ग्लोबल नेपाली
एउटा व्यक्तिले आफ्नो जीवनमा कति वर्षसम्म जागिर गर्छ होला? यति नै समय भनेर कसैले पनि भन्न सक्दैन। तर खोटाङमा जन्मेका भरणशेर राईले आफ्नो जीवनमा ५७ वर्ष जागिर मात्रै गरे।
६ महिनाअघि मात्रै उनले जागिरबाट विश्राम लिएका हुन्। ३५ वर्षदेखि अस्ट्रेलिया बस्दै आएका राईको खोटाङदेखिको यात्रा भने जो कोहीलाई सपना जस्तै लाग्छ। १६ वर्षको उमेरमै विदेसिएका राईको पहिलो जागिर ब्रिटिस आर्मीमा भर्ती भएपछि सुरू भएको हो। सन् १९६४ मा उनी ब्रिटिस आर्मीमा भर्ती भएका हुन्।
वि.सं २००४ मा खोटाङको हलेसीमा जन्मेका राई वि.सं २०२० सालमा लाहुरे बन्ने सपना बोकेर धरान आए। धरानबाट लाहुरे परीक्षा पास गरेका उनलाई मलेसिया ल्याइयो। त्यो बेलामा बेलायतले मलेसियामा ब्रिटिस गोर्खा बटालियन खडा गरेको थियो। त्यो समय मलायको लाहुरे बन्नु युवाहरूको सपना हुन्थ्यो। ९ महिना मलेसियामा तालिम गरेपछि उनी सन् १९६५ मा ब्रुनाई युद्धमा खटिएका थिए।
‘त्यो बेलामा इण्डोनेसियाले ब्रुनाईमा दुःख दिएको थियो। युद्धकै कारण धेरै नेपालीलाई ब्रिटिस सरकारले भर्ती गराएको हो,’ राईले सेतोपाटीसँग भने, ‘मैले ब्रिटिस गोर्खामा १५ वर्ष नोकरी गरे।त्यो अवधिमा मलेसिया, सिंगापुर, हङकङ, युके, फिजी अनि साइप्रस लगायतका ठाउँमा गएँ।मैले युद्ध लडेको ब्रुनाईमा हो।’
सन् १९६५ मा इण्डोनेसियासँग भएको युद्धमा आफू मुस्किलले बाँचेको उनको अनुभव छ। ब्रिटिस गोरखा फौजले हमला गर्ने तयारी गरे पनि पहिला नै इण्डोनेसियाले हमला गरेका कारण आफूहरूलाई अप्ठ्यारो परेको राईले बताए। त्यही क्रममा उनले आफ्ना दुई नेपाली साथी गुमाए।
‘सुरूमा त बाँचौंला भन्ने नै लागेको थिएन। नजिकैबाट गोली आउने जाने भइरहँदा कसलाई आश हुन्छ र! तालिममा लिएको आँट र साहसले भने बलियो बनाउने रैछ,’ उनले भने।
कहिले युद्ध अनि कहिले कुन देश गर्दागर्दै उनले पल्टनमा १५ वर्ष बिताए। त्यो अवधिमा उनी ४ पटक मात्र नेपाल फर्किए। फर्किनका लागि पैसाको अभाव अनि बिदा पनि पाउन गाह्रो थियो।ब्रिटिस नागरिकलाई भन्दा ३/४ गुणा कम तलब हुने भएकाले पैसाको दुःख भएको उनले सुनाए।
‘सुरूमा त मेरो तलब मासिक ६ पाउन्ड स्टर्लिङ मात्रै थियो। त्यो पनि तालिमको अवधिमा गुरूजीहरूले लिएका हुन्थे। तालिम सकेर पल्टन गएपछि भने ४२ मलेसियन रिङ्गिट हुन्थ्य,’ उनले भने।
सेनाबाट अवकाश पाएपछि उनले धरानमा २ कट्ठा जमिन किने, त्यही घर बनाए। ४ बिघा खेत समेत उनले किनेका थिए।
ब्रिटिस आर्मीबाट आएको पैसाले बस्ने घर अनि खेती गर्ने खेत किने पनि उनलाई नेपाल बस्न मन लागेन। उनी फेरि सुरक्षा गार्डको जागिर गर्न ब्रुनाई आए। ब्रुनाईमा ९ वर्ष सुरक्षा गार्डको काम गरे। त्यहाँको राजदरबारमा काम गर्ने भएकाले कमाइ राम्रो थियो। उनले काठमाडौंको मिनभवनमा दुई तले घर बनाए। यतिले पनि उनको मन मानेन।
काठमाडौं र धरानमा घर, प्रशस्त खेत हुँदा समेत किन तपाईंलाई विदेशकै चाहना भयो?
‘सानैमा देश छोडेर बाहिर डुल्ने बानी लागेपछि यस्तै हुँदो रहेछ,’ उनले जबाफ दिए।
नेपाल फर्किन मन नलागेकै कारण उनीसँगै काम गर्ने ११ जनाले अस्ट्रेलिया आउने सोच बनाए। अनि सुरू भयो अस्ट्रेलिया आउने योजना।
‘हामी ११ जना नेपाल नफर्किने कतै जानुपर्छ भन्ने निष्कर्षमा पुग्यौं। अस्ट्रेलिया छिर्ने, त्यहाँ छिरेपछि आफ्नो डकुमेन्ट सबै फाल्ने त्यहाँको सरकारले सोधेमा पनि केही थाहा छैन भन्ने तयारी भयो,’ उनले भने।
११ जना अस्ट्रेलिया जाने र उतै हराउने निष्कर्ष निकालेपछि उनीहरू ब्रुनाईमा रहेको अस्ट्रेलियन दूतावासमा पुगे। अस्ट्रेलिया घुम्न जानको लागि भिसाको लागि आवेदन दिए। उनीहरू सबैको भिसा पनि आयो।
‘हामीले भिसा पाएपछि सबभन्दा पहिला पूर्णबहादुर दाइ जानुभयो। १९८८ मा दाइ डार्भिन हुँदै सिड्नी पुग्नुभयो भने म १९८९ को डिसेम्बरमा त्यही बाटो हुँदै सिड्नी पुगेको थिएँ। मभन्दा पहिला विभिन्न चरण गरेर १० जना सिड्नी पुगिसकेका थियौं,’ उनले सुनाए।
सबभन्दा पहिला पुगेका पुर्णबहादुर राईले एक जना फिजीका नागरिकलाई भेटेका रहेछन्। उनले गोर्खा फौजमा काम गरेकालाई यहाँ सजिलो हुनसक्ने भनेका थिए। तर उनीहरूले त्यो सजिलो बाटो पत्ता लगाउन सकेका थिएनन्। त्यसपछि उनीहरूले शरणार्थी बन्ने प्रयास गरे। त्यसका लागि कानुन व्यवसायीसँग छलफल गरे। २०४५ सालमा धरानमा भूकम्पले ठूलो क्षति पुर्याएको थियो। त्यसलाई आधार बनाएर ११ जनाले शरणार्थीका लागि आवेदन दिए। त्यसपछि उनीहरूले आफ्नो परिचय लुकाउन नपर्ने भयो। अरू १० जना काममा व्यस्त रहे पनि भरणशेर भने भर्खरै आएकाले कामको खोजीमा भौंतारिएका थिए।
‘१९९० मार्चको एक दिन काम खोज्न दिनभरि डुलेर कोठामा फर्किंदै थिए। मलाई चिन्ने एक जनाले बोलाएर गोर्खा सैनिकको लागि अस्ट्रेलियामा बसोबासको व्यवस्था मिलाउन सुझाव दिएको समाचार देखायो। त्यही समाचारको आधारमा म मेलवर्न आइपुगेँ।’
एक जना अवकास प्राप्त कर्नेल चाल्स क्याम्प्यागनेकले हङकङमा रहेका ८ हजारमध्ये ४ हजार गोर्खा फौजलाई अस्ट्रेलियामा ल्याउनुपर्ने सुझाव दिएको समाचार आएकै आधारमा उनी मेलवर्न आएका हुन्।
बेलायतले चीनलाई हङकङ बुझाउने मिति १९९७ नजिकिँदै गएको सन्दर्भमा यस्तो बहस भएको थियो। यो समाचार भुपू गोर्खासँग सम्बन्धित थिएन। तर पनि उनी सानो आशा बोकेर मेलवर्न आएका थिए।
१९९० को मार्च ११ मा मेलवर्न आएका भरणशेर ती कर्नेलको खोजीमा ३ दिनसम्म भौंतारिएका थिए। त्यो क्रममा साउदी अरब हुँदै अस्ट्रेलिया आइपुगेका उनी अम्मर बस्नेतको डेरामा बसेका थिए।
‘जब मैले ती कर्नेललाई भेटेँ, उनले गोर्खाली फौज आफूहरूको लागि जरूरी रहेको बताए। तर मेरो सुझावलाई सरकारले मान्छ भन्ने पनि छैन भनेर उनले भनेका थिए। जे होस् उनले मलाई सकेको सहयोग गर्ने बचन दिएँ,’ त्यो बेलाको अनुभव उनले सुनाए।
ती अवकाश प्राप्त कर्नेलले तत्कालीन मेलवर्नमा रहेका नेपाल कन्सुलर बिल जोनसँग भरणशेरलाई भेटाए। भरणशेरका अनुसार बिल जोनले कुनै बेला दार्जिलिङमा राजा वीरेन्द्रलाई पढाएका रहेछन्। बिल जोनले भरणशेरसँग बेलायती सेनामा जागिर गरेको प्रमाण मागेका थिए। बेलायती महारानीको छाप रहेको रातो बुक देखाएपछि उनी आश्चर्यमा परेको राईले बताए।
‘जोनकै सहयोगमा गिप्सल्याण्डमा रहेका रबर्ट ककउर्डलाई बोलाएर मलाई गिप्सल्याण्ड पठाइयो। तर मसँग सीप र भाषा पनि राम्रो नभएकाले काम पाउन गाह्रो भयो। त्यसपछि म साथीहरूलाई भेट्न सिड्नी गएँ,’ उनले भने, ‘मैले साथीहरूलाई हामीलाई यही बस्नको लागि सहयोग हुने र गिप्सल्याण्ड जाने प्रस्ताव गरेको बताएँ तर साथीहरू सिड्नीमै बस्ने भए। म भने मेलवर्न आएँ।’
उनले गिप्सल्याण्डमा केही समय गार्डेनको काम गरे, गोरुका लागि घाँस काट्ने काम गरे। त्यही बीचमा १९९० को अप्रिलमा ब्रिटिस-गोर्खाबारे च्यानल नाइनले १ घण्टाको डकुमेन्ट्री बनायो।जसले गर्दा उनीहरूलाई अस्ट्रेलिया बस्न थप सहज भयो।
‘च्यानल नाइनले डकुमेन्ट्री बनाएपछि यसको विश्वभरि चर्चा समेत भयो। त्यही क्रममा नेपालबाट डाक्टर इन्जिनियरहरू समेत अस्ट्रेलिया आउने बाटो खुलेको थियो। दक्ष नेपाली आए तर सेनामा काम गरेका व्यक्तिहरू आउन सकेनन् किनकि उनीहरू दक्ष थिएनन्। यद्यपि केही भुपू पनि आउन सफल भए।’
शरणार्थी भिसामा अस्ट्रेलियाको स्थायी अनुमति पाए पनि भुपू गोर्खाको कारण यो सहज भएको उनले बताए। १९९४ मा भरणशेरसहित अन्य ११ जनाले अस्ट्रेलियाको नागरिकता पाएका थिए। १९९५ को जनवरीमा उनले श्रीमती, दुई छोरी र छोरा सबैलाई यहाँ ल्याएका हुन्।
‘मैले गिप्सल्याण्डकै एउटा अस्पतालको किचनमा काम गरेँ। मैले ३३ वर्ष काम गरेँ। यहाँ मेरो नाममा सम्पत्ति भएकाले मैले यहाँको सरकारबाट केही पाउँदिनँ। बेलायती सेनाको पेन्सन भने मासिक ७ सयदेखि ८ सय डलर आउँछ।’
भरणशेरले नेपाल छोडेको ६१ वर्ष भएछ। यो बीचमा उनी नेपाल जाने आउने गरेका छन्। तर उनी एक पटकमा ३ देखि ८ महिनासम्म मात्र बसेका छन्। जागिरका बेला उनले परिवारलाई कहिले हङ्कङ अनि कहिले ब्रुनाई लैजान्थे। उनका दुई सन्तान हङकङ अनि एक सन्तान ब्रुनाईमा जन्मेका हुन्। पछिल्लो पटक उनी २०१७ मा नेपाल गएका थिए। नेपालमा बहिनीलाई भेट्न एक पटक जानुपर्ने उनले बताए। सधैं बाहिर/बाहिर भएकाले नेपालको याद खासै नआउने उनको अनुभव छ।
‘१५ वर्षको उमेरदेखि विदेशमै छु। आफ्नो जन्मथलो मन त पर्छ। गाउँमा केही योगदान पनि गरेको छु। तर सधैं गइरहन नमिल्ने भएपछि टाढा भइँदो रहेछ। पल्टनको कमाइले किनेको सम्पत्ति सबै बेचिसकेको छु। अब खोटाङको पुर्ख्यौली जग्गा मात्र बाँकी छ।’