ग्लोबल नेपाली
काठमाडौंमा बिबिए चौथो सेमेस्टर पढ्दै गर्दा रूपा शर्मालाई विदेश जान मन लाग्यो। त्यो बेला अस्ट्रेलिया पढ्न आउने लहर सुरू भएको थियो। त्यसपछि उनले घरमा कुरा चलाइन्। घरबाट बिहे गरेर मात्रै जान दिने भएपछि रूपाको बिहे भयो।
बिहेसँगै सन् २००८ मा रूपा र उनका श्रीमान प्रकाश सेढाई अस्ट्रेलिया आए। नेपालमा समेत कुनै काम गरेको अनुभव नभएकाले उनलाई यहाँ घुलमिल हुन निकै गाह्रो भयो। उनका श्रीमान एक पटक विदेश गएर आइसकेकाले अगाडि बढ्न सहज पनि भयो।
‘जसरी अरू आए, हामी पनि त्यसरी नै अस्ट्रेलिया आएका हौं। यहाँ आएर क्याथोलिक युनिभर्सिटीमा नर्सिङ अध्ययन गरेँ,’ रूपाले भनिन्, ‘मैले चार वर्षमा पढाइ पूरा गरेँ। त्यहाँ पढ्दा मैले केयरर भएर काम गरेँ। जुन मेरो पढाइको लागि समेत सहयोगी भयो।’
अस्ट्रेलिया आएको ६ महिनासम्म भने उनले कुनै काम पाएकी थिइनन्। नर्सिङ सकेपछि उनले ६ महिना ग्र्याड नर्स भएर काम गरिन्। जुन स्वाभाविक प्रक्रिया हो। नर्सिङ पढ्दै गर्दा केयरर भएर काम गरेकी रूपाले २०१२ पछि भने नर्स भएर काम गरिन्।
‘नेपालबाट आएपछि हामीलाई यहाँको भाषा,संस्कृति अनि रहनसहन सबै फरक हुन्छ। पढ्न पर्यो, काम गर्न पर्यो अनि कमाउन पनि पर्यो। यो निकै गाह्रो हो तर तपाईंको गोल के हो भन्ने हो।त्यसका लागि कठिन परिश्रम गर्यो भने सफल हुन सकिन्छ,’ उनले भनिन्।
२०१५ मा रूपाले टिएलसी एजड केयर (नर्सिङ होम) मा काम सुरू गरिन्। त्यही नर्सिङ होम हो, जहाँ उनी अहिले जनरल म्यानेजर भएर काम गरिरहेकी छन्। केयररबाट सुरू भएको उनको यात्रा जनरल म्यानेजरसम्म पुगेको छ। टिएलसी एजड केयर अन्तर्गत अस्ट्रेलियाभर १२ वटा एजड् केयर छन् भने १२ वटा क्लिनिक समेत छन्। नर्थ अफ मेलवर्नमा रहेको टिएलसी सनलाइट एजड् केयरमा रूपा काम गर्छिन्।
‘मैले १ सय ८० बेडको नर्सिङ होमको व्यवस्थापन गर्छु। त्यो भनेको त्यसमा पर्ने भौतिक पूर्वाधार, कर्मचारी व्यवस्थापन, सर्भिस सेवा, आर्थिक व्यवस्थापन सबै हेर्नुपर्छ। जे होस नर्सिङ होमको सबै नेतृत्व मेरो टिमले गर्छ,’ उनले भनिन्।
काम गर्ने क्रममा चुनौती रहे पनि आफूले यसलाई सहजताका साथ लिएको उनले बताइन्। काम गर्दा विभिन्न खालका समस्या अनि गुनासो आउने भए पनि त्यसलाई कसरी समाधान गरिन्छ भन्ने ठूलो कुरा रहेको उनको बुझाइ छ।
‘तीन वर्षदेखि म यो भूमिकामा छु। तर यो नर्सिङ होमसँग मेरो १० वर्षदेखिको नाता छ। यो काम मानवीय सेवा पनि भएकाले मलाई थप सन्तुष्ट बनाएको छ,’ उनले भनिन्, ‘जसलाई समस्या परेको छ, उसलाई सेवा दिन पाउनु भनेको यो आफैमा एउटा मौका पनि हो।’
अहिले उनले जुन अवसर पाएकी छन्। यसको पछाडि उनका श्रीमानको साथ ठूलो छ।
‘श्रीमानको दरिलो आड, भरोसा नभएको भए मलाई यो ठाउँमा पुग्न सम्भव थिएन। हामीले मिलेर छोराछोरी हुर्काउँदै छौं। सोमबारदेखि शुक्रबारसम्म त सबै भेटिन पनि गाह्रो छ,’ उनले भनिन्।
रूपा र प्रकाश दुवैले आफ्नो फुर्सद मिलाएर छोराछोरीलाई स्कुल पुर्याउने ल्याउने गर्छन्। अनि छोराछोरी घरमै भएको बेलामा एक जना घरमा पनि बस्नै पर्यो। रूपाको जिम्मेवारी अनुसार जतिबेला पनि कामका लागि तयार हुनुपर्ने भएकाले त्यस्तो अवस्थामा प्रकाशले घरको जिम्मेवारी लिन्छन्। सामान्यत, रूपा नर्सिङ होममा रहने भनेको ९ बजेदेखि ५ बजेसम्म हो। शनिबार र आइतबार बिदा हुन्छ। तर नर्सिङ होमको नेतृत्वमा रहेकाले जतिबेला पनि तयारी अवस्थामा बस्नै पर्यो।
कुनै पनि संस्था सानो होस् या ठूलो त्यसको नेतृत्व लिनु आफैमा चुनौतीपूर्ण काम हो। १ सय ८० बेडको नर्सिङ होम, त्यहाँ आउने बिरामी, कामदार लगायत सबैको जिम्मेवारी लिनु अझै चुनौतीपूर्ण हो। अर्कोतिर आफू हुर्के बढेको ठाउँ पनि होइन। हरेक दृष्टिले चुनौती त छँदैछ। टिमलाई विश्वासमा लिएर काम गर्नु महत्वपूर्ण हुने उनको अनुभवले देखाएको छ।
‘माथिल्लो पोस्टमा रहनेले आफूलाई मात्र सोचेर भएन। आफ्नो टिमलाई कसरी दक्ष बनाउने, उनीहरूको वृद्धिविकास कसरी हुन्छ भनेर समेत सोच्न पर्छ,’ उनले भनिन्।
नर्सिङमा आफ्नो भविष्य खोज्नेहरूका लागि रूपा एउटा उदाहरण बन्न सक्छिन्। किनकि अस्ट्रेलियामा आएर यो तहको अवसर थोरैले पाउँछन्। अर्को कुरा यसका लागि सजिलो छैन तर असम्भव पनि छैन।
‘मैले पढाइ नसक्दासम्म रातिको ड्युटी गरेँ। रातिको ड्युटी गर्दा सेमेस्टरमा आउने परिवर्तनले पनि असर गरेन,’ उनले भनिन्, ‘गाह्रो हुन्छ अनि चुनौती पनि छ तर अँध्यारो सुरूङभित्र निस्कने बाटो पनि हुन्छ भन्ने सोच्दै अगाडि बढ्ने हो।’
१६ वर्ष अगाडि आफू आउँदा र अहिलेको अवस्थामा धेरै परिवर्तन भइसकेको उनको अनुभव छ। आफ्नो समयमा भन्दा अहिले आउनेहरू धेरै स्मार्ट हुने समेत उनले बताइन्।
‘हामी एउटा म्याप बुक बोकेर हिँड्थ्यौं। अहिले त उनीहरूसँग टेक्नोलोजी छ अनि उनीहरू प्रविधि मैत्री समेत छन्। यसो भन्दै गर्दा सुरूमा चुनौतीको सामान गर्न नपर्ने भन्ने होइन,’ उनले भनिन्।
यो ठाउँमा नआत्तिकन संघर्ष गर्नेहरूका लागि असम्भव भन्ने केही नरहेको उनको अनुभव छ।
सुरूमा आउँदा के बन्छु भन्ने लागेको थियो?
‘म पढ्छु, केही गरेर देशमा जान्छु भन्ने सोचेको थिएँ। तर यहाँको कडा मेहनत अनि गरेको लगानीले मलाई यतै बस्ने बनायो,’ उनले भनिन्, ‘यहाँ आएर पढ्यो अनि लगानी हुन्छ। अनि त्यो लगानी म यही उठाउँछु भन्ने हुन्छ। त्यसपछि पारिवारिक जीवनमा फस्छन्।’
उनको अनुभवमा पारिवारिक माहोलमा परेपछि नेपाल जान मान भएरपनि गाह्रो हुने रैछ। जसरी आफूलाई अस्ट्रेलिया आउँदा सुरूमा घुलमिल हुन गाह्रो भयो नेपालमा छोराछोरीलाई त्यस्तै हुने उनको बुझाइ छ। तर उनलाई भने नेपाल केही गर्ने इच्छा छ। नेपालमा पनि एज्ड केयर खोल्ने सोच उनले बनाएकी छन्। त्यसका लागि साथीभाइसँग छलफल पनि गरेकी छन्। तर त्यसलाई कहिले मूर्त रूप दिने भन्ने तय भएको छैन। अर्थात् अहिले छलफलमै छ। खुला ठाउँ अनि नदीको किनार नजिकै सबै संस्कृतिका व्यक्तिले बस्न मिल्ने गरी नर्सिङ होम खोल्ने उनको चाहना छ।
‘हामीले व्यावसायिक र सेवामूलक दुवै खालको नर्सिङ होम स्थापना गर्ने सोच बनाएका छौं। त्यसका लागि ठाउँहरू पनि हेरेका छौं। तर कहिलेदेखि गर्ने, कहाँ गर्ने टुंगो लाग्न बाँकी छ।किनकि यसको लागि तयारी पनि ठूलै चाहिन्छ,’ उनले भनिन्।