अस्ट्रेलियामा नेपाली समुदाय बाक्लिदै जाँदा बढ्दो प्रभाव र महत्व पनि बढ्न थालेको छ।
यसको ज्वलन्त उदाहरण हो, शनिबार सम्पन्न ४६ औं संसदका लागि आम निर्वाचनमा नेपालीहरूको बृहत सहभागिता र चासो।
बिहान नौ बजेदेखि प्रारम्भ भएको निर्वाचनमा सत्तारूढ दल लिबरलको तर्फबाट निला टिसर्ट र प्रतीपक्ष लेबरको रातो पहिरन लगाएर मतदान केन्द्रमा हजारौं नेपाली खटिएको दृष्य निकै रोचक देखिन्थ्यो।
अस्ट्रेलियामा हाल सत्तासिन दल लिबरल र प्रतिपक्ष लेबरले एनएसडब्लु राज्यमा नेपाली समुदायका लागि भवन बनाउन दस करोड रुपैयाँ सहयोगको घोषणा गरेर नेपाली जनमतलाई आफ्नो पक्षमा पार्ने कोशिस गरेपछि चुनावको रौनक बढेको थियो।
यतिखेर दुई दलबीचको प्रतिस्पर्धा निकै साँघुरो मानिँदै आएको छ।
प्राइमरी भोटमा लेबरको ५१ प्रतिशत र सत्तासिन लिबरलको ४९ प्रतिशत मत भिन्नताले पनि चुनाव रोचक मोडमा पुगेको छ ।
अस्ट्रेलियामा सम्पन्न संघीय चुनावले नयाँ संसद तथा प्रधानमन्त्रीको समेत चयन गर्नेछ।
निर्वाचनमा विधानसभा अर्थात् तल्लो सदनका लागि एक सय ५१ सिट तथा सिनेट अर्थात् उपल्लो सदनका लागि ७६ मध्ये ४० सिटका लागि मतदान सम्पन्न भएको छ।
अस्ट्रेलियाको राजनीतिक सरगर्मी बढेकै बेला नेपालीहरूको बाक्लो बसोबास भएको बार्टन क्षेत्रमा नेपाली मूलका नवलपरासी थात थलो भएका प्रमेज श्रेष्ठलाई लिबरल पार्टीद्वारा सांसदको टिकट दिएपछि सयौं नेपाली उनको प्रचार प्रसारमा दिनभर खटिएका थिए।
‘नेपाली समुदायको बढोत्तरीसँगै अस्ट्रेलियामा हाम्रो समुदायलाई लक्षित गरी नीति तथा कार्यक्रमहरू समेत बन्दै जान थालेका छन्, जुन हाम्रो समाजका लागि महत्वपूर्ण उपलब्धि हो,’ लिबरल फ्रेन्ड्स अफ नेपालका उपाध्यक्ष विवेक थापाले भने।
अध्यागमन मन्त्री तथा लिबरलका नेता डेविड कोलम्यानको पानानिया क्षेत्रका बुथ कप्तान समेत रहेका विवेक थापाले नेपाली समाजको अस्ट्रेलियन राजनीतिमा प्रत्यक्ष प्रवेशले धेरै विषयमा महत्व बोकेको बताए।
सो क्षेत्रमा नेपाली युवाहरू दिनभर बुथमा उम्मेदवारका सहयोगीका रूपमा कार्यरत रहेका थिए।
जसमा झापाली समाजका उपाध्यक्ष उमेश पोखरेल, नयाँका अध्यक्ष प्रकाश खरेल, आइसीसी ओसेनिया खेलकुद संयोजक भुपाल सिटौला, पूर्व आइसीसी सदस्य प्रकाश जीसी, भिष्म भण्डारी, सन्चारकर्मी माधव गैरै लगायतको टोलीले कोलम्यानको अभियानमा सहयोग गरेका थिए।
यस्तै नेपाली मूलका उम्मेदवार प्रमेज श्रेष्ठको अभियानमा एनआरएनका प्रवक्ता डिला खरेल , एनआरएनका पूर्व एनएसडब्लु कोषाध्यक्ष लक्ष्मण सापकोटा, एनआरएनका सल्लाहकार स्वतन्त्र प्रताप शाह, युवा व्यवसायी राज खनाल,सुदूरपश्चिम समाजका अध्यक्ष दीपक जोशीगायतको ठूलो टोली दिनभर प्रचार प्रसारमा जुटेको थियो।
‘मुलुकभन्दा धेरै पर अस्ट्रेलियाजस्तो देशमा आएर सशक्त र सबल अनि अब्बल ठहरिँदै गएको नेपालीहरूको इमानदारिता र लगनशीलतानै यहाँका दल र नेताहरूको रोजाइँको सूचक हो भन्ने कुरामा दुईमत छैन’, नेपाली फ्रेन्ड्स अफ लेबरका संयोजक गोवा कटुवालले भने,‘ जो जहाँ लागे पनि नेपाल र नेपालीको पहिचान उजिलिएको छ,यो नै महत्वपूर्ण विषय हो।’
पछिल्ला घटनाक्रम र सहभागिताले आगामी दिनमा अस्ट्रेलियाको राजनीतिक मूलधारमा नेपालीहरूको उल्लेख्य सहभागिता हुनसक्ने संभावना प्रवल देखिएको छ।
प्रतिपक्ष दल लिबरल र लेबरका दुई भगिनी संस्थाहरू लिबरल फ्रेन्ड्स अफ नेपाल र नेपाली फ्रेन्ड्स अफ लेबर केही समयदेखि अस्ट्रेलियान राजनीतिमा देखिएका नेपालीहरूको संस्था हुन्।