राज्यले दिएको सुविधालाई व्यवसायिक आँखाले हेर्न र पैसा कमाउने बाटो फेर्न थालिएपछि यतिखेर अस्ट्रेलियाका अध्यागमन कानुनहरू पेचिलो बन्दै गएको छ।
उच्च अध्ययनको लागि आकर्षक गन्तव्यका रूपमा चिनिने अस्ट्रेलिया पछिल्ला समयमा नेपाली विद्यार्थीहरूको लागि कठिन गन्तव्यका रूपमा देखिन थालिएको छ। एकपछि अर्को अप्ठ्यारा चुनौती र अध्ययनको लर्कोपछि मात्र स्थायित्वको ठेगान लाग्ने भएपछि अस्ट्रेलियाको पिआर अबका दिनमा पहिलेजस्तो सहज र सजिलो भने रहेन।
प्रारम्भमा पढेर र अन्य प्रायोजकको बाटोबाट नेपालीहरूको स्थायित्वको बाटो सहज रहँदा पचासौं हजार नेपालीहरूले अस्ट्रेलियामा स्थायित्व पाएको कुरा कसैसँग लुकेको छैन। तर अहिले आएर पढाइमा पनि अब्बल दर्जाका विद्यार्थीहरू र क्षमताका हिसाबले दक्षहरूले मात्र प्राविधिक तहमा यहाँको स्थायित्व प्राप्त गर्ने देखिन्छ।
प्रारम्भमा स्थायित्वका विभिन्न बाटा प्रयोजनलगायत रहेता पनि सुविधाका कैयौं बाटालाई पैसा कमाउने पाटाका रूपमा व्यवसाय गर्न थालिएपछि सरकारले त्यस्ता बाटा बन्द गराइदिएको प्रशस्त उदाहरणहरू छन्।
यतिखेर सरकारी सहुलियतमा पाइने कैयौं मार्ग निकै कठिन बनिसकेका छन्। पछिल्लो समयमा राज्यले विद्यार्थीको सहुलियतका लागि दिएको परिवारिक सुविधालाई पनि व्यापार गर्नेले अपारका रूपमा लिन थालेपछि डिपेन्डेडको चुनौती पनि चुलिन थालेको छ।
नक्कली विवाह गरेर अस्ट्रेलिया भित्रिने र भित्र्याउने गिरोहको चक्करमा यो भिसाले पनि विस्तारै कडाइका रूपमा लिन थालेको छ।
नक्कलीका कारण सक्कली जोडीले विभिन्न बहानामा दु:ख पाउन थालेको हामीले सुन्दै आएका छौं।
पढ्न आउँदै गर्दा परिवार छुट्टिनु नपरोस् भन्ने अभिप्रायले दिइएको सुविधा कमाउनेहरूको लागि गोरखधन्दा भएपछि यसले कठिन परिस्थितिको सामना गर्नु परेको हो।
‘सरकारले दिएको सहुलियत र सुविधालाई अनावश्यक रूपमा प्रयोग गर्नु पनि उचित होइन, किनभने डिपेन्डेडको नाममा पैसा तिरे अर्को मान्छे ल्याउने खेलले हाम्रो समाजमा गलत सन्देश प्रवाह गरेको छ’, काउन्सिल अफ इन्टरेशनल स्टुडेन्ट्स अफ अस्ट्रेलियाका केन्द्रीय अध्यक्ष विजय सापकोटाले भने।
सापकोटा अगाडि भन्छन,‘नैतिक रूपमा हामी धेरै ठाउँमा चुकेका छौं,यसलाई हामीले सुधार्नु आवश्यक छ,सुविधाका रूपमा दियो भन्दैमा कार्यक्रम र चलचित्र देखाउने नाममा मान्छे ल्याएर यतै छाड्ने र कमाउने धन्दा बनाउने काम बन्द हुनुपर्छ।’
त्यतिमात्र होइन यतिखेर तालिम भिसाका रूपमा मान्छे ल्याएर ठूलो रकमको चलखेल गर्ने गिरोह पनि सिड्नीमा सक्रिय भएको छ।
सरकारले विभिन्न प्राविधिक विषयमा प्रयोजकहरूको अनुरोधमा तालिम भिसा उपलब्ध गराउने गर्दछ।
एक वर्षे तालिम भिसा मानिस ल्याउने र पछि विद्यार्थी भिसामा यतै राख्ने गिरोहले बिसौं लाखसम्म लिएको समेत सुनिन थालेको छ।
यस्तै सुविधाहरूलाई गलत ढंगले व्याख्या गर्ने र कमाउ व्यवसाय बनाउनेहरूले अस्ट्रेलियन सरकारको सुविधा र सहुलियतलाई पेचिलो बनाउँदै लगेका छन्।
पछिल्लो समयमा पर्यटक भिसामा अस्ट्रेलिया आउने र नो फर्दर स्टे कन्डिसन नभएकाहरूले सहजै अस्ट्रेलियामा अध्ययनको बाटो खोल्न सक्ने प्रावधान कैयौंका लागि सहुलियत बनेको थियो। तर धमाधम विवाह,व्रतबन्ध,चलचित्र र कार्यक्रम अनि पास्नी र बर्थ डेका नाममा आफन्त बोलाएर बुढादेखि बच्चासम्मलाई यतै थन्काउने खेल सुरू भएपछि यो भिसामा पनि सरकार सचेत बनेर नयाँ नियमन सुरू गरेको छ।
प्रारम्भमा भ्रमण र अन्य भिजिटर भिसामा आउनेहरूलाई बिना रोकतोक कलेजमा सहजै भर्ना प्रकृया दिइन्थ्यो भने अबका दिनमा भाषा परीक्षा पास गर्नुपर्ने र पढ्ने आर्थिक स्रोत खुलाउनुपर्ने भएपछि धेरैलाई अप्ठ्यारो पर्न थालेको छ।
‘भिजिटर भिसामा आउनेहरूका लागि पहिले पनि भाषा र आर्थिक स्रोतको आवश्यकता थियो तर पहिले सम्बन्धित शैक्षिक निकायलाई देखाए पुग्थ्यो तर अहिले अध्यागमनलाई पनि प्रमाणित गर्नुपर्ने छ ,तर यो सहुलियतका रूपमा थियो यसलाई केही मानिसले व्यवसायीकरण गर्न थालेपछि राज्यले कडाइ सुरू गरेको पक्कै हो,’ कानुन व्यवसायी शम्सेरसिंह थापा बताउँछन्।