संसारकै ठूलो देश– रसिया। त्यही रसियामा जारी विश्वकपले संसारभरका फुटवलप्रेमीको ध्यान तानिरहेका बेला दोस्रो ठूलो देश क्यानाडामा चाहिँ क्रिकेटको ‘कुम्भमेला’ लाग्दैछ। ‘कुम्भमेला’ किनभने, यसै सातादेखि टोरन्टोमा हुन लागेको यो क्रिकेट प्रतियोगिता उत्तर अमेरिकाको इतिहासमै ठूलो हो। जसमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने पनि खेल्दैछन्।
‘ग्लोबल टि–२० क्यानाडा’ नाम दिइएको यो प्रतियोगितामा विभिन्न ६ टिमका लागि १९ देशका ९६ खेलाडी अनुबन्ध छन्। ‘मार्की’ खेलाडीका रुपमा पाकिस्तानका शाहिद अफ्रिदी, वेष्ट इण्डिजका क्रिस् गेल, ड्वेन ब्राभो, आन्द्रे रसेल, सुनिल नारिने र डारेन सामी मात्र होइन, अष्ट्रेलियाका स्टिभ स्मिथ, क्रिस लेन, श्रीलंकाका लासिथ मालिंगादेखि दक्षिण अफ्रिकाका डेभिड मिलरसम्म छन्।
‘४३ देशका १६ सय खेलाडीको नाम ड्राफ्ट भएकामा चरण चरणबाट १९ देशका ९६ खेलाडी प्रतियोगितामा अनुवन्ध भएका हुन्’, आयोजक क्रिकेट क्यानाडाको वेबसाइटमा लेखिएको छ, ‘क्यानाडाबाट मात्रै प्रतियोगिता खेल्न ६ सय खेलाडीको नाम परेको थियो।’ अन्त्यमा, २१ क्यानेडियनसहित ६ टिमका लागि ९६ खेलाडी छनोट भएका हुन्।
टोरन्टोको नर्थयोर्कस्थित मेपल लिफ् क्रिकेट मैदानमा बिहिबारदेखि प्रतियोगिता सुरु हुँदैछ। जसमा, क्यानाडाका ५ टिम एडमन्टन रोयल्स, मन्ट्रियल टाइगर्स, टोरन्टो नेशनल्स, भ्यान्कुभर नाइट्स र विनिपेग हक्स् र क्यारेवियन वेष्ट इण्डिज ‘बी’ सहभागी हुनेछन्। कुल एक मिलियन अमेरिकी डलर पुरस्कार राशी छुट्याइएको प्रतियोगिता विजेता टिमले ५ लाख अमेरिकी डलर पाउनेछन्।
शाहिद अफ्रिदी मार्की खेलाडी र मोहम्मद अक्रम प्रशिक्षक रहेको एडमन्टन रोयल्सबाट क्रिस् लेन्, ल्युक रोन्ची, मोहम्मद इफरान आदि छन् । लासिथ मालिंगा मार्की खेलाडी र टम मुडी प्रशिक्षक रहेको मन्ट्रियल टाइगर्सबाट सन्दीप लामिछाने, सुनिल नारिने, थिसारा परेरा, सिकन्दर राजा, दिनेश राम्दिन आदि छन्। डारेन सामी मार्की खेलाडी र फिलिप सिमन्स् प्रशिक्षक रहेको टोरन्टो नेशनलमा स्टिभ स्मिथ, केरन पोलार्ड, कमरन अकमल छन्।
यस्तै, आन्द्रे रसेल, बार्बर ह्यात, इभेन लुइस् आदि खेल्ने भ्यान्कुभर नाइट्समा क्रिस् गेल मार्की खेलाडी र डोनोभोन मिलर प्रशिक्षक छन्। ड्वेन ब्राभो मार्की खेलाडी र वाकर युनुस प्रशिक्षक भएको विनिपेग हक्स्बाट डेभिड मिलर, डेभिड वार्नर, डारेन ब्राभो आदि खेल्नेछन् । र, एन्थोनी बेम्ले प्रशिक्षक र रोडी इस्टिविक प्रशिक्षक रहेको क्यारेवियन वेष्ट इन्डिजबाट फवियन एलेन, रोनाल्ड क्याटो, जस्टिन ग्रेन्स्सहितका खेलाडी रहनेछन् ।
क्रिक्इन्फो डटकमले प्रतियोगिताका निम्ति प्रत्येक मार्की खेलाडीलाई एक लाख र अन्य खेलाडीलाई तीनदेखि ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको जनाएको छ। नेपाली लेग स्पिनर लामिछानेलाई मन्ट्रियल टाइगर्सले छैटौं चरणको अक्सन्मा ४० हजार अमेरिकी डलर तिर्ने गरी अनुबन्ध गरेको पहिल्यै सार्वजनिक भइसकेको छ। सन्दीपले यसपछि क्रिस् गेलको कप्तानीमा रहेर क्यारेवियन लिग पनि खेल्दैछन्।
आयोजकले ‘ग्लोवल टि २० क्यानाडा’ क्रिकेट प्रतियोगिताको मुख्य नारा ‘क्रिकेट कम्स् होम’ राखेका छन्। प्रतियोगिता निर्देशक जेसन हार्परका अनुसार, अमेरिकासँग क्यानाडा छुट्टिनुअघि सन् १८४४ मा न्युयोर्कस्थित सेन्ट जर्ज क्लवमा पहिलो अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिता भएको थियो। जसलाई उत्तर अमेरिकाको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता मानिँदै आएको छ ।
‘लामो समयको अन्तरालमा त्योभन्दा बृहत र संसारभर ख्याति कमाएका खेलाडी क्रिकेट खेलाडीको सहभागिता रहने भएकाले ग्लोबल टि २० क्यानाडालाई ‘क्रिकेट कम्स् होम’ नारा दिइएको हो’ हार्परले भनेका छन्, ‘खेलाडी सहभागिता र पुरस्कार राशीले यो प्रतियोगिता जति ठूलो छ, क्यानाडाको नयाँ पुस्तालाई क्रिकेटमा आकर्षित गराउन र क्रिकेटप्रेमी दर्शकलाई खेलको मनोरञ्जन दिलाउन उत्तिकै सफल हुने ठानिएको छ।’
स्कुल तहबाटै क्रिकेट खेल्नेक्रम सुरु भइसकेको उल्लेख गर्दै हार्परले क्यानाडामा अहिले १५ हजार हाराहारी खेलाडीको नाम क्रिकेटमा दर्ता भएको जनाएका छन् । भारतीय मूलका आप्रवासीको संख्या मात्रै क्यानाडामा १५ लाखभन्दा माथि छ। प्रतियोगिताको टुंगो लागेपछि र क्रिकेटको सर्वोच्च संस्था आइसीसीले ‘ग्लोबल टि २० क्यानाडा’लाई मान्यता दिएपछि क्यानाडका प्रधानमन्त्री जष्टिन ट्रुडोले समेत खुसी मानेका थिए।
‘ग्लोवल टि २० क्यानाडा’ प्रतियोगिताका चेयरम्यान गुरमित सिंहले भारतीय मूलका आप्रवासीको संख्या उल्लेख्य रहेको यो मुलुकमा ठाउ“मा हुन लागेको प्रतियोगिताले क्यानेडिन क्रिकेटको स्तर उकास्न सघाउने अपेक्षा गरेका छन्। पाकिस्तानी, श्रीलंकन, क्यारेवियन मुलुकका आप्रवासीको समेत उत्तिकै बसोबास रहेको क्यानाडामा उच्च सम्भावना भएर पनि क्रिकेटले अपेक्षित गति लिन नसकेको उल्लेख गर्दै उनले ‘यो कुम्भमेलाले क्रिकेट क्रेज थप बढाउने’ अपेक्षा गरेका छन्।
प्रतियोगिताको पहिलो खेल जुन २८ मा टोरन्टो नेशनल र भ्यान्कुभर नाइट्सवीच हुनेछ। मैदान सात हजार दर्शक क्षमताको छ । सप्ताहन्तका दिन दुई खेल हुनेछन्। सन्दीपको टिम मन्ट्रियल टाइगर्सले जुन २८ मा विनिपेग हक्स्सँग पहिलो खेल खेल्नेछ। राउण्ड रोविन, प्लेअफ र फाइनल गरी कूल २२ खेल हुनेछन्।
लगभग ४० हजार हाराहारीको संख्यामा रहेका नेपालीमध्ये क्रिकेट रुचाउने केही सन्दीपको खेलसमेत हेर्ने गरी ग्लोबल टि २० प्रतियोगिताको प्रतीक्षामा छन् ।