ग्लोबल नेपाली
सन् १९९७ मा मेलवर्नमा बस्ने नेपालीहरूले सांस्कृतिक केन्द्र बनाउनेबारे बहस गरेका थिए। त्यो बेलामा नेपालीहरू निकै सानो संख्यामा थिए। समय समयमा यसको बहस भइरहे पनि सन् २०१४ मा मात्रै अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरको स्थापना भयो।
त्यो बेलादेखि मल्टिकल्चरल सेन्टरको स्थापना गर्नको लागि रकम संकलन गर्न थालिएको अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरका अध्यक्ष गान्धी प्रसाद भट्टराईले बताए।
गान्धी भट्टराई सन् २०२२ मा अध्यक्ष भएका हुन्। उनी सुरूदेखि कमिटीमा सदस्य छन्।
‘२०१४ देखि २०१७ सम्म ३ लाख डलर जम्मा भएको थियो। त्यसपछि हामीले २०१७ को डिसेम्बर सप्ताहको आयोजना गर्यौं। त्यो क्रममा ११ लाख डलरको प्रतिबद्धता आयो,’ उनले भने, ‘त्यसपछि हामीले १६ लाख डलरमा जग्गा किन्यौं। १ सय १० रोपनी जग्गा किनेपछि हामीले मिनी नेपाल बनाउने गुरूयोजना तयार पारेको हो।’
बस्ती बस्ने क्षेत्र भएकाले यहाँ कल्चरल सेन्टर बनाउने प्रक्रिया पूरा गर्न १ वर्ष लागेको थियो।
अहिले काउन्सिलले त्यहाँ पूजापाठको लागि मात्रै अनुमति दिएको छ। धेरै मान्छे जम्मा हुन पाइँदैन। भिक्टोरियामा रहेका नेपाली समुदायको पूजापाठ गर्ने ठाउँ नभएकाले पहिलो अनुमति पाउन सफल भएको अध्यक्ष भट्टराईले बताए।
मल्टिकल्चरल सेन्टरको लागि हिमसिटी काउन्सिल र संघीय सरकारले आर्थिक अनुदान समेत दिएको छ।
‘हामीलाई चाडपर्व मनाउन भनेर सन् २०१७ देखि नै काउन्सिलले १० हजारदेखि ४० हजार डलर सम्म उपलब्ध गराउँदै आएको थियो। धार्मिक तथा सामुदायिक भवनको लागि ३ लाख ९ हजार डलर अनुदान आएको थियो।,’अध्यक्ष भट्टराईले भने,‘यस बाहेक हामीले अस्ट्रेलियाको संघीय सरकारबाट ५ लाख ५० हजार डलर अनुदान आएको थियो। यो रकमबाट हामीले कम्पाउण्ड बनाउने,पस्ने र निस्किने गेट बनाउने अनि सिसी क्यामेरा राख्नको लागि मात्रै खर्च गर्न पाइन्छ।’
सात चरणको गुरूयोजना अन्तर्गत अहिलेसम्म पहिलो चरणको काम सम्पन्न भएको छ।
यस अन्तर्गत बौद्ध गुम्बा बनेको छ। त्यसमा भगवान बुद्धको मन्दिर छ त्यस्तै हिन्दु धर्मको मन्दिर छ। मेडिटेसन हल समेत तयार भइसकेको छ। सांस्कृतिक गतिविधिका लागि कार्यक्रम गर्ने हल अनि खाना खाने प्रबन्ध गर्न मिल्ने ठाँउ छ। अहिले तीन सय जना हल अट्ने ठाउँ छ। ब्रतबन्ध, बिहे जस्ता परम्परागत कामहरू हुन थालिसकेका छन्।
गएको नोभेम्बरयता ६० वटाभन्दा धेरै बिहे भएको भट्टराईले बताए। भारतीय समुदायले समेत यहाँ आएर बिहे गर्न थालेका छन्।
‘हामीसँग मिनी नेपाल बनाउने गुरूयोजना छ। त्यसको लागि ४० मिलियन खर्च लाग्छ। हामीले यहाँको सरकारसँग अनुदान मागिरहेका छौं भने समुदायसँग पनि हातेमालो गरेका छौं,’ उनले भने, ‘पशुपतिनाथ मन्दिर, स्वयम्भुनाथ, बहुसांस्कृतिक केन्द्र, स्टेडियम, मेलवर्न कुण्ड, रामजानकी मन्दिर लगायत बनाइन्छ। कतिपय संरचना तयार समेत भइसकेका छन्।’
विगत दुई वर्षदेखि मेलवर्न कुण्डमा छठ समेत मनाइँदै आएको भट्टराईले बताए।
विशेष गरेर बुद्ध र हिन्दु धर्मका चाडपर्वका कार्यक्रम बाहेक हरेक १५ दिनमा सत्संग र मेडिटेसन हुन्छ। त्यसको लागि हिमसिटी काउन्सिलले सहयोग गरेको छ।
मेलवर्नमा बनाउन लागिएको मिनी नेपालबारे हामीले अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरका अध्यक्ष गान्धी प्रसाद भट्टराईसँग भिडिओ कुराकानी गरेका छौं।