तपाईँको रूचि पढाईमा छ?
मानौं, छ। तर, अनेक कारणले कलेज जान सक्नुभएको छैन। या, विदेशमा काम गर्दै हुनुहुन्छ। वा, पारिवारिक अवस्थाले रोकिनुभएको छ। यस्तो अवस्थामा विदेशमा भए आफूलाई पायक पर्ने ठाउँ बसी बसी उच्च शिक्षा हासिल गर्न समस्या पर्दैन। अनलाइनमार्फत दिइने शिक्षाले विद्यार्थीको ज्ञानको भोक त मेटिन्छ नै, पढाउने शिक्षक प्राध्यापकले पनि स्कुल कलेज गइरहन पर्दैन।
घर घरमा इन्टरनेट र हात हातमा स्मार्ट फोन विस्तार भइरहेका बेला नयाँ पुस्ताका लागि नेपालमा अनलाइन शिक्षा नौलो नलाग्न सक्छ। तर, उच्च शिक्षा हासिल गर्नेक्रममा विद्यार्थीले आफूले चाहेको विषयमा रोजेको शिक्षक प्राध्यापकबाट ज्ञान लिन पाएका छन् त? नेपालमा कतिपय प्राविधिक विषयमा अनलाइन कक्षाको सुरुवात भए पनि विश्वविद्यालय तहमा यसको प्रयोग व्यापक भइसकेको छैन।
‘क्यानाडामा म कहिलेकाहिँ घरै बसी बसी अनलाइनबाट पढाइरहेको हुन्छु, त्यसैगरी विदेशबाट नेपालमा पढाउन किन नपढाउने?’
प्राध्यापक तुल्सी धरेलको प्रश्न हो यो। क्यानाडामा धेरैले चिन्ने नेपाली अगुवा मध्येका एक हुन् उनी। स्थानीय सेन्टेनियल कलेजका प्राध्यापक उनी शनिबार चाहिँ वाइक्लिफ कलेजमा धपेडीमाझ थिए। घरमै आराम गर्ने या घुमफिरमा निस्कने सप्ताहन्तको बिहानै नेपालीहरु भने यही कलेजमा भेला हुँदैथिए। उनीहरुलाई स्वागत गर्दै अतिथिको व्यवस्थापन गर्नेसम्मका काममा धरेल स्वयं सक्रिय थिए।
घडीमा ८ बज्दै गर्दा कलेजको सेराटन हल नेपालीले लगभग आधा भरिएको थियो। टोरन्टोमा हप्तैपिच्छे जस्तो नेपालीका केही न केही कार्यक्रम हुने गरे पनि यो भिन्न थियो। झण्डै आधा दर्जन संघ संस्थाको अगुवाईमा महिनौंको प्रयासपछि हुँदै गरेको कार्यक्रमको नाम थियो, ‘नेपालको उच्चशिक्षाबारे प्रवासको भूमिका।’ अन्तराष्ट्र्रिय सम्मेलनमा युरोप र अमेरिकाबाट समेत नेपाली विज्ञको सहभागिता थियो।
विद्यार्थीलाई अनलाइन शिक्षा दिने मात्र होइन, प्रतिस्पर्धी युग सुहाउँदो विषयमा कसरी गुणस्तरीय शिक्षा दिने भन्नेसम्मका सवालको जवाफ खोज्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो। नेपालमा खुला विश्वविद्यालय स्थापना भएको दुई बर्षपछि नेपालकै उच्च शिक्षाबारे चिन्तित हुँदै टोरन्टोमा आयोजना गरिएको यो सम्मेलनलाई ‘प्रवासकै पहिलो र ठूलो’ दावी गरिएको छ।
सम्मेलनमा क्यानाडा र अमेरिकाका स्कुल, कलेज र विश्वविद्यालयमा कार्यरत एक दर्जनभन्दा धेरै प्राज्ञिक नेपालीले प्रवासमा आर्जन गरेको ज्ञान र अनुभव साट्दै नेपालको उच्च शिक्षामा कस्तो योगदान पुऱ्याउन सकिन्छ भन्ने कार्यपत्र प्रस्तुत गरेका छन्। सम्मेलन सफल पार्न अहोरात्र खटिएका प्राध्यापक धरेलका अनुसार ती कार्यपत्र पछि जर्नलमा प्रकाशित हुनेछन्।
क्यानाडा बस्ने नेपालीकै परिकल्पनामा स्थापना भएको खुला विश्वविद्यालयले मात्र उच्च शिक्षाको जग दह्रो पार्न नसक्ने र प्रवासमा बस्ने नेपालीले आ–आफ्नो ठाउँबाट नेपाली शैक्षिक क्षेत्रलाई सघाउनुपर्ने निक्र्यौल गर्दै सम्मेलन आयोजना गरिएको धरेलले जनाए। ‘प्रवासमा हामीले आर्जन गरेको शैक्षिक ज्ञान आफ्नो देशमा फैलाउने उद्देश्य हो’ धरेल भन्छन्, ‘क्यानाडाबाट थालनी हुँदैछ, यसलाई सबैतिरबाट सघाउनुपर्छ।’
नेपाल खुला विश्वविद्यालय स्थापनामा सुरुदेखि मरिमेटेका प्राध्यापक प्रमोद ढकालले सम्मेलनमा प्रस्तुत विज्ञका सुझावलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिए उच्च शिक्षाको विकासमा सहयोग मिल्ने बताए। ‘पहिले त जग नै बलियो हुनुपर्छ, नेपालमा शिक्षाको त्यो जग बलियो भइसकेको छैन’ उनले भने, ‘हामीले दिएका राय सुझाव सुनेर त्यसैअनुरुप नेपाली उच्च शिक्षा विकास होस् भन्ने प्रवासी नेपालीको चाहना हो।’
क्यानाडाको सस्काच्युन युनिभर्सिटीमा कार्यरत प्राध्यापक ढकाल नेपालको परम्परागत शैक्षिक नीतिप्रति रुष्ट देखिए। विश्वविद्यालयजस्ता प्राज्ञिक निकायहरुमा सत्ता र शक्तिनिकट व्यक्तिको बोलवाला भएसम्म नेपाली उच्च शिक्षाको विकास नहुने उनको जिकिर छ। क्षमतायोग्य र दूरदर्शी व्यक्तिलाई शिक्षाको बागडोर सम्हाल्न दिइनुपर्ने सुझाव दिँदै उनले भने, ‘नेपालले शिक्षाको कमण्डलु दह्रो गरी थाप्नुपऱ्यो, हामी त्यो भरिदिन तत्पर छौं।’
क्यानाडाकै रेजाइना युनिभर्सिटीमा प्राध्यापनरत द्रोण रसाइलीले संसारका थुपै्र ख्यातिप्राप्त विश्वविद्यालयका जिम्मेवार तहमा नेपाली कार्यरत रहेको उल्लेख गर्दै सरकारले उनीहरुमार्फत नेपाली उच्चशिक्षाको विकासमा फड्को मार्नसक्ने बताए। ‘आफ्नो देशको शैक्षिक विकासमा केही गरौं भन्ने हुटहुटी बोकेका प्राज्ञिक नेपाली प्रवासभर छन्’ रसाइलीको सुझाव छ, ‘नेपाल कसरकारले त्यसका निम्ति वातावरण मिलाइदिनुपर्छ।’
अमेरिकाको एरिजोना स्टेट युनिभर्सिटीमा प्राध्यापनरत अम्बिकाप्रसाद अधिकारीले नेपालमा खुला विश्वविद्यालयसहित ११ वटा विश्वविद्यालय स्थापना भइसक्दा पनि युग सुहाउँदो र प्रतिस्पर्धी उच्च शिक्षाको विकास नभएको उल्लेख गर्दै त्यसको सुधारका निम्ति प्रवासका नेपाली तत्पर रहेको बताए। ‘हामीले लामो समय विदेशमा हासिल गरेको शैक्षिक ज्ञान नेपालमा बाँड्न चाहन्छौं’ अधिकारीले भने, ‘त्यसैको आधार तयार गर्न यो सम्मेलन सहयोगी हुनेछ।’
यस्तै, अमेरिकाकै क्यालिफोर्निया स्टेट युनिभर्सिटीका एसोसिएट भाइस प्रेसिडेन्ट तथा डिन जीत जोशीले नेपाली उच्च शिक्षाको गुरुयोजनाबारे कार्यपत्र प्रस्तुत गर्दै प्रदेशस्तरीय विश्वविद्यालय स्थापना गर्नुपर्ने बताए। ‘देशलाई जस्तो खालको जनशक्ति आवश्यक परेको हो, त्यस्तो जनशक्ति उत्पादन हुने खालका विश्वविद्यालय स्थापना गर्नुपर्छ’ जोशीको सुझाव छ, ‘विश्वविद्यालयहरुको रुपान्तरण गरेर विद्यार्थीलाई उच्च शिक्षा दिनु आजको आवश्यकता हो, ताकि कसैले पनि डिग्री लिएर बेरोजगार बस्नु नपरोस्।’
ग्लोबल पोलिसी फोरम युके, द एसोसिएसन अफ नेप्लिज् इन द अमेरिकाज्, क्यानडा फाउन्डेसन फर नेपालसँग मिलेर नेपाली राजदूतावास र एनआरएनए क्यानाडाले यो शैक्षिक सम्मेलन गरेका हुन्। सम्मेलन उद्घाटनक्रममा क्यानाडाका लागि नेपाली राजदूत कालीप्रसाद पोखरेलले नेपाली उच्चशिक्षाको विकासमा प्रवासबाट यसरी चासो र चिन्ता व्यक्त गरिनु खुसीलाग्दो उल्लेख गर्दै नेपालका सरोकारवाला निकायमा समन्वय गरिने बताए।
सम्मेलनको सुरुमा दिनेश गजुरेलले अध्यक्षता गरेको सत्रमा नेपालको उच्च शिक्षाबारे जीत जोशी, आलोक बोहोरा, सन्जय नेपाल, चेतनाथ पोखरेल र भानुभक्त आचार्यले कार्यपत्र प्रस्तुत गरे। नवराज गुरुङले अध्यक्षता गरेको दोस्रो सत्रमा उच्च शिक्षामा कृषि, वातावरण र प्राकृतिक स्रोतको महत्वबारे बारे दुर्गा पौडेल, रुद्र अर्याल, दिनेश गजुरेल र बाशु शर्माले कार्यपत्रमार्फत आफ्नो ज्ञान र अनुभव सुनाए।
जनस्वास्थ्य र औषधि विषयले उच्च शिक्षामा बोकेको महत्वबारे नारायण धरेल, सन्तोष सापकोटा, नरहरी तिम्सिना र श्याम थापाले कार्यपत्र प्रस्तुत गरे। नीति नियम र राजनीतिले उच्च शिक्षामा पार्ने प्रभावबारे लक्ष्मी पन्त, रमेश कार्की, लोक भट्टराई, कुल काप्री र श्याम शर्माले बौद्धिक विमर्श गरे।
यस्तै, उच्च शिक्षाको विकल्पका रुपमा अघि सारिएका केही मोडलबारे सारा क्षेत्रीले अध्यक्षता गरेको सत्रमा कृष्ण विष्ट, उत्तम गौली, गोकुल भण्डारी, विष्णु आचार्य, जेफ्री ओब्रल, मोहन थापा र दीपक बस्यालले कार्यपत्र प्रस्तुत गरे।
त्यसपछि, प्राध्यापक अम्बिकाप्रसाद अधिकारी मध्यस्थकर्ता रहेको सत्रमा जीत जोशी, द्रोण रसाइली, प्रमोद ढकालसँगै न्यु ब्रुन्सविक युनिभर्सिटीका प्राध्यापक बाशु शर्मा, युनिभर्सिटी अफ कनेक्टिकट अमेरिकाका प्राध्यापक विद्या रन्जित र क्यानाडाकी हेल्थकेयर कन्सलट्न्यान्ट डा. सारा क्षेत्रीवीच नेपाली विश्वविद्यालयले गर्ने खोज अनुसन्धानमा प्रवासबाट कसरी सघाउनेबारे छलफल भयो।