बेल्जियम निवासी अर्जुन शाही उर्फ लाहुरे कान्छा युरोपस्थित नेपाली समुदायमा लोकप्रिय नाम हो। गीत संगीतको दुनियाँमा मनमोहक गला भएका उनको गीत सुन्नलाई धेरै आयोजकले निम्ता गरेर बोलाउने गरेका छन्। जसले गर्दा २५ वर्षीय लाहुरे कान्छा युरोपमा चम्किदै छन्।
९ वर्ष अगाडि बेल्जियम आएका अर्जुन नेपाल छँदा पनि विद्यालयमा हुने संगीत प्रतियोगितामा भाग लिएर पुरस्कार पाउने गरेका थियो। बाल कल्याण हाई स्कुल पोखरामा ८ कक्षामा अध्ययरत गर्दा उनले पहिलो पुरस्कार हात पारे। यही सफलता उनको लागि संगीतमा अगाडि बढ्ने प्रेरणा बन्यो। एसएलसी दिएपछि बुवासँग बेल्जियम आएका उनले यहाँ पनि नेपाली संस्थाले गर्ने कार्यक्रममा गएर प्रस्तुति दिन थाले। उनको यो यात्राले अहिले सफलताको शिखर चुम्दै छ।
अर्जुनले अहिलेसम्म दर्जनौं स्टेज शो गरिसकेका छन् । विभिन्न प्रतियोगितामा भाग लिएर पुरस्कार पनि जितेका छन्। इनास ले २०१५ मा स्विट्जरल्यान्डमा गरेको गायन तथा नृत्य प्रतियोगिता,२०१६ मा डेनमार्कमा भएको नृत्य तथा गायन प्रतियोगितामा उनी पुरस्कृत भए। संगीतमा लगाव भएका अर्जुन युकेदेखि बेल्जियम,जर्मनी,स्विट्जरल्यान्ड,डेनमार्क, नेदरल्याण्डलगायत सबै देशमा चिरपरिचित छन्।
केही समय अगाडि स्टेज सो कै लागि न्यूयोर्कका नेपालीले उनलाई निम्ता गरे।जसमा उनीसहित शिव परियार, अमित पल लगायत प्रख्यात गायकहरू रहेका थिए। त्यो पल उनको लागि निकै महत्त्वपूर्ण र हौसलामय रह्यो। शिव परियारले त अर्जुनको गुरु बनेर उनको संगीत लगावलाई प्रख्यात बनाइदिन आफू लाग्ने बताए।
‘मैले आधुनिक गीतहरू बढी गाउने गर्दछु । सुरूमा म आफैं स्टेज शो कार्यक्रमको लागि पहल गर्थे तर अहिले आयोजकहरू नै निम्ता गर्नुहुन्छ। यो मेरो लागि अगाडि बढ्ने ठूलो हौसला हो,’उत्साहित बन्दै उनले भने,‘संघ संस्थाले गर्ने कार्यक्रममा मात्रै नभइ यहाँ हुने बर्थडे पार्टी,पास्नी जस्ता कार्यक्रममा पनि निम्ता गर्नुहुन्छ।जुन मेरो लागि खुसीको कुरा हो।'
युरोपमा गरिने कार्यक्रम सामान्यता शनिबार र आइतबार गर्ने गरिन्छ। बेकरीमा काम गर्ने अर्जुनको यी दुई दिन साप्ताहिक बिदा हुन्छ। जसले गर्दा उनलाई समय मिलाउन सहज बन्ने गरेको छ। अरू दिनमा हुने कार्यक्रमको लागि पनि समय मिलाउन त्यति झन्झट नहुने उनी बताउँछन्।
बेल्जियममा नेपाली भाषा कक्षा सञ्चालन गरिरहेकी तथा नृत्य कक्षाकी शिक्षक सोफिया महर्जन कार्की लाहुरे कान्छाको प्रतिभाबाट प्रभावित बनिन्। स्टेजमा गएर दर्शकलाइ आफूतिर आकर्षण गर्ने कलाको खुलेर तारिफ गरिन्। उनी भन्छिन्,‘उसको आवाजमा साच्चिकै जादु छ,पावर छ । स्टेजमा ऊ गाउन सुरू गरेपछि उसको आवाज सबै माझ लोकप्रिय नभइ सुख हुँदैन।"
दिनानुदिन चर्चित बन्दै गएका लाहुरे कान्छालाई परिवारको पूर्ण साथ छ। उनका बुवा कुम शाही छोराको प्रगति देखेर मक्ख र गौरवान्वित छन् । छोराको संगीतको यात्रामा आफूले गर्नुपर्ने कुनै पनि सहयोग बाँकी नराख्ने बताउँछन्। आफू छोराको कारण सबैमाझ चिरपरिचित बन्दै गएको भन्दै उनले खुसी व्यक्त गरे।