ग्लोबल नेपाली
सन् २००७ मा आइएस्सी सकेर उनी परिवारसहित अस्ट्रेलिया आए।
आइएस्सी सम्मको अध्ययन नेपालमै गरेर अस्ट्रेलिया आएका सन्दीप तामाङ भिक्टोरियामा दुई वर्ष अध्ययन गरेर फेरि नेपाल फर्किए।
काठमाडौं शिक्षण अस्पतालबाट एमबिबिएस र इन्टर्न गरी ६ वर्षपछि सन् २०१७ मा उनी फेरि अस्ट्रेलिया फर्किए।
नेपालमै बसेर एमडी पढ्न रहर भए पनि बुवा, आमा, दाइ, भाउजू सबै अस्ट्रेलियामा रहेकाले उनी यतै आए। त्यसपछि सुरू भयो अस्ट्रेलियामा एमडी पढ्ने उनको यात्रा।
अस्ट्रेलियन मेडिकल काउन्सिलको दुई वटा परीक्षा पास गरेपछि २०१८ देखि उनी अस्ट्रेलियाको स्वास्थ्य क्षेत्रमा काम गरिरहेका छन्।
६ वर्षदेखि चिकित्सक रहेका तामाङले इमर्जेन्सी मेडिसिनमा तीन वर्षदेखि एमडी गरिरहेका छन्। अस्ट्रेलियन कलेज अफ इमर्जेन्सी मेडिसिन अन्तर्गत उनी बालाराट बेस हस्पिटलमा काम गर्छन्। कक्षाकोठाको पढाइभन्दा प्रयोगात्मक सिकाइमा बढी जोड दिने अस्ट्रेलियामा मेडिसिनको पढाइ अझै प्रयोगात्मक हुन्छ।
‘मैले नेपालको सिकाउने तरिका र यहाँ भिन्न पाएको छु। यहाँ खुला तरिकाले उपचार गर्नुपर्छ। यहाँ लेक्चरको कक्षा लिने भन्दा पनि सिक्ने र अनुभव लिने कुरालाई महत्व दिइन्छ,’ तामाङले भने, ‘आफूले कुनै कमजोरी गरेको छ भने र सिक्न बाँकी छ भने सुपरभाइजरहरूले सुझाव दिँदै जान्छन्। त्यही अनुसार हामीले काम गर्दै जान्छौं।’
एमडी पढ्दै रहे पनि उनी फुलटाइम चिकित्सक हुन्। कतिपय अवस्थामा सिफ्ट इन्चार्जको जिम्मेवारी समेत लिनुपर्ने उनी बताउँछन्। इमर्जेन्सी अवस्थामा आएको बिरामीको अवस्था अनुसार उपचारका लागि रिफर गर्ने काम सन्दीपको हो।
नेपाल र अस्ट्रेलियाको इमर्जेन्सी उपचारमा उनले पाएको ठूलो फरक भनेको आर्थिक कारणले उपचारमा समस्या नआउनु हो।
अर्को उपचार शैलीमा पनि हो।
नेपालमा जस्तो बिरामीले यहाँ झन्झटिलो प्रक्रिया अपनाउनु पर्दैन। बिरामीको अवस्था अनुसार उपचारमा प्राथमिकता दिइन्छ। बिरामीका आफन्तले औषधी किन्ने, पैसा जम्मा गर्ने यता कुद्ने, उता कुद्ने गर्नु पर्दैन।
‘यहाँ पैसा हुने नहुनेको आधारमा उपचार गर्ने/नगर्ने भन्ने हुँदैन। चिकित्सकको काम भनेको बिरामीको ज्यान बचाउने हो,’ उनले भने, ‘सिटीस्क्यान, एमआरआई, अल्ट्रासाउण्ड, रगत परीक्षण लगायतका जति पनि काम छन् ती सबै चिकित्सकले स्वतन्त्र रूपमा गर्छन्।’
उपचार गर्ने क्रममा बिरामीले पैसा जम्मा गरे/नगरेको विषयले कुनै अर्थ राख्दैन। त्यति मात्रै होइन उसको बीमा छ कि छैन भन्ने कुरा समेत ख्याल गरिँदैन।
‘मेरो अनुभवमा नेपालमा कुनै पनि बिरामी आयो भने उसको आफन्तलाई टिकट काट्न पठाउने, बिरामीको लागि चाहिने औषधी लिन बाहिर पठाउने गरिन्छ। तर अस्ट्रेलियामा यस्तो कुनै झन्झट व्यहोर्न पर्दैन,’ उनले भने।
उनका अनुसार उपचार गरेको रकम बिरामीले तिर्न सकेन अथवा उसको तिर्ने कुनै हैसियत रहेनछ भने अस्पतालको फण्डबाट बिरामीको उपचार खर्च व्यहोरिन्छ। तर आर्थिक कारण देखाएर अस्पताल प्रशासनले चिकित्सकलाई उपचारको क्रममा कुनै दबाब दिँदैन। चिकित्सकले स्वतन्त्र रूपले काम गर्छन्।
उनले काम गर्ने अस्पतालमा इमर्जेन्सी हृदयघात, स्ट्रोक, पेटको समस्या, पित्तथैलीमा ढुंगा, दुर्घटना लगायतका समस्या धेरै आउँछन्। त्यस्तै मानसिक समस्या लिएर आउने पनि उत्तिकै हुन्छन्। जसरी आर्थिक कारणले नेपालमा जस्तो अस्ट्रेलियामा बिरामीको उपचार रोकिँदैन, त्यसैगरी उपचार गर्दा लापरबाही भयो भनेर चिकित्सकले अनावश्यक हैरानी पनि बेहोर्न पर्दैन।
‘नेपालमा उपचारमा लापरबाही भयो भनेर चिकित्सकमाथि आक्रमण भएका घटना बाहिर आउँछन्। तर अस्ट्रेलियामा मैले ५ वर्षभन्दा धेरै काम गरेको अनुभवमा त्यस्तो देखेको र सुनेको छैन,’ सन्दीपले भने, ‘स्वास्थ्य साक्षारता नभएकाले यस्ता घटना घटेका हुन्। अस्ट्रेलियामा स्वास्थ्य साक्षारता राम्रो भएकाले चिकित्सकले नेपालमा जस्तो हैरानी बेहोर्न पर्दैन।’
अस्ट्रेलियामा उपचारको अवस्था जति राम्रो छ, त्यति राम्रो चिकित्सकको पारिश्रमिक पनि छ। एउटा चिकित्सकको पारिश्रमिक आफू र आफ्नो परिवार चलाउन कुनै समस्या नहुने डा. सन्दीपले बताए। त्यस्तै अनुसन्धानको क्षेत्रमा काम गर्न पनि अवसरै अवसर रहेको उनको भनाइ छ।
नेपालबाट कोही चिकित्सक एमबिबिएस पास गरेर अस्ट्रेलिया आएपछि अस्ट्रेलियन मेडिकल काउन्सिलको परीक्षा अनि अंग्रेजी भाषाको परीक्षा दिनुपर्छ। त्यसपछि मात्रै उसको विशेषज्ञ पढाइको ढोका खुल्छ। एमडी गरेर आउनेहरू भने विशेष तरिकाले अगाडि बढ्न सक्छन्।
नेपाली समुदायका बिरामीको उपचार अनि बेला मौकामा नेपाली समुदायमा स्वास्थ्य शिविर सञ्चालन गरेको आधारमा उनले नेपाली समुदायलाई केही सुझाव समेत दिएका छन्।
‘स्वस्थ र पौष्टिक खाना खान ध्यान दिनुहोला भन्न चाहन्छु। क्यान्सरका बिरामी धेरै बढेका छन्। नियमित व्यायाम गर्नुहोला,’ उनले भने, ‘नेपालीले दाल, भात धेरै खाने भएकाले व्यायाममा ध्यान दिन जरूरी छ। मानसिक स्वास्थ्यको समस्या समेत उत्तिकै छ। यसको लागि विभिन्न संघसंस्थाले सहयोग समेत गर्छन्। त्यसतर्फ ध्यान दिनुहोला।’
(डाक्टर सन्दीप तामाङ अस्ट्रेलियमा इमर्जेन्सी रजिस्टर हुन्।)