ग्लोबल नेपाली
चितवनका बासुदेव मरहट्ठा अस्ट्रेलिया आएको १७ वर्ष पुग्नै लाग्यो। २००८ को फेब्रुअरीमा २२ वर्षकै उमेरमा अस्ट्रेलिया आएका मरहट्ठाले पढाइ, काम अनि माइग्रेसनका लागि सिड्नी, पर्थ, डार्भिन र मेलवर्न जस्ता ठाउँहरूमा बसिसकेका छन्।
२०१६ देखि भिक्टोरियाको मेलवर्नमा बस्दै आएका मरहट्ठाले आफ्ना साथी सन्तोषकुमार थापासँग मिलेर अपांगताको क्षेत्रमा काम गर्ने संस्था 'इन्फिनाइट एबिलिटी' सञ्चालन गरेका छन्। उनी यो संस्थाको निर्देशक हुन्। यो संस्थाले अस्ट्रेलियाभरी गरेर झण्डै २ सयलाई रोजगारी दिएको छ। अपांगता भएकाहरूको लागि सहयोग गर्ने संस्थाबाट आफूलाई स्थापित गरेका वासुदेवको यहाँसममको यात्रा भने सहज थिएन। यो ठाउँसम्म आइपुग्न उनले थुप्रै कठिनाइहरू पार गरेका छन्।
सुरूमा त उनलाई अस्ट्रेलिया आउनै मन थिएन। १८ वर्षकै उमेरदेखि चितवनको पहिलो एफएम सिनर्जी एफएममा कार्यक्रम चलाउन सुरू गरेका बासुदेवले मिडियामै आफ्नो भविष्य देखेका थिए। त्यो समय रेडियोमा कार्यक्रम चलाउनेहरूको महत्व अर्कै थियो। रेडियोमा कार्यक्रम चलाउनेहरू सेलिब्रेटीभन्दा कम नहुने जमाना थियो।
त्यसैले विस्तारै टेलिभिजनतिर फड्को मार्ने सोचमा थिए उनी।
‘म २००८ मा अस्ट्रेलिया आउँदा यता आउने लहर नै थियो। यहाँ बस्ने एक जना अविनाश थापा हुनुहुन्थ्यो उहाँले पनि धेरै कर गर्नुभयो। म त्यो बेला सिनर्जी एफएममा प्रोग्राम कोअर्डिनेटर थिएँ। साँच्चै भन्ने हो भने त्यो एउटा गोल्डेन टाइम थियो जस्तो लाग्छ,’ वासुदेवले भने, ‘एकदमै धेरै फ्यान फलोइङ थिए। त्यो ठाउँमा मैले बेस्ट आरजे अवार्ड पनि पाएँ। असाध्यै वाहवाहीको बीचमा अस्ट्रेलिया आउन मन थिएन तर पनि आएँ।’
टेलिभिजनमा काम गर्ने अनि कुनै दिन फिल्म बनाउने सम्मको सोच बनाएका बासुदेवले अन्तत: आफ्नो योजना बदले। तर पनि उनलाई मिडिया क्षेत्रमै केही गर्ने सोच थियो। त्यसैले सँगै रेडियोमा काम गर्ने पत्रकार दिकपालदेव पंगेनी र उनले फिल्म मेकिङ पढ्न अस्ट्रेलिया आउने सोच बनाए।
‘पहिला त मिडियाबाहेक केही होइन भन्ने लाग्थ्यो नि। फिल्म बनाउने ठूलो सौख थियो। त्यसकै तयारीका लागि पढ्न आएको हो। यहाँ आएपछि के/के भयो,भयो।सोचेजस्तो सबै कहाँ हुन्छ र?,’ उनले भने।
उनले सुरूआतका केही समय अस्ट्रेलियाको सिड्नीमा किचनको काम गरे। हुन त यो अधिकांशले गर्ने संघर्ष हो। यसलाई उनी धेरै ठूलो कुरा पनि मान्दैनन्। सुरूआती चरणमा काम गर्नेहरू सबैका केही न केही किस्सा हुन्छन्। उनको पनि एउटा रमाइलो किस्सा छ। नेपाली माध्यमबाट पढेर आउनेका लागि अस्ट्रेलियामा भाषाको समस्या हुनु स्वाभाविक हो। उनलाई पनि त्यस्तै भयो। किचनमा काम गर्दा सेफले साल्ट एण्ड पेपर ल्याउनभन्दा ट्वाइलेट पेपर दिएको कहानी उनले बेलाबखत सुनाउँछन्।
‘हरेकलाई आफ्नो संघर्ष ठूलो लाग्छ। संघर्ष गरेर फर्केर हेर्दा त्यो संघर्ष असाध्यै रमाइलो र सुन्दर देखिन्छ। तर संघर्ष गर्दाका दिनमा ती दिनहरू पीडादायी नै हुन्छन्।धेरै माइग्रेट भएर आउनेहरूको अस्ट्रेलियामा यस्तै कथा हुन्छ,’ उनले भने, ‘कुकले सल्ट एण्ड पेपर भनेर भनेको रहेछ। मैले सल्टन पेपर नै बुझिनँ त्यो बेला। मैले धेरै पटक सोचेँ अनि ट्वाइलेट पेपर ल्याएर दिएँ। त्यो बेला सेफ समेत हाँसेको थियो। अहिले सम्झिँदा रमाइलो लाग्छ।’
नेपालको मिडियामा काम गरिसकेका उनलाई यस्ता काम गर्दा सुरूआती दिनमा असाध्यै पीडा भयो। तर पीडा मानेर पनि केही उपाय थिएन। सिड्नी आएको केही समयपछि आफ्नो साथी दिकपालसँग उनी वेस्टर्न अस्ट्रेलियाको पर्थ पुगे। त्यहाँ गएपछि भने उनले अपांगताको क्षेत्रमा काम सुरू गरे। सँगै रेडियोमा काम गरेको नशा त उत्रिएकै थिएन। त्यसैले उनले दिकपालदेव पंगेनी र कमल सिलवाल मिलेर पर्थको रेडियोमा हप्ताको एकदिन कार्यक्रम चलाउन सुरू गरे।
सन् २०१० मा उनीहरूले इन्टरेनट रेडियो समेत सुरू गरे। यसले उनीहरूलाई समुदायमा चिनिन सहज भयो। तर अस्ट्रेलियामै बस्नको लागि दक्ष कामदार बन्नैपर्ने भएकाले उनी पर्थबाट डार्बिन पुगे।
‘काम र पढाइ सँगै लैजाने क्रममा मैले डिप्लोमा अफ कम्युनिटी सर्भिस पढेँ। त्यसपछि चाल्स डार्बिन युनिभर्सिटीबाट ब्याचलर इन ह्युमेनिटेरियन एण्ड कम्युनिटी स्टडी गरेँ,’ उनले भने, ‘म २००८ देखि नै डिसेबिलिटी केयरमा आबद्ध थिए। अहिले मैले हेल्थ सेक्टर म्यानेजमेन्टमा एमबिएसम्मको अध्ययन सकेको छु,’ उनले भने।
डिसबिलिटी सपोर्ट वर्करबाट काम सुरू गरेका बासुदेवले टिम लिडर एण्ड म्यानेजर भएर पनि काम गरे भने भिक्टोरिया आएपछि मानसिक स्वास्थ्यको क्षेत्रमा काम गरे।
२०१८ मा भिक्टोरिया आएपछि उनलाई आफैले केही गर्नुपर्छ भन्ने सोच आयो। किनकि उनीसँगै आएका साथीहरू कसैले रेष्टुरेन्ट सुरू गरेका थिए, कोही रियल स्टेटमा थिए अनि कोही कन्सेल्टेन्सीका सञ्चालक भएका थिए। आफ्नो ऊर्जाशील समय अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग गर्ने संस्थामा काम गर्न खर्च भएको अनि अनुभव र विज्ञता समेत भएकाले यसमै काम गर्ने सोच बनाए। त्यसपछि सुरू भयो इन्फिनाइट एबिलिटीको यात्रा। हो, त्यही इन्फिनाइट एबिलिटीले आज उनलाई चिनाएको छ। अनि उनलाई सोसल आन्ट्रप्रनर बनाएको छ।
‘सन् २०१८ मा साथी सन्तोषकुमार थापासँग मिलेर रजिष्ट्रेसनको काम सुरू गर्यौं। पर्थमा कमल सिलवालजी जोडिनु भयो। अहिले उहाँको आफ्नै अर्गनाइजेसन छ,’ उनले भने, ‘सिड्नीमा सुदीप न्यौपाने हुनुहुन्छ। सबैतिर गरेर झण्डै २ सय जनाले रोजगारी पाउनुभएको छ। जसमध्ये अधिकांश नेपाली हुन्।’
यही क्षेत्रमा वर्षौं काम गरेको अनुभवले गर्दा उनलाई आफ्नै सेवामुलुक व्यवसाय सञ्चालन गर्ने कुनै डर लागेन। किनकि उनीसँग आत्मविश्वास थियो। त्यही आत्मविश्वासले यहाँसम्म पुर्याएको छ।
‘मैले आफ्नो जागिर चटक्कै छोडेको हो। स्वार्थ बाझिने काम गर्न हुँदैन भनेर समेत म सचेत थिएँ। अस्ट्रेलियामा डिसबिलिटीको क्षेत्रमा जुन सम्भावना थियो मैले राम्रोसँग बुझेको थिएँ र यसका लागि मसँग क्षमता र दक्षता दुवै थियो,’ उनले भने।
उनका अनुसार अस्ट्रेलियामा झण्डै ६ प्रतिशत जनसंख्यालाई पूर्ण हेरचाह सहितको सुविधा चाहिन्छ। त्यसैले यो क्षेत्रमा रोजगारीको समेत पर्याप्त सम्भावना छ।
उनको संस्थाले अपांगता भएका व्यक्तिहरूलाई आवासीय सुविधा सहितको हेरचाह गर्छ भने घरमै गएर पनि आवश्यक सेवा दिन्छ। त्यस्तै अपांगता भएका व्यक्तिहरूलाई यहाँको सामाजिक सेवामा जोडिदिने अनि विभिन्न खालका उपचार र काउन्सिलिङ सेवा समेत दिन्छ।
‘हुन त अस्ट्रेलिया आइसकेपछि हरेकले म केही गर्छु भन्ने सोच्छ। तपाईंले आफ्नो चाहना केमा छ भनेर हेर्न सक्नुपर्छ। म आफूलाई सोसल आन्ट्रप्रनर भन्न रूचाउँछु। यो एउटा नयाँ मोडल हो। अस्ट्रेलिया जस्तो विकसित देशमा यस्ता अभ्यासले काम गर्छन् भन्ने लाग्छ।’
अपांगताको क्षेत्रमा काम गर्नको लागि नाफा मात्र हेर्न नहुने भन्दै उनले सेवामूलक भावना हुनुपर्ने बताए। यो क्षेत्रमा काम गर्नेका लागि अवसरै अवसर रहेको उनको बुझाइ छ।
सरकारले निजी क्षेत्रसँग मिलेर काम गर्ने भएकाले नाफा भए पनि यसलाई प्यासनको रूपमा लिएर काम गर्नुपर्ने उनको भनाइ छ। आफ्नो कामको दायरा अझै बढाउने उनको योजना छ।
‘एज्ड केयर अनि चाइल्ड केयरमा काम गर्ने सोच छ। यही क्षेत्रको पढाइ हुने कलेज स्थापनाको लागि अन्तिम तयारी भइरहेको छ। अब छिट्टै कलेजमा पढाइ सुरू गर्ने योजना छ,’ उनले भने।
अस्ट्रेलियामा अपांगता भएका व्यक्तिहरूलाई सहयोग गर्ने संस्थामा काम गर्ने नेपालीको संख्या दिनप्रतिदिन बढिरहेको छ। योसँगै नेपालीको स्वामित्वमा यस्ता संस्था खुल्ने क्रम पनि जारी छ।
कुनै आधिकारिक तथ्यांक त छैन तर वासुदेव सम्भवत पहिलो नेपाली हुन्, जसले यस्ता संस्थाको सुरूआत गरे। उनको संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड समेत पाएको छ। नेसनल डिसबिलिटी इन्स्योरेन्स स्किम अन्तर्गत अस्ट्रेलियामा स्थापना भएका संस्थाहरू थुप्रै छन्। कतिपय संस्थाहरू कार्यालय समेत स्थापना नभई चलिरहेका हुन्छन्। थुप्रैको भीडमा इन्फिनाइट एबिलिटीको छुट्टै पहिचान छ। व्यक्तिको कति सफल र को कति असफल भनेर मापन गर्ने कुनै आधार हुँदैन। तर जुन ठाउँबाट वासुदेव अहिलेको ठाउँमा आइपुगेका छन् त्यो भने लोभलाग्दो नै छ।
‘कुनै पनि काम गर्दा एक्लैले सम्भव हुँदैन। हाम्रो संस्था अहिले जुन ठाउँमा पुगेको छ, यो मेरो एक्लो प्रयासले भएको होइन। हाम्रो टिममा काम गर्ने प्रत्येक सदस्यको उत्तिकै योगदान छ,’ उनले भने।
अस्ट्रेलियामा संघर्ष गरेर आफैले केही गर्न खोज्नेका लागि बासुदेवले भोगेको उतारचढावले केही न केही पाठ अवश्य सिकाउँछ। देश छोडेर आइसकेपछि एक समय ग्राउण्डबाटै काम गर्नुपर्ने उनको बुझाइ छ। किनकि सबैभन्दा पहिला यो देशका लागि चाहिने दक्ष जनशक्ति बन्न जरूरी छ। प्रत्येक क्षणमा आफूलाई परिमार्जित गर्दै केही नयाँ गर्छु भन्ने हुटहुटी लिनुपर्ने उनको सुझाव छ।
‘तपाईंसँग एक खालको भोक हुनुपर्छ। त्यसका लागि अब मैले के गर्ने, मेरा लागि के हो भन्नेमा ध्यान दिनुपर्छ। सकेसम्म यो देशको अर्थतन्त्रमा योगदान पुग्ने काम गर्न पर्छ,’ उनले भने।
आफूहरू नेपालबाट आउँदाको समयभन्दा अहिले आउनेहरूलाई केही सहज हुने उनको बुझाइ छ। नेपाली समुदाय बढ्दै गएको फाइदा कुनै न कुनै तरिकाले नेपालीलाई नै हुने उनले बताए। अहिले आउनेहरूलाई कल्चरल समस्या कम हुने भन्दै उनले केही समस्या पर्दा नेपाली समुदायले सकेको सहयोग गर्ने बताए।
उनका अनुसार नेपालबाट आउनेहरूलाई एक्लोपनको महुसस कम हुँदै जान थालेको छ।
‘यो ठाउँमा जतिसक्दो लचिलो हुन सक्नुपर्छ। कसैसँग भाषाको समस्या होला, नेपालमा राम्रो पोष्टमा काम गरेको हुनसक्छ। तर यो ठाउँमा अर्धदक्ष या अदक्ष भएर काम गर्नुपर्ने हुनसक्छ,’ उनले भने,‘हरेकको एउटा निश्चित समय हुन्छ। तपाईंको हाँसो, खुसी अनि तपाईंको दुःखको पनि एउटा निश्चित समय हुन्छ। त्यसैले आत्तिन र मात्तिन हुँदैन।’
अस्ट्रेलिया आएपछि भित्रदेखि बलियो हुनुपर्ने अनि रबरजस्तो सानो बन्न र तन्किन पनि सक्ने हुनुपर्ने उनको सुझाव छ।
अपांगता भएका व्यक्तिहरूको लागि अस्ट्रेलियामा जुन खालको सेवा र सुविधा छ, त्यसको तुलनामा नेपालमा एक छेउ पनि छैन। अर्थात् अस्ट्रेलिया र नेपालको तुलना गर्नै मिल्दैन। अस्ट्रेलियामा अपांगता भएका व्यक्तिको अवस्था हेरेर एउटै व्यक्तिका लागि राज्यले वार्षिक लाखौं डलर खर्च गरेको हुन्छ। त्यसैले अपांगता भएका व्यक्तिहरूका लागि नेपालले गर्न धेरै बाँकी छ। अस्ट्रेलियालाई हेर्ने हो भने त नेपालले केही पनि गरेको छैन। यसका लागि नेपालमा नीति निर्माणको तहदेखि नै काम गर्न जरूरी रहेको बासुदेवको तर्क छ।
‘नेपालमा हामीले काम गर्ने मन बनाएर मात्र पनि हुँदैन। त्यसका लागि आधार तयार हुनुपर्छ। सबैभन्दा पहिला यसको फाउण्डेसन बनाउन जरूरी छ,’ उनले भने,‘देश र समाजले अपांगता भएका व्यक्तिलाई, जेष्ठ नागरिकलाई अनि मानसिक स्वास्थ्यलाई कस्तो सेवा दिने, कुन प्राथमिकतामा राख्ने भन्ने तहबाटै काम हुन जरूरी छ।मलाई नीति निर्माणको तहमै सहयोग गर्न मन छ। त्यसपछि मात्र यसलाई अर्थतन्त्रको एउटा अंग कसरी बनाउने भनेर बहस सकिन्छ।’