विश्वका प्रमुख देशका विदेश मन्त्रीहरू अहिले रणनीतिक र अर्थपूर्ण वैदेशिक भ्रमणमा निस्किएका छन् ।
फ्रान्सका विदेशमन्त्री लिबिया, रुसका विदेशमन्त्री इजरायल र बेलायतका विदेशमन्त्री चीन जाँदै छन् ।
फ्रान्सका विदेशमन्त्री जेन भेज लि ड्रिअन लिबियाको त्रिपोली पुगेको एएफपी समाचार संस्थाले जनाएको छ ।
लिबियामा हुन लागेको निर्वाचनको सन्दर्भलाई लिएर ड्रिअन त्रिपोली पुगेको कुरा समाचारमा उल्लेख गरिएको छ । उनले लिबियाका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने छन् ।
त्यसैगरी रुसका विदेश मन्त्री सेर्गेइ लाभरोभले आफ्नो देशका सेना प्रमुखलाई लिएर सोमबार इजरायलको यात्रा गरेका छन्।
छिमेकी मुलुक सिरियामा भइरहेको द्वन्द्वका बारेमा छलफल गर्न उनी इजरायल गएको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले जानकारी दिए ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आग्रहमा उनको भ्रमण भएको प्रधानमन्त्री नेतान्याहुले बताएका हुन् ।
यता बेलायतका नवनियुक्त विदेशमन्त्री जेरेमी हन्ट पनि औपचारिक भ्रमणका लागि चीन जान लागेका छन्।
जुलाई ३० तारिखका दिन उनी चीन भ्रमणमा आउन लागेको बेलायती उच्च अधिकारीले जानकारी दिएका छन् ।
चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा हन्ट चीन आउन लागेको सोमबार जानकारी दिइएको छ ।
विश्व राजनीतिमा प्रभाव पार्ने मुख्य देशका विदेश मन्त्रीहरूको रणनीतिक अर्थ राख्ने देशहरूमा भइरहेको भ्रमणलाई महत्वका साथ हेरिएको छ । एएफपी
–––