखहरूले न्युजिल्याण्डको यो घटनामा समवेदना व्यक्त गरिरहेका छन्।
पीडित परिवारहरूको राहतको लागि विभिन्न माध्यमबाट राहत संकलन गर्ने काम जारी छ।
अहिलेसम्म बीस लाख डलरभन्दा बढी रकम संकलन भैसकेको छ।